+
+

वीरगञ्जमा आगो नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १९:२९

४ कत्तिक, वीरगञ्ज । वीरगञ्जको आदर्शनगर बसपार्कस्थित फुसको छानो भएको घरमा आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो । प्रहरी सेटबाट तत्कालै २ नं प्रदेश विपद व्यवस्थापन गुल्मलाई जानकारी गराइयो । गुल्मको दमकल साइरन बजाउँदै निस्कियो । घटनास्थल पुग्ने वित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए ।

तर यो वास्तविक घटना थिएन । घरेलु आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो । गुल्मले वीरगञ्ज आदर्शनगरस्थित ग्रीन सिटि सामुदायिक सेवा केन्द्रसँग मिलेर कार्यक्रम राखेको थियो ।

गुल्म प्रमुख प्रहरी निरीक्षक नितेश कुमार सिंहले ग्यासमा तेल तताउँदा बल्ने आगो, सिलिण्डरमा तथा मानिसको शरीरमा आगो लाग्दा कसरी निभाउने, आगलागीमा घाईतेको उद्दार कसरी गर्ने, स्ट्रेचर नभएको ठाउँमा घरेलु सामग्रीको प्रयोग गरेर कसरी स्ट्रेचर तयार गर्ने भन्ने बारे जानकारी गराए ।

‘आगो लाग्ने वित्तिकै आत्तिएर भाग्ने हैन, सही तरिका अपनाउने हो भने आगो लाग्ने वित्तिकै निभाउन सकिन्छ । धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘ग्यासको पाइप वा रेगुलेटरमा आगो लाग्दैन ग्यास पड्की हाल्दैन । सावधानी अपनाएर रेगुलेटर बन्द गर्नुपर्छ ।’
कराइमा तेल तताउँदा आगो लागेमा पुरै ढाकिने गरि ढक्कनले छोपिदिने, बेड सिट वा कटनको पर्दालाई भिजाएर निचोरेर छोप्ने, बेकिङ सोडा वा नुन हालेर पनि आगो निभाउन सकिने उनको भनाइ छ ।

‘पेट्रोल, तेलमा पानी हालेर आगो निभ्दैन । चिनी पिठो ज्वलनशील पदार्थ हो त्यसको प्रयोग पनि गर्नु हुँदैन,’ उनले भने, ‘आगोले सजिलै नटिप्ने पदार्थको प्रयोग गर्नुपर्छ ।’ उनले घर तथा पसलमा लागेको आगो फायर स्टिङग्वीसरले कसरी तत्कालै निभाउने भन्ने बारेमा पनि जानकारी गराएका थिए ।

कृत्रिम घटना अभ्यासपछि बोल्दै प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले नजिकिदै गरेको दिपावलीमा आगलागीको घटना हुन सक्ने भएकोले सचेत हुनुपर्ने बताए ।

‘दिपावली वत्ती बाल्ने पर्व हो, आगलागीको घटना हुन सक्छ । सचेत भएर दुर्घटना हुन दिनुहुन्न,’ उनले भने, ‘आगो लाग्ने वित्तिकै डराएर भाग्ने भन्दा सही तरिकाले निभाउन सके धन जनको बढी क्षति हुन पाउँदैन ।’

जिल्ला विपद व्यवस्थापन समिति पर्साका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सानो सानो असावधानीले ठूलो दुर्घटना हुन सक्ने भएकोले सचेत हुनुपर्नेमा जोड दिए । सहरी क्षेत्रमा ग्यासले बढी आगलागीका घटना बढाएको बताउँदै उनले सावधानी अपनाउन आग्रह गरे ।
‘आगो लाग्दा अन्यौल हुन्छ । तर निभाउने उपाय जान्दा सजिलै नियन्त्रण गर्न सकिन्छ,’ प्रजिअ ढकालले भने, ‘सही जानकारी समयमै लिने हो भने दुर्घटना हुन पाउँदैन ।’

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले अग्लो भवनमा आगलागी हुँदा फसेका मानिसको उद्दार गर्नेबारे पनि कृत्तिम घटना अभ्यास गराउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?