
७ कात्तिक, काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्याएको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको निरीक्षणमा जाँदैछन् ।
प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम छ ।
त्यसपछि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था र सरकारले गर्नु पर्ने कामबारे छलफल गर्नेछन् ।
प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ लगायत रहनेछन् । प्रधानमन्त्रीसहितको टोली आइतबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम छ ।
हालै आएको बेमौसमी वर्षाका कारण प्रदेश नं १ मा बाढी र पहिरोबाट ६२ जनाको मृत्यु, २० घाइते र १३ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नबीनराज राईले जानकारी दिएका छन् ।
प्रदेश १ मा सबैभन्दा बढी मानवीय क्षति पाँचथर जिल्लामा भएको छ । पाँचथरमा २८ को मृत्यु, १० घाइते र ६ जना बेपत्ता भएका छन् । जिल्लाको कम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिका पहिरोले क्षति पुर्याएको छ । यसैगरी इलाम जिल्लामा बाढी र पहिरोका कारण १४ जनाको मृत्यु, पाँच घाइते र एक बेपत्ता छन् । माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका, माई र देउमाई, सूर्योदय नगरपालिकामा पहिरोले क्षति पुर्याएको छ ।
यसअघि प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिम क्षेत्रको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर शुक्रबार काठमाडौं फर्किएका थिए ।
प्रतिक्रिया 4