+
+

एनआरएनए एनसीसी विश्व भेला सम्पन्न, अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्त अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ८:०४

११ कात्तिक, बार्सिलोना । सात बुँदे घोषणापत्र पारित गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको विश्व भेला आइतबार भर्चुअल रुपमा सम्पन्न भएको छ। संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गर्दै विश्व भेला सम्पन्न भएको हो ।

संघका केन्द्रीय अध्यक्षकुमार पन्तले आफू भेलामा सहभागी नबन्ने र अरुलाई पनि सहभागी नबन्न अनुरोध गर्दै इमेल सर्कुलेसन गरे पनि अन्तत: एनसीसी भेला सम्पन्न भएको छ । उनले भेलाको आफू हिस्सा नरहेको बताएका थिए। तर  यसअघि अध्यक्ष पन्त पनि भेलामा सहभागी बन्ने भन्दै प्रचार गरिएको थियो।

संघका महासचिव डा. हेमराज शर्माले यस्ता खाले भेलाको वैधानिक व्यवस्था नभएको भन्दै गतिविधिहरू रोक्न अनुरोध गरेका थिए। उनले अहिलेको समस्या समाधान गर्न अध्यक्षनै स्वयं रातदिन खटिरहेको अवस्थामा यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्ने बताएका थिए।

तर कार्यसमितिकै उपाध्यक्षद्वय सोनाम लामा र मन केसी, सचिव आर के शर्मा, सहकोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, युवा संयोजक हिमाल गुरुङ, मध्यपूर्व युवा संयोजक राज रेग्मीलगायतको भेलामा उपस्थिति रहेको थियो।

त्यस्तै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले भेलालाई सम्बोधन गर्दै संरक्षक परिषद्लाई जिम्मेबारी दिए अहिले एनआरएनमा देखिएको विवादको टुङ्गो लाग्ने दाबी गरे। भेलामा संस्थापन पक्षका एनसीसी अध्यक्षहरूले भाग लिएनन् भने अध्यक्षका प्रत्यासी कुल आचार्य निकट ठानिएका एनसीसीहरूको उपस्थिति बाक्लो थियो ।

एनसीसी अमेरिकाको संयोजनमा भएको सम्मेलनमा असी प्रतिशतभन्दा बढी एनसीसीहरुका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको आयोजकको दाबी रहेको छ ।

संस्था नै गम्भीर अवस्थामा पुगेको निष्कर्ष

एनसीसीहरुको विश्व सम्मेलनले अन्तर्राष्ट्रिय समन्वय परिषद्(आइसीसी) को नेतृत्वले विधान विपरीत काम गर्दा संस्था नै गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । संस्थालाई गति दिन र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने वातावरण तय गर्न सम्मेलनले संरक्षक परिषद्लाई आग्रह गरेको छ ।

‘गैरआवासीय नेपाली संघको  विधानको व्यवस्था बमोजिम दुई वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख  भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषद्माथि आइपुगेको छ।  संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पूरा गरेको आइसीसी, नव निर्वाचित आईसीसी सदस्यहरू, सल्लाहकारज्यूहरू तथा हामी सम्पूर्ण एनसीसीहरूसँग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पूरा गर्न संरक्षक परिषद् अग्रसर हुने हामीले विश्वास लिएका छौं,’  सम्मेलनले पारित गरेको घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा पनि एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको निष्कर्ष निकाल्दै आईसीसीका पदाधिकारीहरू नै चुनावमा होमिने भएपछि आफ्नो अनुकुल स्थिति बनाउन यस्ता कामहरु गरिएको ठहर गरेको छ ।

सम्मेलनले आईसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न  एनसीसीको निर्वाचन डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षेप गर्ने वातावरण अन्त्य गर्न पनि माग गरेको छ । त्यस्तै, नेतृत्वले विवाद समाधानमा चासो नदेखाएपछि न्याय माग्न नियामक निकाय (परराष्ट्र मन्त्रालयमा) मा जानु स्वाभाविक ठहर पनि गरेको छ । परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान अनुसार कार्यान्वयन गर्न सम्मेलनले संघको वर्तमान नेतृत्वलाई आग्रह गरेको छ ।

पत्रकारलाई धम्की

भेलाको निष्कर्ष सुनाउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकको प्रस्तुति निकै फितलो देखिएको थियो। आयोजकले नै पत्रकारमाथि अपमानित शब्द प्रयोग गर्दै ठेगान लगाइदिने भन्दै धम्की दिएपछि आलोचना भएको छ।

पत्रकार सम्मेलनमा केही पत्रकारहरूलाई लक्षित गर्दै जरो समेत उखेलेर फाल्ने धम्की आयोजकमध्येका केही सदस्यहरूले  दिएका थिए । एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहामगरले बेलायत निवासी पत्रकार चिरन शर्मालाई जरोसमेत उखालेर फाल्ने धम्की दिएका छन्। शर्मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व अध्यक्ष हुन्।

अध्यक्ष गाहामगरले पत्रकार शर्माले एनसीसी युकेको फेसबुक ह्याक गरेको आरोप लगाउँदै बेलायतमा साइवर क्राइममा मुद्दा हाल्ने धम्कीसमेत दिए । उनले बेलायतकै अर्का पत्रकार श्याम लुइटेलमाथि आक्रोश पोख्दै भने, “म एउटा संस्थाको अध्यक्ष हुँदाहुँदै मसित कुनै सरसल्लाह नगरी प्रश्नहरू गर्नुभयो। अहिले बेलायतको ‘को मेम्बर’ मा मैले जसरी तानें त्यसमा मैले दुई पटक सोच्ने बेला आएको छ। किनभने उहाँले सपथ खानुभएको छैन।”

उनले प्रश्नकर्ता पत्रकारहरूलाई अरुद्वारा परिचालित भएको भन्दै आरोप लगाए । पत्रकार सम्मेलनमा एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले पनि पत्रकारको आलोचना गरेका थिए । कतिपय पत्रकारहरु कसैको ‘लगौटी’ बनेर हिँडिराखेको डुम्रेले आरोप थियो।

कार्यक्रमका  संयोजक एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले पत्रकारहरूले सोधेका केही प्रश्नको जवाफ दिए पनि बाँकी प्रश्नको जवाफ बेलायतका अध्यक्ष गाहामगरलाई दिन अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?