
९ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० पश्चिमी मुलुकका राजदूतलाई देश निकाल्ने आदेश फिर्ता लिएका छन् ।
अमेरिकासहितका मुलुकले विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकको आन्तरिक मामिलामा राजदूतले हस्तक्षेप गर्न नहुनेसम्बन्धी राष्ट्रसंघीय महासन्धिको सम्मान गर्ने भनेपछि एर्दोगनले तत्काल राजदूतलाई देश निकाला नगर्ने बताएका हुन् ।
यसअघि एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतलाई देश निकाला गर्ने आदेश दिएका थिए ।
गत सोमबार ती मुलुकका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दै थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता ओस्मान काभालालाई रिहा गर्न अपिल गरेपछि टर्की रुष्ट बनेको थियो ।
अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘काभालाको मुद्दा न्यायसंगत ढंगले तत्काल समाधान’ गर्न भनिएको थियो ।
पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।
प्रतिक्रिया 4