+
+
तरलता समस्या :

‘फाइनान्स कम्पनीहरु ‘कम्फरटेबल जोन’ मै छन्’

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक ३ गते १७:४८

३ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा यतिबेला लगानी योग्य रकम (तरलता)को अभाव छ । रकम अभाव भएपछि बैंकहरुले निक्षेपकर्ताहरुलाई आकर्षण गर्न आकर्षक ब्याजदरहरु सार्वजनिक गरे । बैंकहरु निकै एग्रेसिभ भएर निक्षेपको ब्इाजदर बढाएपछि त्यसको चौतर्फी आलोचना भयो ।

फलस्वरुप राष्ट्र बैंकले बैंकहरुको निर्णयमा हस्तक्षेप गरी ब्याजदर घटाउन निर्देशन दियो । ब्याजदर घटाउन निर्देशनमात्रै दिएन अब बैंकहरुले एक पटकममा अघिल्लो ब्याजदरको भन्दा १० प्रतिशत भन्दा बढी घटाउन वा बढाउन समेत नपाउने नियम बनाइदिएको छ । राष्ट्र बैंकले बढेको ब्याजदर घटाउन निर्देशन दिए पनि तत्कालै तरलताको समस्या समाधान हुने छाट छैन ।

बैंकहरुमा तरलताको जति समस्या देखिइरहेको छ ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमा भने यति धेरै नरहेको प्रोगेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल हुमागाईं बताउँछन् । उनले आफूहरु कम्फरटेबल जोनमा नै रहेको बताए । प्रस्तुत छ, तरलता समस्या र फाइनान्स कम्पनीहरुको अवस्थाबारे सीईओ हुमागाईंसँग अनलाइखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

फाइनान्स कम्पनीमा तरलताको चाप कत्तिको छ ?

ठ्याक्कै तरलताको अभाव नै छ भन्न मिल्दैन । केही केही कम्पनीहरुलाई लगानी गर्ने रकम अभाव छ, कुनै कम्पनीहरु त एकदमै कम्फरटेबल जोनमा पनि छन् । सीडी रेसियो ६५ देखि ७० प्रतिशतमात्रै भएका संस्थाहरु पनि छन् । वाणिज्य बैंकहरुमा भने अलि समस्या नै देखिन्छ । सीडी रेसियो नै बैंकहरुको ९० प्रतिशत नाघेको अवस्था छ । राष्ट्र बैंकबाट सापटी लिइरहेको देखिन्छ । तर फाइनान्स कम्प्नीहरुले अहिलेसम्म राष्ट्र बैंकबाट सापटी लिइसकेका छैनन् । वाणिज्य बैंकहरु भन्दा फाइनान्स कम्पनीहरु कम्फरटेवल जोनमै छन् ।

वाणिज्य बैंकहरुले निक्षेप नै तान्न सकेका छैनन् जसको असर निकै नराम्रो देखिएको छ । फाइनान्स कम्पनीहरुले कसरी व्यवस्थापन गरे ?

वाणिज्य बैंकहरुमा पनि समस्या देखिएको लामो समय भएको छैन । केही महिना अघिसम्म बैंकहरुलाई तरलता समस्या थिएन् । अहिले जुन समस्या देखिएको छ, त्यसको कारण भनेको एग्रसिभ लगानी नै हो भन्ने लाग्छ । कोरोनाकालमा बैंकहरुलाई धेरै सहज थियो । केही महिनासम्म पर्याप्त तरलता भएका बैंकहरुमा अहिले समस्या छ । आगामी दिनमा हुनसक्ने संकटबारे अलि ध्यान नदिएर हो वा अन्य कारणले हो वाणिज्य बैंकहरुमा अहिले समस्या देखियो । फाइनान्स कम्पनीहरु भन्दा त वाणिज्य बैंकहरुमा रिसर्च टिम हुन्छ । धेरै अध्ययनहरु भइराखेका हुन्छन् । एग्रसिभ लगानी गर्नुभयो, अनि हाम्रो ऋण पनि लैजानु भयो । हाम्रो लोन सरेका कारण हामीसँग पैसा भयो । यसकारण पनि हामी कम्फरटेबल भयौं ।

अर्को कारण भनेको ब्याजदर हो । ब्याजदर कमर्सीयल बैंकको भन्दा फाइनान्स कम्पनीको राम्रै छ । साथै फाइनान्स कम्पनीप्रतिको निक्षेपकर्ताको विस्वास पनि महत्वपूर्ण हो । अघिल्लो महिना ब्याजदर हेर्ने हो भने कुनै एक वाणिज्य बैंकले १० प्रतिशत ब्याजदर दिने उल्ले गर्यो । फाइनान्स कम्पनीको हेर्नुहुन्छ भने ९ प्रतिशत भन्दा तल थियो । आजको अवस्थामा पनि कतिपय फाइनान्स कम्पनीहरुलगानी गर्न सक्ने हैसियतमा छन्, जहाँ कमर्सीयल बैंकहरु छैनन् । ग्राहकहरुले पनि फाइनान्स कम्पनीहरुलाई विस्वास गर्न थाले । यो हाम्रो ठूलो उपलब्धी पनि हो ।

कमर्सीयल बैंकहरुले ऋण त लगे, निक्षेप पनि त लगे होलान् नि ?

ब्याजदरको कारणले फण्ड स्वाप गर्नु स्वभाविक हो । ग्राहकहरुले सस्तो ब्याजदरमा ऋण पाउने भए पछि जता जानु स्वभाविक नै हो । छोटो समयका लागि निक्षेपको ब्याजदर बढ्दाखेरी त्यहीँ भएको बचतको रकम मुद्दति निक्षेपमा कन्भर्ट हुन्छ । अहिले खाता खोल्न प्रक्रियागत लामो हुन्छ । त्यहीँ भित्र भएको बचत खाता, चालु खाता मुद्दति निक्षेपमा कन्भर्ट भइदिन्छ । अहिले धेरै रकम बैंकहरुमा गएको देखिन्छ । अहिले हाम्रै कम्पनीको कुरा गर्ने हो भने हामीलाई ५ प्रतिशत असर गरेको छ । धेरै ठूलो असर परेन ।

फाइनान्स कम्पनीहरुको ब्याजदर अझ बढ्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

सम्भावना छैन भन्न मिल्दैन । मुख्य कुरा श्रोत हो । सामान्य तरिकारले हेर्दा निक्षेपको ब्याजदर अझै बढ्छ कि जस्तो देखिन्छ । कमर्सीयल बैंकहरुमा अघिल्लो महिनाको कुरा गर्दा सनराइज बैंकले १० प्रतिशतभन्दा माथि ब्याजदर दिने घोषणा गर्यो तर स्टाण्डर्ड चार्टड बैंकको भने ७ प्रतिशत हाराहारी दिन्छु भन्यो । यसको मतलव कुन बैंक कति कम्फरटेबल अवस्थामा छन् त्यहीँ अनुसार हुन्छ । स्टाण्डर्ड चार्टर्ड बैंक अझै कम्फरटेबल छ भने बढ्दैन, घट्छ । हाम्रो कुरा गर्दा पनि यही बिजनेसलाई लिएर जाने हो भने यही दरमा काम गर्न सकिन्छ । ग्रोथ गर्ने हो भने त हामीलाई पनि ब्इाज बढाउनु पर्ने हुन्छ । हामीलाई श्रोत चाहिन्छ । बाहिरको पैसा ल्याउनु पर्यो । यसका लागि ब्याज बढाउनै पर्छ । यसकारणले गर्दा ब्याजदर बढाउनु पर्ने हुनसक्छ । सबैलाई ग्रोथ चाहिएको छ । ब्याजदर त बढ्छ तर कति बढ्छ भन्ने कुरा चाहिँ आवश्यकताका आधारमा हुनेछ ।

फाइनान्स कम्पनीहरुको अस्तित्वकै विषयमा पनि बेलाबेलामा छलफल भइरहन्छ । पुँजीवृद्धिको नीति आउनु अघि ६ दर्जन बढी रहेका फाइनान्स कम्पनीहरु अहिले डेढ दर्जनमा झरेका छन् । अझै घट्ने क्रममा पनि छन्, फाइनान्स कम्पनीहरुको अस्तित्व नै संकटमा परेको जस्तो लाग्दैन ?

कुनै ‘रेश’ जित्नलाई पहिले २ पाइला पछि सर्नु पर्ने हुन्छ । त्यसरी बुझ्दा पनि त होला नि । फाइनान्स कम्पनीहरु अहिले पछि हटे जस्तो देखिएका हुन् । पछि हटेको रेश जित्नका लागि हो । अब जुन तपाईले अस्तित्वको कुरा गर्नु भएको छ, हाम्रो अस्तित्व नै मेटाउनका लागि राज्यले फाइनान्स नै चाहिदैन भन्ने नीति लिनु पर्यो नत्र हुँदैन । हुन पनि तपाईले भने जस्तै फाइनान्स कम्पनीहरुको संख्या मर्जर तथा एक्विजिशशनले धेरै नै घटेको छ । अझै घट्दैछन् पनि । राम्रो कम्पनी मानिएको युनाइनेट पनि नबिल बैंकसँग एक्विजिशनमा जादैछ । यो कारणले पनि अस्तित्वको कुरा उठ्न् स्वभाविक छ ।

फाइनान्स कम्पनीहरु किन घटे त ? पहिलो कुरा राष्ट्र बैंकको मर्जरको नीतिले कमर्सीयल बैंकलाई खासै असर गरेन तर विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ठूलो असर पर्‍यो । यो असर पनि क्षेत्रीय स्तरकालाई परेको हो । थोरै पुँजी भएका क्षेत्रीय स्तरका संस्थाहरुलाई ४० औं गुणासम्म पुँजी वृद्धि गर्नुपर्ने बाध्यता आइलाग्यो । सिमित क्षेत्रमा कारोबार गर्ने संस्थाहरुलाई त्यतिधेरै पुँजी बढाउन निकै गाह्रो थियो । अब आफैं पुँजी पुर्याउन नसक्ने भएपछि मर्जरमा जानै पर्ने बाध्यता आइलाग्यो । राष्ट्र बैंकको पुँजी वृद्धिको नीति पछि क्षेत्रीय स्तर संस्थाहरु धेरै बढे । यो नीतिले व्यवसाय बढ्न नसक्ने अवस्था आयो । व्यवसाय नबढेपछि रिटर्न अन अर्निङको कुरा छ, त्यो नआउने भयो । शेयरधनीहरुले राम्रो लाभांश नपाउने भए । अनि सञ्चालक समितिलाई बेकारको बोझ बोकेर बस्ने भन्दा पनि बुझाई दिउँ भन्ने भावना आएको हुनसक्छ । सञ्चालक समितिमा प्रतिनिधित्व कसरी गर्ने भन्ने विषयमा पनि समस्या हुने रहेछ । एकै प्रकारका संस्थाहरु मर्जर गरेर बलियो बनाउन चाहँदा अब सञ्चालकमा कोको बस्ने त भन्ने समस्या भयो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार ७ जना सञ्चालक त्यसमा पनि एक जना त स्वतन्त्र सञ्चालक हुने व्यवस्था छ । अब २ संस्था मर्ज हुँदा ३/३ जनाको मात्रै प्रतिनिधित्व हुने भयो । बाँकी ३/३ जना त सञ्चालकबाट बाहिरिनु पर्ने हुन्छ । तर उहाँहरुको पनि लगानी छ । लगानी चाहिँ हाम्रो पनि हुने तर सञ्चालक समितिमा चाहिँ प्रतिनिधित्व अरुको भन्ने सोच पनि सञ्चालकहरुमा देखिने रहेछ । बरु म पनि जान्न, उसलाई पनि जान दिन्न, ठूलो संस्थामा विलय गराइदिउँ भइहाल्यो भन्ने सोचले गर्दा धेरै जसो ठूला बैंकहरुमा फाइनान्स कम्पनीहरु गाभिए । यो अवसरको भरपुर फाइदा कमर्सीयल बैंकहरुले लिए । बैंकहरुले साना संस्थाहरु ल्याएर पुँजी पुर्‍याए । साना संस्था ल्याउँदा धेरै भाग दिनु पनि नपर्ने । फाइनान्सका कर्मचारीहरुलाई कमर्सीयल बैंकको कर्मचारी बन्न पाए खुसी नै हुने । स्वाप रेसियो एकदमै कम दिएर लिएर गए । यी कारणले गर्दा क्षेत्री स्तरका विकास बैंक र फाइनान्स कम्पनीहरु धेरै विलय भएका हुन् । तर अब जति घटे, घटे । अब धेरै घट्दैन । जति संस्थाहरु छन् अब वलिया भएका छन् । मुनाफाकै कुरा गर्दा पनि कमर्सीयल बैंक भन्दा राम्रो प्रतिफल दिन सक्ने फाइनान्स कम्पनीहरु भएका हुन् ।

भनेपछि फाइनान्स कम्पनीहरु वाणिज्य बैंकसँग प्रतिष्पर्धा गर्न सक्ने भएका हुन् ?

फाइनान्स कम्पनीहरु अब्बल भएका छन् । फाइनान्स कम्पनीहरुप्रति ग्राहकको विश्वास पनि छ । अब यहाँ ठूलो माछाले सानो माछा खानसक्छ भन्ने उखान त हामीले सुनेकै छौं । अब म सक्काउँछु नै भनेर ठूला बैंकहरु लागिपरे फाइनान्स कम्पनीको केही नलाग्ला । पुँजीका हिसाबले, श्रोत साधानका हिसाबले बैंकहरु ठूला संस्था हुन् । अस्तित्व नै सकाउँछु भनेर लाग्यो भने त फाइनान्सहरुले नसकलन । बैंकहरुको क्षमता ठूलो छ । राज्न्यले पनि फाइनान्स कम्पनी आवश्यक छ भन्ने बुझेको छ । कमर्सीयल बैंकहरुले मात्रै वित्तीय पहुँचको सबैतिर पुर्याउन सक्दैन । सबै जनता कमर्सीयल बैंकसँगै पहुँच बनाउँन सक्दैनन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?