+
+

नेपालबाट बिहारलाई पैंचोको बिजुली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते २०:१०

१ कार्तिक, काठमाडौं । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको बिहार प्रान्तले पैंँचोमा लिन थालेको छ । बिहारले हिउँदमा फिर्ता गर्ने गरी आफूलाई आवश्यक परेका बेला विभिन्न प्रसरणलाइनमार्फत बिजुली लैजान थालेको हो ।

तर, यो व्यवस्थापछि पनि बढी भएर खेर गइरहेको सबैै बिजुली भारतीय बजारमा पुग्ने अवस्था बनेको छैन । कटैया, रक्सौल र रामनगरबाट बिहार प्रान्तले आफ्नो आवश्यक्ताअनुसार बिजुली लिन थालेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

कटैयाबाट अधिकतम् १४० मेगावाट, रक्सौलबाट ८० र रामगरबाट ७० मेगावाटसम्म बिजुली बिहारले लगिरहेको छ । अहिले कोइला अभावले विद्युत प्लान्ट बन्द भएपछि भारतमा ऊर्जाको चरम संकट छ । यसैकारण बिहारले अल्पकालीन सहमतिअनुसार नेपालमा बढी भएको बिजुली फिर्ता गर्ने शर्तमा लगेको हो ।

सहमतिअनुसार भारतले नेपालबाट जति मेगावाट बिजुली लैजानेछ, त्यसको ९५ प्रतिशत बिजुली हिउँदमा फिर्ता पनि गर्नेछ । नेपालमा वर्षामा खपत नभएर बिजुली बढी भएपनि हिउँदमा विद्युत भारतबाट आधाजसो आयात गर्नुपर्ने अवस्था कायम छ । नेपालमा हिउँदयाममा नदीमा पानीको सहत घट्ने भएकाले गत वर्ष ५० प्रतिशतभन्दा बढी बिजुली भारतबाट आयात गर्नुपरेको थियो ।

केही हप्ताअघि भारत भ्रमणमा गएको प्राधिकरणको टोलीले बिहार सरकारसँग वर्षायामको बिजुली किन्न प्रस्ताव गरेको थियो । बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेड र नेपालसँग विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनीसँग कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले छलफल गरेको थियो । त्यसबारे औपचारिक जवाफ पठाउँदै बिहारले वर्षायामको रातमा नेपालबाट बिजुली लैजाने र हिउँदमा विहानदेखि बेलुकासम्म बिजुली दिने गरी प्रस्ताव गरेको थियो ।

अझै खेर जाँदै बिजुली

बिहारले थोरै बिजुली लगिरहेपनि नेपालमा अझैपनि उत्पादित बिजुली खेर जान भने रोकिएको छैन । प्राधिकरणका अनुसार अहिले खपत हुन नसकेर दिउँसो पनि बिजुली खेर गइरहेको छ ।

बिजुली खेर फाल्न निजी र आफ्नै सहायक कम्पनीहरुका आयोजना बन्द गराउँदा हर्जना तिर्नुपर्ने भएकाले प्राधिकरणले आˆनै आयोजना बन्द गर्ने गरेको छ । अब वर्षे भेल रोकिएर खोला-नदी सामान्य भएपछि केही समय त आधा बिजुली फाल्ने अवस्था आउँछ ।

निजी प्रवर्द्धकहरुको बिजुली प्राधिकरणले आफ्नो कारणले नलिए क्षतिपूर्ति तिर्ने गरी विद्युत खरिद सम्झौता गरेको हुन्छ । त्यसले प्राधिकरणलाई करोडौंको वित्तीय क्षति मात्रै भएको छैन, सम्भावित लाभ पनि गुम्दैछ ।

नेपालको बिजुली किन्ने निर्णय पनि नलिएको भारतले नेपालको बिजुलीलाई आफ्नो ऊर्जा बजारमा प्रवेश दिन ढिलाइ गरेपछि त्यसको मार र भार नेपाल विद्युत प्राधिकरणले भोग्नुपर्ने अवस्था छ ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिजुली बिक्री गर्न अनुमति मागेको ६ महिनाभन्दा बढी भइसकेको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत वर्षायाममा भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गर्ने प्रस्ताव गरेको छ ।

आˆनो ‘डे-अहेड’ र ‘टर्म-अहेड’ मार्केटमा प्रवेश दिने गरी प्रक्रिया तय गरेर ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गरेको भारतले अनुमति दिन भने आनाकानी गर्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणलाई भारतले आˆनो एक्सचेन्ज बजारबाट बिजुली विद्युत खरिद र आयात गर्ने अनुमति गत वैशाख १ गते दिएको थियो । त्यसअनुसार प्राधिकरणले आवश्यक परेको बेला प्रतिस्पर्धी दरमा बिजुली किन्न थालिसक्दा सोही बजारमा लगेर नेपालको बिजुली बेच्न भने भारतले अनुमति दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?