+
+

अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु, ७० घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते ७:४१

३० असोज, काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।

शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।

कान्दहारमा भएको यो आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।

कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो । यो शहरलाई तालिबानको आध्यात्मिक उदगमस्थल पनि मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?