
८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार पर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरु गरेको छ । महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले सोमबार बजार अनुगमन गर्दै चावहिल क्षेत्रमा सञ्चालित दुई वटा मिठाइ पसललाई कारबाही गरेको छ ।
दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गराइएको, कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिए ।
अनुगमन गरिएका मिठाइ पसलहरुमा कोभिडको स्वास्थ्य मापदण्ड पनि पालना नगरिएको, भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु बिक्री गरेको तथा अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ् गर्ने गरेको पाइएको भण्डारीले बताए ।
उनका अनुसार पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ वटा प्याकेट र गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट र ४०० ग्रामका २० प्याकेट जफत गरिएको छ ।
अनुगमनका क्रममा सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करीब ५ लिटर खान अयोग्य तेल नष्ट गर्नुका साथै म्याद गुज्रिएको सोना पापड ९ प्याकेट, मुंगको दाल ७ प्याकेट, विकिनी पञ्जावी तड्का ४ प्याकेट, विकिनी भुजिया ४ प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया 4