+
+

पाकिस्तानले भारतलाई जित्दा खुशीयाली मनाएका कश्मीरका विद्यार्थीविरुद्ध फौजदारी मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १७:५५
टी-२० क्रिकेटमा भारत र पाकिस्तानका खेलाडी

९ कात्तिक, काठमाडौं । टी-२० विश्वकपमा पाकिस्तानले भारतलाई हराएपछि खुशीयाली मनाएका विद्यार्थीविरुद्ध कश्मीर प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ ।

कश्मीर प्रहरीले भारतसँगको खेलमा पाकिस्तान विजयी भएपछि खुशीयाली मनाएका चिकित्सा शिक्षा अध्ययनरत् दुई विद्यार्थीविरुद्ध प्रतिआतंकवादसम्बन्धी कानूनबमोजिम मुद्दा दर्ता गरेको अलजजिराले जनाएको छ ।

आइतबारको खेलमा भारत पराजित भएपछि कश्मीरका मुख्य दुई मेडिकल कलेजका विद्यार्थीले सार्वजनिक रुपमै खुशीयाली मनाएका थिए । उनीहरुले होस्टेलबाहिर खुशीयाली मनाएको भिडियो सामाजिक सञ्लालमा भाइरल बनेको थियो ।

मंगलबार एक प्रहरी अधिकारीले ‘क्रिकेट खेलका क्रममा राष्ट्रिय भावनामाथि ठेस पुर्‍याएको’ भन्दै विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन् । ती अधिकारीका अनुसार गैरकानूनी गतिविधि रोकथाम ऐनबमोजिम विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरिएको हो । तर कतिजना विद्यार्थीविरुद्ध मुद्दा गरेको भन्नेबारे उनले केही खुलाएका छैनन् ।

प्रहरीले दर्ता गरेको एफआईआरमा विद्यार्थीको नाम नखुलाइएको र हालसम्म कसैलाई पक्राउ नगरिएको समाचारमा उल्लेख छ ।

पाकिस्तानले टी-२० विश्वकपअन्तर्गत आइतबार राति यूएईमा सम्पन्न खेलमा भारतलाई १० विकेटले हराएको थियो । भारतको हारपछि पञ्जाबमा कश्मिरी विद्यार्थीमाथि आक्रमण भएको थियो भने भारतीय टोलीका मुस्लिम खेलाडीलाई अनलाइनमा अभद्र व्यवहार गरिएको थियो ।

पछिल्लो समय भारत नियन्त्रित कश्मीरमा भारतविरोधी भावना तीव्र रुपमा बढ्दै गएको छ । क्रिकेट प्रतियोगितामा भारत पराजित भएपछि खुशीयाली मनाएको पछिल्लो घटनाले समेत यही पुष्टि गर्छ ।

जम्मू-कश्मीरमा ९० को दशकमा भारतीय शासनविरुद्ध आन्दोलन शुरु भएको थियो । कश्मीरलाई मुस्लिम बाहुल्य पाकिस्तानमा गाभ्नुपर्ने वा स्वतन्त्र राज्य बनाउनुपर्ने माग राख्दै शुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?