+
+

हमाल नियुक्ति प्रकरण : प्रधानन्यायाधीशको दाबीमा बार आश्वस्त भएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १९:२२

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्‍मा भाग नखोजेको र गजेन्द्र हमाल आफ्नो सिफारिसमा मन्त्री नभएको दोहोर्‍याएका छन् ।

आइतबार विहान भएको भेटमा नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा  भागवण्डा लिएको विषय उठाएका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफ्नो पहिलो श्रीमती (हमालकी बहिनी) को २०४१ सालमा मृत्यु भएको र त्यसयता सो परिवारसँग आउजाउ नभएको बताए ।

यद्यपि नाता नटुटेको भन्दै जबराले बार पदाधिकारीसँग भने, ‘मैले जेठानलाई मन्त्री बनाइदिनुपर्‍यो भनेको होइन ।’

बार महासचिव लीलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश जबराले हमाल मन्त्री हुँदा आफूसँग जोड्नु दुर्भाग्य भएको बताएका छन् । ‘मैले सिफारिस गरेकै होइन । उहाँहरुको कांग्रेसको राजनीतिमा सक्रिय परिवार हो’ जबराको भनाइ उधृत गर्दै उनले भने, ‘तैपनि मसँग जोडिने भएकाले नगरिदिनुस् भनेर भनेको थिएँ । भन्दा भन्दै (नियुक्ति) गर्नुभयो र पछि ब्याक हुनुभयो । यसमा मेरो के हुन्छ र ?’

प्रधानन्यायाधीश जबराले आफूले भाग लिएको होइन भनेपछि बारले विश्वास गर्‍यो भन्ने पत्रकारहरुको प्रश्नमा पौडेलले आफ्नो आँखाले नदेखेको तथा आफ्नो कानले नसुनेको विषयमा हत्तपत्त विश्वास नगर्ने बताए । प्रधानन्यायाधीश जबराले पनि होइन भनेको भन्दै महासचिव पौडेलले बारमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘उहाँले होइन भनेपछि हामीले कसरी अविश्वास गरौं ?’

पत्रकार सम्मेलनपछि अनलाइनखबरले बार महासचिव पौडेललाई फेरि सोध्यो, ‘मन्त्रिपरिषद्‍मा आफूले भाग नखोजेको प्रधानन्यायाधीशको स्पष्टीकरणमा बार आश्वस्त भएको हो ?’

जवाफमा महासचिव पौडेलले हमाल प्रधानन्यायाधीशको कोटामा मन्त्री नबनेको भनेर सत्तारुढ दलका शीर्ष नेताहरुले यसअघि नै बोलिसकेको र आइतबार पनि प्रधानन्यायाधीशले त्यही कुरा दोहोर्‍याएको बताए । यद्यपि उनले प्रधानन्यायाधीशको भनाइबाट आफूहरु आश्वस्त भइनसकेको पनि बताए ।

‘हामीले चित्त बुझाएका छैनौं, यो विषयमा भोलि पनि उहाँसँग कुरा हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?