+
+

नेपाल पत्रकार महासंघ हङ्कङका अध्‍यक्ष राईको भिरबाट लडेर मृत्यु

रासस रासस
२०७८ कात्तिक ८ गते १३:१६

८ कात्तिक, खोटाङ । हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।

‘मृतक पत्रकार राई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक (एसपी) प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको रहेछ’, उनले भने, ‘दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जानेक्रममा भीरबाट लडेर करीब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।’

हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ। पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । ‘मृतक पत्रकार राई र एसपी सा’ब साथीसाथी हुनुहुँदो रहेछ’, उनले भने, ‘नेपाल आएको समयमा साथीसाथी सँगै भ्रमण निस्कनुभएको समयमा घटना भएको बुझिएको छ।’

पत्रकार राईको मृत्युपछि पूर्वएसपी श्रेष्ठ र चालकसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरुलाई पक्राउ गरेर राखिएको भने होइन।

मृतक पत्रकार राईसहितको टोली प्रदेश नं. २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आएको बुझिएको छ । घटनापछि उनीहरुले प्रयोग गरेको कारसमेत जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।

मृतक पत्रकार राई नेपाल पत्रकार महासङ्घ हङ्कङ शाखाका वर्तमान अध्यक्ष, एनआएनका पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासङ्घ हङकङका वर्तमान अध्यक्ष, किराँत राई यायोख्खा हङकङका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार लगायतको भूमिकामा थिए । पत्रकार राईलाई यसैवर्ष हङकङ सरकारले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेशन फर कम्युनिटी सर्भिस’ले सम्मान गरेको थियो ।

दुई दशकदेखि हङकङमा पत्रकारिता तथा विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिरहेका मृतक पत्रकार राईका दुई छोरा युके तथा आमा र श्रीमती हङकङमा रहेको पारिवारिक स्रोतले जनाएको छ । पुर्खौली घर ओखलढुङ्गा भएका मृतक पत्रकार राईका धरानस्थित आफन्त सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?