
२ कात्तिक, काठमाडौं । कोरोनाविरुद्धको खोप प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखिएको विषयमा परेको मुद्दाबारे आगामी साता केरला हाइकोर्टमा सुनुवाइ हुँदैछ ।
पीटर नामका एक व्यक्तिले खोप प्रमाणपत्रमा मोदीको तस्वीर राखिएकोमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । मोदीको तस्वीर नभएको खोप प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै उनले नेका छन्–मोदीको तस्वीर अंकित खोप प्रमाणपत्रले आफ्नो मौलिक अधिकारको हनन् भयो ।
मोदीविरुद्ध रिद दायर गर्ने ६२ वर्षीय पिटर भारतीय विपक्षी दल कांग्रेसका कार्यकर्ता हुन् । ‘मेरो खोप प्रमाणपत्रमा आफ्नो फोटो राखेर मोदीले नागरिकको निजी मामिलामा चोट पु¥याएका छन् । यो कार्य असंवैधानिक हो,’ कोट्टायमका उनले बीबीसीसँग भने, ‘म अनुरोध गर्न चाहन्छु, प्रधानमन्त्री मोदीले यस्तो लाजमर्दो हर्कत तत्काल बन्द गर्नुपर्छ ।’
‘लोकतन्त्रमा यस्तो कार्य एकदमै अनुचित छ । राष्ट्र अर्थात व्यक्तिका लागि यस्तो प्रयोगको कुनै अर्थ छैन ।’
गत अगस्टमा संसदमा बोल्दै स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारले ‘ठूलो सार्वजनिक हित’का लागि प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्वीर राखिएको बताएकी थिइन् । खोप लगाएपछि पनि कोरोनाबाट बच्नका लागि आवश्यक पर्ने मापदण्ड पालनामा प्रेरित गर्न प्रमाणपत्रमा मोदीको तस्वीर राखिएको उनको तर्क थियो ।
पिटर प्रश्न गर्छन्–मेरो खोप प्रमाणपत्रमा मोदीको तस्वीर किन चाहियो ?
तर पिटरको तर्क छ, खोप लगाइसकेका व्यक्ति कोरोनाबाट बच्ने मापदण्ड पालनामा गर्ने व्यवहारबारे जानकार छन् । प्रमाणपत्रमा लेखिएको सन्देश उपदेश दिने बाहेक अरु खास केही छैन ।
पिटर भन्छन्, ‘मोदी न त हाम्रो पहिलो प्रधानमन्त्री हुन् न त खोप कार्यक्रम भारतमा पहिलो हो । तर कोभिड–१९ खोप अभियानलाई यस्तो देखाउन खोजिएको छ कि यो एक व्यक्तिको कार्यक्रम हो । जुन कार्यक्रम प्रधानमन्त्रीको प्रपोगाण्डा टुल हो ।’
सरकारी अस्पतालमा निःशुल्क खोप लगाउन मानिसको लामो लाइन लाग्ने गरेका कारण आफूले निजी अस्पतालबाट खोप लगाएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैलै प्रति डोजको ७५० रुपैयाँ तिरेको छु । त्यसैले मेरो प्रमाणपत्रमा मोदीको तस्वीर किन ?’
केरला हाइकोर्टले केन्द्र र राज्य सरकारलाई यसबारे जवाफ दिनका लागि दुई हप्ताको समय दिएको छ । पिटरको रिटबारे भारतीय जनता पार्टीका दुई प्रवक्तासँग प्रतिक्रिया लिन खोजेपनि कुनै पनि प्रतिक्रिया दिन नमानेको बीबीसीले उल्लेख गरेको छ ।
अरुले पनि गरेका छन् विरोध
खोप प्रमाणपत्रमा प्रधानमन्त्री मोदीको तस्वीर राखिएकोमा केही राजनीतिक दलले विरोध गरेका छन् ।
विपक्षी दलले नेतृत्व गरेका केही राज्यहरुमा मोदीको फोटो हटाएर आफ्नो मुख्यमन्त्रीको तस्वीर प्रमाणपत्रमा राखेका छन् । कांग्रेस नेतृ प्रियंका गान्धी वाड्राले खोप प्रमाणपत्रमा आफ्नो तस्वीर राखेर मोदीले व्यक्तिगत प्रचार गरेको आरोप लगाएकी छन् ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले नागरिकको मृत्यु प्रमाणपत्रमा पनि मोदीले आफ्नो तस्वीर राख्न आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘कोभिड प्रमाणपत्रमा मोदीले आफ्नो तस्वीर अनिवार्य गरेका छन् । अब मृत्यु प्रमाणपत्रमा पनि यस्तै गरे हुन्छ ।’
उनले एक पत्रकार सम्मेलनमा प्रश्न गरेकी छन्, ‘मानौं म तपाईंको समर्थक होइन, मलाई तपाईं मन पर्दैन । तर पनि मैले यो राख्नु उचित हुन्छ ? नागरिकको स्वतन्त्रता कहाँ छ ?’
खोप प्रमाणपत्रमा अंकित यही तस्वीरका कारण वैदेशिक यात्रा गरिरहेका केही भारतीय यात्रुहरुलाई समस्या पनि भएको थियो । भाइस न्यूजको एक रिपोर्ट अनुसार प्रमाणपत्रमा अंकित मोदीको तस्वीरका कारण एक इमिग्रेसन अधिकारीले केही यात्रुलाई जालसाजीको आरोप लगाएका थिए ।
पिटर चिन्ता व्यक्त गर्छन्, ‘मोदीको मनोमानीलाई यसैगरी छाड्ने हो भने आगामी दिनमा हाम्रो छोराछोरीको स्कुल र कलेजको लिभिङ प्रमाणपत्रमा मोदीले आफ्नो तस्वीर राख्नेछन् ।’
तस्वीर राख्नु उचित : समर्थक
हालै सुप्रिम कोर्टले आपत्ति जनाएपछि कोर्टको एक आधिकारिक इमेलमार्फत मोदीको तस्वीर अंकित सरकारी विज्ञापन हटाउने भनेको छ । तर प्रधानमन्त्री मोदीका समर्थकले खोप प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्वीर राख्नु कुनै गलत नभएको बताएका छन् ।
देशमा सर्वाधिक लोकप्रिय अनुहारलाई प्रमाणपत्रमा राख्ने उचित नभएको समर्थकहरुको तर्क छ । सडकका हरेक गल्लीमा राखिएको होडिङ बोर्डमा मोदी मुस्कुराइरहेको तस्वीर देख्न सकिन्छ । हरेक मन्त्रालयको विज्ञापनमा र वेबसाइटमा पनि उनको तस्वीर छ । पत्रपत्रिकामा छापिने मन्त्रालयको विज्ञापनमा पनि मोदीको तस्वीर देख्न सकिन्छ ।
महिमा मण्डनको राजनीति
मोदी जस्तो आफ्नो प्रशंसा आफैं गर्ने नेता अहिलेसम्म भारतमा नरहेको भन्दै आलोचकहरुले उनको आलोचना गरेका छन् ।
बीजेपीले गान्धी–नेहरु खानदानको नामबाट एयरपोर्ट, विश्वविद्यालय, पुरस्कार तथा कल्याणकारी आयोजनाको नामाकरण गरेको भन्दै कांग्रेस पार्टीको आलोचना गर्दै आइरहेको छ ।
उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले आफ्नो मूर्ति बनाएकोमा उनको ठूलो आलोचना भएको थियो । तामिलनाडुकी पूर्वमुख्यमन्त्री जे जयललिताले खानाको सस्तो क्यान्टिन, औषधि एवं नुनको प्याकेटमा आफ्नो तस्वीर प्रयोग गरेका थिए ।
मोदीको जीवनी लेख्ने पत्रकार नीलाजन मुखोपाध्याय भन्छन्, ‘प्रधानमन्त्री मोदीको आत्म प्रशंसा गर्ने यो परिपाटीले बेग्लै स्तरमा पु¥याएको छ ।’ प्रधानमन्त्री मोदीले महामारीको समयमा आफ्नो प्रचार गर्ने एक ठूलो अवसरको रुपमा प्रयोग गरेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘कोरोनाको सुरक्षाका लागि एक मात्र उपाय भनेको खोप हो । मोदीले खोप प्रमाणपत्रमा आफ्नो फोटो राखेर आफू नै कोरोनाको रक्षक भएको देखाउन चाहन्छन् ।’
मुखोपाध्याय अगाडि थप्छन्, ‘भगवानको मानवीय रुपमा आफू स्वयंलाई देखाएर नागरिकको भरोसा हासिल गर्न चाहन्छन् र आफ्नो लागि भोटको रुपमा रुपान्तरण गर्न चाहन्छन् ।’
के यस्तो प्रचारले मतदातालाई प्रभावित पार्न सक्छ ?
इमेज गुरु दीलित चेरियनका अनुसार प्रधानमन्त्री मोदीले खोप प्रमाणपत्रमा आफ्नो तस्वीर राखेर आफूलाई राम्रो देखाउन खोजेका हुन् । र, खोप कार्डलाई भोट हासिल गर्ने हतियारका रुपमा प्रयोग गर्न चाहन्छन् ।
उनी अगाडि भन्छन्, ‘यो चुनावी फाइदाका लागि हुनसक्छ । यसैगरी अन्य साधनले पनि काम गरिरहेको छ, जसरी खोप प्रमाणपत्रबाहेक अन्य सरकारी योजनाको दस्तावेज लगायत सबैले एउटै सन्देश दिइरहेको छ ।’
पछिल्लो समय पार्टीको पहिचान पनि व्यक्तिसँग जोडिएकोले ‘तस्वीरको पहिचान’ले ठूलो भूमिका खेल्ने उनी बताउँछन् ।
बीबीसीबाट
प्रतिक्रिया 4