+
+

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

रासस रासस
२०७८ कात्तिक १ गते १८:१७

१ कार्तिक, काठमाडौं। काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ ।

विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो ।

बगैँचा बनाउन काठमाडौँ महानगरपालिकाले रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । मन्दिर परिसरमा आकर्षक बगैँचा निर्माणसँगै रेलिङ, बार पनि परिवर्तन गरिने छ ।

बगैँचाको काम सुरु गर्न गत आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेकामा त्यसबाट काम हुन नसकेको उनले सुनाए । विसं २०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो । त्यसबेला जनअपेक्षा अनुरुप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी छ । बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

बगैँचाको डिजाइन बनाउने काम सम्पन्न गरी पूर्वाधार विभागले ठेक्का निकालेको छ । महानगरपालिका–९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ । वडा नं ९ को जग्गा खाली छ । वडा नं २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए ।

वडा नं ९ खाली जग्गामा पनि मोहीकाबीचमा मुद्दा चलिरहेको छ । मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया सुरु गरेको हो । अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ । मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण सम्पन्न गरेको छ ।

पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ । मन्दिर परिसरमा रहेको मयुरकुण्ड पनि संरक्षण गर्न लागिएको वडाध्यक्ष कार्कीले बताए । मयुर कुण्डभित्र रहेको नाग र नागिनीको मूर्ति पनि भक्तजनले दर्शन एवं पूजा आराधना गर्नसक्ने गरी व्यवस्थापनको तयारी भएको छ ।

गोरखास्थित मनकामना माइको दर्शन गरेर फर्कने भक्तजनले मयुरकुण्डको जल मैतीदेवीलाई चढाएपछि मात्र फल मिल्ने किम्बदन्ती प्रचलनमा छ ।

मैतीदेवी क्षेत्रमा सहरीकरण हुनुअघि राजकुलो यहाँबाट पुतलीबजार पुगेको थियो । राजकुलाको यो जग्गा मैतीदेवी प्रहरी बिटबाट नै मिचिएको छ । यस क्षेत्रका नौ दशवटा सटरको आधा भागमा सार्वजनिक जग्गा पर्ने वडा कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?