+
+

कसरी बित्छ न्यूरो सर्जन डा. राजीव झाको एक दिन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १६:१२

डा. राजीव झा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ स्नायु रोग विशेषज्ञ एवं स्नायु विभागका प्रमुख हुन् । हरेक दिन स्नायु शल्यक्रिया र त्यस्तै जटिल समस्याको समाधानमा रमाउने झा पेशागत धर्म पूरा गर्दै आफ्नो पारिवारिक जीवनलाई समेत सँगसँगै लैजानु पर्ने बताउँछन् । श्रीमान् श्रीमती नै चिकित्सा क्षेत्रमा कार्यरत रहेको उनको जीवनशैली कस्तो छ त ? डा. झासँग उनको दैनिकी र अन्य जीवनशैलीको बारेमा हामीले कुराकानी गरेका थियौं ।

म र मेरी श्रीमती दुवै जना चिकित्सा क्षेत्रमा कार्यरत छौं । डाक्टर आफैँमा व्यस्त पेशा हो, त्यसैमाथि स्नायु शल्य चिकित्सकको व्यस्तता झनै बढी हुने गर्छ । नेपालमा न्यूरो सर्जन धेरै छैनन् । जसका कारण तोकिएको समय काम गरेर बाँकी समय ढुक्कसँग बस्न सक्ने अवस्था छैन । घरमा समय बिताउनु हाम्रो लागि एकदमै दुर्लभ हुन्छ । बिहान साढे ५ बजेदेखि सुरु भएको मेरो जीवनशैली छिटोमा रातिको ९ बजे र शल्यक्रिया भएको दिन त भोलिपल्ट बिहानको २÷३ बजेसम्म पनि अस्पतालमा नै बिताउनु पर्ने हुन्छ ।

सामान्यतया साढे ५ बजेदेखि ६ बजेभित्र हामीहरु उठिसकेका हुन्छौं । ४५ मिनेटजति श्रीमान् श्रीमती नै व्यायाम गर्छाैं । सातामा कम्तीमा ५ दिन व्यायाम गर्ने भन्ने हाम्रो कोसिस रहन्छ । साँझमा हाम्रो फुर्सद् हुँदैन । नुहाइधुवाई गरेर बढीमा बिहानको साढे ७ बजेसम्ममा म अस्पताल पुगिसकेको हुन्छु । म सरकारी र निजी अस्पतालमा पनि काम गर्छु । बिहान साढे ७ बजे सुरुमा म निजी अस्पतालमा पुग्छु । त्यहाँ ९ बजेसम्म बसेपछि म सरकारी (वीर अस्पताल र ट्रमा सेन्टर) पुग्छु । वीरमा मेरो कम्तीमा ५ बजेसम्म बसाइ रहन्छ । त्यसपछि म फेरि निजी अस्पतालमा कामको लागि जान्छु । साढे ७÷८ बजेसम्म अस्पतालमा बिताएपछि शल्यक्रिया नभएको दिन ढिलामा ९ बजे म घर पुगिसकेको हुन्छु । अप्रेसन भएको बेलामा भने धेरै ढिला पनि हुन्छ । कहिलेकाहीँ त राति ३ बजेसम्म पनि अप्रेसन गरेर बसेको रेकर्ड छ ।

अप्रेसन सफल भयो भने धेरै खाना रुच्छ

हामी चिकित्सकहरू तोकिएको समयमा काम सकेर आनन्दसँग व्यक्तिगत जीवन जिउँछु भन्न पाउँदैनौं । कुनैपनि यस्तो रात छैन जहाँ अस्पतालबाट एक÷दुई वटा टेलिफोन नआएको होस् । नयाँ हरेक केसको बारेमा कुरा आउँछ । ह्वाट्स एप भाइबरबाट पनि त्यस्ता जिज्ञासा र समस्याहरु आइरहेका हुन्छन् । ल अब खाना खाएर सुतौं भोलि उठम्ला भन्ने हुँदैन ।

खाना खाने बेलामा अप्रेसन थिएटरको सम्झना आउँदैन । किनकि त्यसलाई हामीले नराम्रो मानेकै हुँदैनौं । बरु अप्रेसन गरेको बिरामीको अवस्था कस्तो होला ? भन्ने चिन्ताले भने सताउने गर्छ । जुनसुकै डाक्टरको पनि सफलता असफलता भनेको बिरामीको उपचार कति सफल भएको छ ? भन्नेमा निर्भर हुन्छ । त्यसैले अप्रेसन सफल भएको छ भने खुशी बढ्छ, खाना पनि धेरै रुच्छ । जस्तो ब्रेन ह्याम्रेज भएको कुनै बिरामीको उपचार गरिएको छ र अप्रेसन सफल भएको छ भने राति २ बजे घर गए पनि टन्न खाना खाएर सुतिन्छ । खुशीले गर्दा भोक धेरै लाग्दो रैछ । कुनै अप्रेसन सफल भएन भने भोक पनि लाग्दैन । यस्तो अप्रेसन गर्दाको समस्याहरु पछि पटक्कै याद आउँदैन ।

बिहान परिवारसँग खाना खाने शनिबार मात्रै

जब श्रीमान् श्रीमती नै व्यस्त हुन्छन्, घरायसी समस्या सुल्झाउन मुस्किल हुन्छ । अझ दुवै जना डाक्टर भए भने त झनै दुवै व्यस्त हुन्छन् । त्यसैले घरको सामान कसले किन्ने भन्नेमा अलिअलि बहस हुन्छ । तर पनि हामीहरु आपसी समझदारीको आधारमा अघि बढ्छौं । श्रीमतीजीले अलिकति समय निकालेर सबै घरायसी काम गर्नुहुन्छ । हामी बिहानको खाना खाँदैनौं । बिहानमा खानासँगै खाने भनेको शनिबार मात्रै हो ।

बाहिर अरूको घरमा पतिपत्नीको मनमुटाव हुन्छ भन्ने सुनिन्छ । तर हाम्रोमा यो समस्या धेरै आउँदैन । किनभने हामीसँग झगडा गर्ने फुर्सद नै हुँदैन । भेट हुने भनेको नै राति हो । तर पनि मानवीय स्वभाव नै हो कहिलेकाहीँ ठाकठुक त परिहाल्छ ।

घुमघाममा प्रतिबद्ध

हाम्रो जस्तो चिन्ता लाग्दो जीवनमा २÷३ महिना एउटै काम गरिसकेपछि मानसिक रुपमा पनि हामी थाक्छौं । ३ महिना जतिमा ५ दिनदेखि एक सातासम्म हामी पारिवारिक रुपमा रिफ्रेसमेन्टको लागि घुमघाममा जान्छौं । म सबै चिकित्सक साथीहरुलाई घुमघामको लागि समय छुट्याउन आग्रह गर्छु । आफ्नो व्यावसायिक धर्म एकठाउँमा छ । त्यस्तै, परिवारलाई जहिलै पनि प्राथमिकतामा राख्नुपर्छ ।

हामी सिनेमा खासै हेर्दैनौं । ३÷४ वर्षमा एकपटक फिल्म हलमा गएर हेर्छाैं । टेलिभिजन पनि हेर्ने फुर्सद् हुँदैन । घरमा तीनवटा टिभी छ । तर हामी कहिलै पनि अन गर्दैनौं । घरमा पुग्यो कि खाना खाएर कतिबेला सुत्न पाउँ जस्तो लाग्छ । किनभने यही एउटा समय हो जतिबेला हामी आराम गर्न पाउँछौं । खाना खाएपछि कम्तीमा २÷३ घण्टा आराम गर्नुपर्ने हो । तर त्यसको लागि पनि समय मिलाउन सकिएको छैन । खानामा पनि हाम्रो मौलिक शैली छ । हामीले खानामा धेरै खाने भनेको फलफूल नै हो । सकेसम्म हामी भात खाँदै खाँदैनौं । गुलियो, तारेको जस्ता चिज पनि सकेसम्म खाँदैनौं ।

सधैं एउटै जीवनशैली भए पनि कामप्रति हामीलाई कुनै गुनासो छैन । तर कहिलेकाहीँ परिवारमा चाहिँ कस्तो पेशा अँगालिस् ? आफ्नो जीवन भन्ने चाहिँ हुँदैन भनेर भन्छन् । १० घण्टाको अप्रेशन गरेर घर पुग्यो फेरि उही कुरा लिएर फोन आउँछ । कहिले त इमर्जेन्सी छ भनेर बोलाउँछन् नै । तर पनि हामीमा भएको डेडिकेसनले हामीलाई ऊर्जा दिन्छ ।

बल्ल खान बस्न पुग्ने कमाउन थालियो

जतिकाम गरेपनि पैसाको अभाव कहिलै टर्दाे रहेनछ । मलाई लाग्दैन कि नेपालमा कुनैपनि यस्ता डाक्टरहरु होलान् जसलाई पैसाको अभाव छैन । मलाई १४ घण्टा खटिँदा पछिल्लो ५ वर्षदेखि बल्ल  खान लाउन पुग्ने पैसाको जोहो हुन थालेको छ । त्यसभन्दा अघि त पैसाको दुःख नै थियो । सबैको साझा समस्या यही हो सुरुवाती समयमा पैसाको अभाव हुन्छ, जतिबेला संघर्षको चरण सकिन्छ, अनि रिटायर्डको बेला हुन्छ । अभावमा नै धेरैको जीवन बित्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?