+
+

जुम्लामा टिकट नपाउँदा विमानस्थलबाटै फर्काइयो बिरामी

रासस रासस
२०७८ कात्तिक ९ गते १७:२३

९ कात्तिक, खलङ्गा । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल पुगे । उनको तीन महिनाको छोरा रिवानलाई एक्कासी श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए ।

अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी विमानस्थल पुगेका थिए । हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे तर उनले टिकट पाएनन् ।

विमानस्थल जानुअघि उनले पटकपटक फोन गरेका थिए । उनले देखाएको रेफर कागजको विमानस्थलले सुनुवाइ गरेन । उनफ छोरा लिएर घर फर्किए । ‘समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिएँ । विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भएँ । दुई दिनअघिदेखि टिकटका लागि पहल थालेको थिएँ । एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिएँ । छोराको अवस्था जटिल हुँदै टिकटका लागि पहल गरेको थिएँ तर टिकट पाउन सकिनँ । अन्ततः बिरामी छोरो बोकेर घर फर्किंएँ’ उनले भने ।

एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिनअघि देखि सिट प्याक भइसकेको जनाउँदै उनलाई फर्काइदिएका थिए । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उनले भने ‘हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ । टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र होइन ।’

दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु दुखद भएको बताए । उनले भने, ‘जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ । अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभूति हुनेछ ।’ महतले दुःखी बिरामीका लागि कर्णालीको हवाई सेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताए ।

विमानस्थलमा भएको भद्रगोलको बारेमा जति निर्णय र छलफल भए पनि इटिकटको व्यवस्था नभएसम्म नरोकिने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हवाई सेवामा रेफर भएका बिरामीलाई पहिलो प्राथमिकता दिन निर्देश गरिएको जानकारी दिइन् । ‘धेरै दिनदेखि बिरामी होल्डमा थिए । अक्सिजन सिलिन्डर अभावले रोकिएका पातारासीका एक बिरामीलाई सोमबार पठाइएको थियो । अन्य बिरामीलाई जटिलता हेरेर प्राथमिकता दिइन्छ । सबैले समान रुपमा हवाई सेवा पाउनुपर्छ ।’

यहाँ तारा, सीता र समिट एयरका जहाज चल्ने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?