+
+

नयाँ क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियामाथि खनिए पश्चिमा मुलुक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १२:२१

४ कात्तिक, काठमाडौं । अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई ‘उक्साहटपूर्ण कदम’ भन्दै निन्दा गरेका छन् ।

पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि तीन मुलुकले उत्तर कोरियाको निन्दा गरेका हुन् । राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकपूर्व बेलायत, फ्रान्स र अमेरिकाका राजदूतले नयाँ खाले क्षेप्यास्त्र परीक्षण उक्साहटपूर्ण भनेका छन् ।

त्यस्तै आयरल्याण्डकी राजदूत गेराल्डिन बायर्न नेसनले समेत उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषद्विपरीत भएको बताएकी छन् । ‘राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावविपरीत रहेको यस उक्साहटपूर्ण कार्यलाई जोडदार निन्दा गर्छौं,’ नेसनले भनिन् ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम अगाडि बढाएकोमा अमेरिकासहितका पश्चिमा मुलुक आक्रोशित बनेका छन् । राष्ट्रसंघका लागि अमेरिका, बेलायत, आयरल्याण्ड र फ्रान्सका राजदूतको पछिल्लो टिप्पणीले समेत यही पुष्टि गर्छ ।

नेता किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको हनोइ सम्मेलन परिमाणमुखी हुन नसकेपछि उत्तर कोरियाले दुई वर्षदेखि आफ्नो सैन्य क्षमतामा थप सुधार गर्दै आएको छ ।

राष्ट्रसंघीय प्रतिबन्ध अनुसार उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर पछिल्लो समय पनडुब्बीबाट हान्न मिल्ने, आणविक र तीव्र गतिका हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि अपरिहार्य भएको भन्दै क्षेप्यास्त्र परीक्षणको बचाउ गर्दै आएको छ । कोरियाली प्रायद्धीपमा चर्कँदो तनावका लागि अमेरिका दोषी रहेको ऊसको भनाइ छ ।

मंगलबार उत्तर कोरियाले हतियार परीक्षणको आलोचना गरेर अमेरिकाले दोहोरो चरित्र देखाएको बताएको थियो ।

(अलजजिराबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?