+
+

दाँतलाई बलियो र चम्किलो बनाउन ब्रस गर्ने तरिका थाहा हुनुपर्छ : डा. सम्पदा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १७:५०

दाँत, शारीरिक स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण अंग । सौन्दर्यको एक हिस्सा पनि हो यो । मिलेका दाँतका पंक्तिहरुले समग्र व्यक्तित्वमा नै प्रभाव पार्छ । त्यसैले त कवि–कलाकारहरुले दाँतको सुन्दरताको बखान गरिरहन्छन् ।

दाँत पाचन प्रणाली र समग्र स्वास्थ्यको लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । किनभने कुनैपनि खानेकुरा पचाउने प्रक्रिया दाँतबाट सुरु हुन्छ । दाँतले राम्ररी चपाएर मसिनो बनाएपछि कुनैपनि खानेकुरा पाचनका लागि योग्य हुन्छ । जति राम्ररी चपाउन सकियो, उत्तिनै पचाउन सहज हुन्छ । अतः जति राम्ररी खानेकुरा पच्छ, उत्तिनै हाम्रो शरीर स्वस्थ, बलियो हुन्छ ।

तर, हामी दाँतको सवालमा उत्ति गंभिर हुँदैनौं । दाँतलाई कसरी सफा राख्ने, कसरी बलियो बनाउने, कसरी आकर्षक राख्ने ? यावत् कुुरामा हाम्रो ध्यान जाँदैन । कतिसम्म भने दाँत ब्रस गर्ने, मुख सफा राख्ने कुरामा पनि हाम्रो ढंग पुगिरहेको हुँदैन । दाँत मान्छेको संवेदनशील अंग हो । नियमित सरसफाइमा ध्यान दिँदादिँदै पनि दाँतमा विभिन्न खाले समस्याहरु देख्ने गरिन्छ । तर यसको सुरक्षाको लागि कस्तो कुरामा ध्यान दिने त ?

प्रायः मान्छेले बिहान उठेपछि दाँत ब्रस गर्छन्, यो तरिका कति ठीक हो ?

दाँत माझ्ने पनि एउटा आइडियल तरिका हुन्छ । सामान्य भाषामा भन्दा धेरै नघोटी दाँत माझ्नु दाँतको स्वास्थ्यको लागि लाभदायक हुन्छ । दाँच माझ्न क्रममा ब्रस पनि सफ्ट खालको हुनुपर्छ ।

दिनमा कति पटक ब्रस गर्नुपर्छ ?

एकदिनमा कम्तीमा २ पटक ब्रस गर्नुपर्छ । समयको कुरा गर्दा बिहान र बेलुका ब्रस गर्नुपर्ने हो । तर यसमध्ये पनि बेलुका अनिवार्य गर्नुपर्छ । हामी रातिको समयमा सुत्दा कसैसँग बोल्दैनौं । जसले गर्दा राति खाएको खाना गिजामा र दाँतको बीचमा बस्न सक्छ । जसले गर्दा दाँतमा किरा लाग्ने जोखिम हुन्छ । त्यसैले राति सुत्नुअघि ब्रस गर्नु अनिवार्य हुन्छ ।

दाँत कसरी ब्रस गर्दा राम्रो वा सफा हुन्छ ?

ब्रस गर्ने पनि छुट्टै तरिकाहरु हुन्छ । दाँत माज्दा गिजासम्म पुग्नेगरी माझ्नु पर्छ । गिजामा समेत अड्किएका खानेकुरालाई निकाल्ने गरी ब्रस गर्नुपर्छ । दाँत ब्रस गर्दा बढारेको जस्तो शैलीमा दाँत माझ्नुपर्छ ।

दाँत माझ्ने ब्रस कस्तो खालको हुनुपर्छ ?

दाँत माझ्ने ब्रस दह्रो, मध्यम र नरम खालको हुन्छ । ब्रस कस्तो हो भनेर कभरमा नै लेखेको हुन्छ । हार्ड चाहिँ प्रयोग गर्नै हुन्न । मध्यम र नरम खालको ब्रस प्रयोग गर्नुपर्छ ।

ब्रस कति अवधि वा समयमा बदल्नुपर्छ ?

सामान्यतया ब्रस ३÷३ महिनामा परिवर्तन गर्नुपर्छ । तर ब्रस गर्ने तरिकाको आधारमा छिट्टै पनि परिवर्तन गर्नुपर्ने हुन सक्छ । धेरै रगड्नेहरुले छिट्टै पनि परिवर्तन गर्नुपर्ने हुन्छ । ब्रस दह्रो भयो भने छिट्टै परिवर्तन गरिहाल्नुपर्छ ।

धेरैले ब्रस बाथरुममा राख्ने गर्छन्, यसो गर्नु ठीक हो ?

ब्रस जहाँ राखे पनि हुन्छ । तर सकेसम्म घाम लाग्ने ठाउँमा ठाडो पारेर राख्नुपर्छ ।

ब्रसका लागि कस्तो टुथपेस्ट सही हुन्छ ?

ब्रस गर्नको लागि २ किसिमको टुथपेस्ट हुन्छ । एउटा पाउडर हुन्छ भने अर्काे पेस्ट हुन्छ । दाँत माझ्दा सकेसम्म पाउडरको प्रयोग गर्नु हुँदैन । पाउडर पनि उस्तै त हो नि भन्ने धेरैलाई परेको हुन सक्छ । तर पाउडरले इनामेललाई असर गर्छ । पेस्टमा फ्लोराइडको मात्रा हुने भएकोले यो लाभदायक हुन्छ ।

खानेकुरा खाइसकेपछि दाँत सफा गर्न ब्रस नै गर्नुपर्छ ?

ब्रस मात्रै गरेर पनि पुग्दैन । कहिलेकाहीँ इन्टरडेन्टल ब्रस गर्न सकिन्छ । ब्रसले मात्रै दाँतभित्र रहेको किटाणुहरु मरेनन् भने यसलाई इन्टरडेन्टल ब्रस वा धागोको माध्यमबाट सफा गर्न पनि सकिन्छ ।

हाम्रो स्वास्थ्यको लागि दाँतको भूमिका वा काम के हुन्छ ?

हाम्रो शरीरको समग्र स्वास्थ्य दाँतको स्वास्थ्यसँग जोडिएको हुन्छ । एउटा त दाँत दुख्यो भने ज्वरो आउने र अन्य स्वास्थ्य समस्या हुने हुन्छ । त्यसबाहेक पनि हामीले स्वस्थ खानेकुरा खान सकिँदैन । दाँत दुख्यो भने फलफूल खान सकिँदैन । यसले पनि असर पार्न सक्छ ।

कतिपयको दाँत पहेँलो हुन्छ, दाँत सेतो बनाउने कुनै तरिका हुन्छ ?

गाढा सेतो हुनु दाँतको प्राकृतिक धर्म होइन । दाँत अलिअलि पहेँलो हुन्छ । तर कतिपयको दाँत धेरै नै पहेँलो हुन्छ । यो अरु नै कारणले पनि भएको हुन सक्छ । नियमित दाँत माझ्दा पनि पहेँलो भयो भने चिकित्सक कहाँ देखाउन जानु पर्छ ।

बाङ्गोटिङ्गो दाँतलाई कसरी मिलाउने ? यसको लागि शल्यक्रिया गर्नुपर्छ ?

शल्यक्रिया नै बाङ्गोटिङ्गो दाँतको निर्विकल्प उपाय होइन । यसलाई तारको सहयोगले सोझ्याउन सकिन्छ । तर यसको लागि पनि निश्चित उमेर हुनुपर्छ । उचित समयमा मिलाउन सक्यो भने शल्यक्रिया नै आवश्यक पर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?