+
+

भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १७:५१
फाइल तस्वीर

८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इण्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

नेपाल र भारतबीच सीमासम्बन्धी समस्या रहेको उल्लेख गर्दै प्रचण्डले सीमा समस्यालाई संवादको माध्यमबाट समाधान गर्न सकिने बताए । ‘मोदीजीले जसरी आएर संविधानसभामा बोल्नुभयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरि ताली बज्यो । यसो हेर्दा यो ताली लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोलि नि हुन्छ,’ उनले भने, ‘तर हामीले ताली लगाइयो त्यहाँ । बडो उत्तेजित भइयो खुशी भइयो । यो कुराको हिसाब चाहिं अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई ।’

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एकअर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको शुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उनको भनाइ छ ।

‘यदि नेपालको नेशनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ । नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पुर्‍याएको छैन बरु त्योसँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ,’ उनले अगाडि भने, ‘नेपालको नेशनल इन्ट्रेष्ट र भारतको नेशनल इन्ट्रेष्टलाई एकअर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको शुरुवात गरियो भने दुनियाँको कुनैपनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौं ।’

उनले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले पनि सम्भव भएको उल्लेख गरे । भारतको सकारात्मक धारणा नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहनाले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?