+
+

चितवनमा एमालेको विवाद मिल्यो, कृष्णभक्तले छाडे अध्यक्षको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १७:४०
नेकपा एमाले जिल्ला अध्यक्ष पार्वती रावल र निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेल ।

५ कात्तिक, चितवन । चितवनमा नेकपा एमालेकाे जिल्ला अध्यक्ष को हुने भन्ने विवाद अन्त्य भएको छ ।

बिहीबार भरतपुरमा बसेको जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।

माधव नेपाल पक्षका नेताहरु नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने उल्लेख थियो । तर सो सहमति कार्यान्वयनको सन्दर्भमा चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ को अवस्थामा फर्किदा चितवनको एमाले अध्यक्ष क्षेत्र नं २ का सांसदसमेत रहेका कृष्णभक्त पोखरेल हुनुपर्ने थियो ।

तर २०७७ पुस ५ गते अध्यक्ष केपी शर्मा ओलीद्वारा चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी पार्वती रावलले अध्यक्ष पद छाड्न मानिनन् । अन्तत: पोखरेल आफैं सहमतिका लागि भन्दै पछि हटे ।

‘जेठ २ मा फर्किने सन्दर्भमा कुनै समस्या होइन र थिएन, तर तत्कालिन अध्यक्ष स्वयंले नै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकोले मेरो दावी स्वाभाविक रहेको देखिएको हो’ नेतृ रावलले भनिन्, ‘अहिले हामी त्योभन्दा पनि धेरै अगाडि बढेका छौं, सिङ्गो पार्टी एक ढिक्का बनेको छ ।’

पोखेरलले भने १० बुँदे सहमति कार्यान्वयन भएको सन्देश दिन केही महीनाका लागि मात्रै अध्यक्ष हुने चाहना राखेका थिए । पार्टी नेतृत्वकै निर्देशन अनुसार पोखरेलले दुई पटकसम्म जिल्ला कमिटीको बैठक आयोजना गरे पनि उनी अध्यक्ष बन्ने विषयमा सहमति हुन सकेन थिएन ।

उनले नेकपा एकीकृत समाजवादीतिर गएका केही नेतालाई एमालेमा फर्काउन मात्रै आफू अध्यक्ष बन्न चाहेको बताउँदै आएका थिए । आफू पक्षीय केही नेतालाई जिल्ला कमिटीमा ल्याएपछि निवर्तमान अध्यक्ष पोखरेलले अध्यक्षको दाबी छाडेका छन् । उनी पक्षका नेता प्रकाश ढुंगानालाई बिहीवारको बैठकले जिल्ला उपसचिवमा मनोनयन गरेको छ ।

‘अधिवेशन नजिक आइसक्यो, फेरि १० बुँदेभन्दा सबै संरचनाहरु भत्कने, मनोविज्ञानहरु भत्कने देखिएपछि एकतासहितको नयाँ परिस्थितिमा उभिएका छौं’ पोखरेलले भने, ‘यसले पार्टीलाई थप बलियो र चितवनमा थप शशक्त बनाउँछ भन्ने विश्वास छ ।’

निवर्तमान अध्यक्ष रहेका सांसद कृष्णभक्त पोखरेल पनि बागमती प्रदेश कमिटी सदस्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?