+
+

अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैद, १३ लाख क्षतिपूर्ति भराउने फैसला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:२३
फाइल तस्वीर

८ कात्तिक, विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भएपनि सजाय निर्धारण भएको थिएन ।

सोमबार अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।

मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ गोरेबाट सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको उनले बताए ।

यसअघि जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय जोडिने छैन । दुवै सजाय सँगै अघि बढ्ने भएकाले अधिकतम सजाय कायम हुने राणाले बताए ।

ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये फरार २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।

सरकार पक्षले संगठित रुपमा तस्करी गरिरहेको समूहले राखेको खातापातालाई प्रमाणको रुपमा पेश गरेको थियो । गोरेले अदालतमा बयानका क्रममा सुन तस्करी भएको स्वीकार गरेका थिए । खातापातालाई प्रमाण मान्न नमिल्ने र ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै सफाइ दिएको थियो ।

न्यायाधीश भरत लम्सालको इजलासले शाक्यको हत्या अभियोगमा गोरेसहित सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

२०७४ माघ ९ गते तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?