
३ कात्तिक, काठमाडौं । तालिबानले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा गरेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको कार्यबाहक गृहमन्त्री बनेका सिराजुद्दीन हक्कानीले नेटो र अफगानी फौजविरुद्धको लडाइँमा मृत्युवरण गरेका आत्मघाती बम हमलाकारीको प्रशंसा गरेका हुन् ।
हक्कानीले काबुलस्थित एक होटलमा युद्धका क्रममा मारिएका आत्मघाती हमलाकारीका परिवारलाई भेटेर प्रशंसा गरेको गृहमन्त्रालयले ट्विटरमार्फत् जानकारी गराएको हो ।
गृहमन्त्रीले आफ्नो सम्बोधनमा जिहाद, शहीद तथा मुजाहिद्दीनको बलिदानको तारिफ गर्दै उनीहरु इस्लाम र देशका नायक भएको बताएका थिए ।
त्यस्तै, गृहमन्त्री हक्कानीले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुका परिवारलाई सहयोग स्वरुप एक सय ११ डलरसहित लत्ताकपडा प्रदान गरेका थिए । सम्बन्धित परिवारलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको समेत मन्त्रालयका प्रवक्ता कारी सहीद खोस्टीले बताए ।
अमेरिकाले तालिबानको पुनरागमसँगै गृहमन्त्री बनेका हक्कानीलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राख्दै उनको टाउकोको मूल्य १ करोड अमेरिकी डलर तोकेको थियो ।
यसबाहेक, सन् २००८ मा काबुलस्थित एक होटलमा भएको हमलामा हात रहेको भन्दै अमेरिकाको संघीय जाँच ब्यूरोले हक्कानीलाई फरार अभियुक्तको सूचीमा राखेको छ । उनी तालिबानसँग आबद्ध हक्कानी नेटवर्कका नेता हुन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4