+
+

पर्सामा बाल विवाह र दाइजोको विरोधमा नाटक देखाइँदै

सुरेश बिडारी सुरेश बिडारी
२०७८ कात्तिक ७ गते २०:१५

७ कात्तिक, वीरगञ्ज । तराई–मधेसका गाउँमा लमीले केटी खोज्ने जिम्मा पाएका हुन्छन् । लमीले राम्री केटी भेटिएको खबर ल्याउँछ । केटा र केटी दुवै पक्षबीच विवाहका लागि कुरा चलाउँछ । केटाकी आमा दाइजो खोज्ने खालकी हुन्छिन् । केटाको बुवाले आफ्नो पाँच गाउँमा नाम रहेको र आफू दाइजो विरोधी भएको बताउँछन् ।

आफ्ना लागि केही चाहिन्न पनि भन्छन् । तर हुनेवाला सम्धीलाई बुहारीका लागि दिनु भन्दै १० लाख नगद, मोटरसाइकल, फ्रिज, वासिङ मेसिन लगायत गरी लाखौंको दाइजो माग्छन् । पण्डितले उत्तम साइत रहेको बताएपछि कुरा चलेको भोलिपल्टै विवाह गर्ने तय हुन्छ ।

केटीका बुवाले क्षमता नभएपनि छोरीको विवाह एक दिन त गर्नैपर्छ भनेर दाइजोको प्रस्ताव स्वीकार गर्छन् । विवाहको दिन मागेअनुसारको दाइजो दिन सक्दैनन् । कमै उमेरमा विवाह हुन लागेको जानकारी पाएपछि बाल क्लबका सदस्यहरुले आएर विवाह नगर्न/नगराउन आग्रह गर्छन् । उनीहरुले मान्दैनन् ।

पछि मागे अनुसारको दाइजो नदिएकोमा असन्तुष्टि जनाउँदै केटाका बुवाले विवाह रोक्ने चेतावनी दिन्छन् । केटीको बुवाले हात जोडेर बिन्ती गर्छन् । रुँदै आधा सम्पन्न भइसकेको विवाह नरोकिदिन आग्रह गर्छन् । इज्जत जोगाइदिन बिलौना गर्छन् । मागेको समान छिट्टै घरमा पुर्‍याउने आश्वासनपछि विवाह हुन्छ । कम उमेरकी केटीले घरमा सासु, ससुरा, श्रीमान्, नन्द सबैलाई रिझाउन सक्दिनन् । मान्छे नभई मेसिन ठानेर घरको सरसफाइ, लुगा धुने, खाना पकाउने, भाँडा माझ्ने काम लगाएको उनलाई मन पर्दैन । तर पनि सहनुपर्छ । त्यसमाथि मागेजति दाइजो नदिएको भन्दै गाली गलौज र कुटपिट गर्छन् ।

केटीका श्रीमान् जाँड, रक्सी, चुरोट खाने तथा लागूऔषध दुव्र्यसनीमा फसेको हुन्छ । नन्द र सासू मिलेर भए नभएको कुरा लगाउँछन् । पिटेर घरबाट निकालिदिन्छन् । दाइजो नलिई नआउनु भन्ने चेतावनी उनलाई परिवारका सदस्यले दिएका हुन्छन् । माइती पुगेर उनले आफूमाथि भएको अत्याचारका बारेमा आमा–बुवालाई बताउँछिन् । उनीहरुले उजुरी गर्नुको साटो उल्टै छोरीलाई सम्झाइबुझाइ गरेर घरमा पुर्‍याइदिन्छन् । आमा र बहिनीले कुरा लगाएका कारण रक्सीले मातेको श्रीमान् आवेशमा आउँछ । र, कुटपिटबाट केटीको मृत्यु हुन्छ । घटनालाई ढाकछोप गर्न खोजेपनि प्रहरीकहाँ खबर पुग्छ । प्रहरी आएर परिवारका सबै सदस्यलाई पक्राउ गर्छ ।

०००

यो तराई–मधेसको समाजको प्रतिनिधित्व गर्ने काल्पनिक घटना हो । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ औराहा पचगाँवा ‘बुझला के वाद’ (बुझेपछि) नाटकका दृश्य हुन् यी ।

नाटकको कथावस्तु भएपनि यसले तराई–मधेसको समाजको चित्रण गर्छ । बाल विवाह, दाइजो प्रथा, लैंगिक हिंसा, लागु औषध दुर्व्यसनी, लगायतका विभिन्न लैंगिक हिंसा, महिला तथा बालबालिका माथि विरुद्ध हुने अपराध विरुद्ध सचेतना दिन्छ ।

समाजमा बाल विवाह, दाइजो प्रथा, लागूऔषध दुव्र्यसन, मादक पदार्थ सेवनजस्ता सामाजिक अपराधका घटना घट्छन् । समयमै प्रहरीलाई खबर नगरी जटिल समस्या भइसकेपछि मात्रै प्रहरी कार्यालय पुग्छन् । सकेसम्म घटनालाई गाउँघरमै ढाकछोप गर्न खोजिन्छ । कतिपय घटनाका अपराधीहरु कानूनी दायरामा आएका छन् भने कतिपय त प्रमाणको अभावमा खुलेआम घुमिरहेका पनि छन् । अपराध भएपछि मात्रै होइन, आपराधिक घटना घट्न लागेको संकेत पाउने बित्तिकै प्रहरीलाई जानकारी गराउनुपर्छ भन्ने सन्देश दिन अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति, सखुवा प्रसौनी गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा रामनिवास देहातीको निर्देशनमा जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषदका कलाकारको टोलीले अभिनय गरेको ‘बुझलाके बाद’ (बुझे पछि) शिर्षकको भोजपुरी नाटक प्रदर्शन गरिएको थियो । नाटकमा कलाकारले जीवन्त अभिनय गरेका छन् । भोजपुरी गायक सुनिल पण्डितले छोरीले ससुरालमा पाएको दुःखको विलौना गरेको गीत गाएका थिए । सन्देशमूलक नाटक भोजपुरी भाषामा  नै भएका कारण सहभागीले निक्कै चाख माने ।

बाल विवाह, दाइजो प्रथा, लागूपदार्थ दुर्व्यसन, कमै उमेरमा हुने भागी विवाहजस्ता गतिविधिले समाजमा अपराध जन्माउने प्रहरी अधिकारीहरुको तर्क छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कमै उमेरमा भागेर विवाह नगर्न किशोर किशोरीहरुसँग आग्रह गरे ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?