१० कात्तिक, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकले वडाध्यक्षले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । प्रसौनी–६ स्थित नेपाल राष्ट्रिय मावि बेलहियाका प्रधानाध्यापक पवन सिंहले वडाध्यक्ष वृजकिशोर कुशवाहाले आफूलाई कुटपिट गरेको दाबी गरेका हुन् ।
वडाध्यक्ष कुशवाहाले कार्यालयमै थुनेर कुटेको प्रधानाध्यापक सिंहको दाबी छ । घटनापछि वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराएर फर्केको उनले बताए । स्रोतका अनुसार वडाध्यक्ष कुशवाहा र सिंहबीच दुई वर्षदेखि नै त्यति राम्रो सम्बन्ध थिएन ।
दुई वर्षअघि प्रधानाध्यापक सिंह सरुवा भएर विद्यालय जाँदा वडाध्यक्ष कुशवाहाले हाजिर गर्न दिएका थिएनन् । उनी बल्लतल्ल हाजिर भएका थिए । सिंहले वडाध्यक्ष कुशवाहाले आफूसँग पैसा दिनु भनेर माग्ने गरेको आरोप समेत लगाएका छन् । तलब, भत्ता र भवन निर्माण लगायत विद्यालयमा शिक्षक तोकेरै पैसा आउनेबारे उनले वडाध्यक्ष कुशवाहालाई जानकारी गराएको र यसैको रिसइबी साँधेको उनको आरोप छ ।
असोज ८ गते आफू, शिक्षक र कर्मचारीहरुबीच बैठक बसिरहेको बेला वडाध्यक्ष कुशवाहा आएर सबैलाई बाहिर निस्कन भनेको उनले बताए । त्यसपछि एकछिनमा ५–६ जना युवकहरु लिएर आएर आफूमाथि सिधै कुटपिट गरेको सिंहले बताए । त्यसक्रममा आफ्नो मोबाइल पनि खोसिएको उनको भनाइ छ । कुटाइबाट नाकबाट रगत बग्न थालेपछि आफू अस्पताल गएको प्रधानाध्यापक सिंहले बताए ।
चिकित्सकले नाकको हड्डी भाँचिएको, बायाँ कानमा रगत जमेको र जाली फुटेको भनेको सिंहले बताए । घटनाका विषयमा प्रहरीमा मौखिक जानकारी गराएको भएपनि लिखित जाहेरी दिन नपाएको सिंहको भनाइ छ ।
विद्यालयका शिक्षकहरुले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
यता, प्रहरीले भने घटनाबारे कुनै पनि उजुरी नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भने, ‘सञ्चारमाध्यमबाट फोन आएपछि जानकारी पाएको हुँ, घटना के भएको हो ? कसरी भएको हो ? को घाइते छन् ? पीडित भनिएको पक्षबाट पनि कसैले केही जानकारी दिएको छैन, बुझ भनेर टोली खटाएको छु ।’
वडा अध्यक्ष भन्छन्– प्रधानाध्यापक सिंहको आरोप झुटो
वडाध्यक्ष कुशवाहाले भने आफूले प्रधानाध्यापक सिंहमाथि कुटपिट गरेको आरोप झुटो भएको बताएका छन् । अघिल्लो दिन विद्यालयमा प्रधानाध्यापक नगएको र शिक्षकहरुले नपढाएको जानकारी पाएपछि त्यसदिन आफू विद्यालय गएको उनको दाबी छ ।
‘विद्यालय दिउँसै बन्द हुन थालेपछि के भएको रहेछ भनेर बुझ्न गएको हुँ । पढाइ दुई दिनदेखि बन्द थियो, शिक्षकले दशैंमा पनि तलब पाएको छैन,’ उनले भने, ‘पढाइ सकेर मिटिङ बस्नुपर्ने उनीहरु दिउँसो १ बजे नै बैठकमा थिए । विद्यार्थीहरु घर फर्किरहेका थिए । शिक्षकलाई किन यस्तो गर्नुहुन्छ तलब ढिलोचाँडो पाइहाल्नुहुन्छ । पढाउनुस् भनेको हुँ ।’ प्रधानाध्यापकलाई विद्यार्थीले कुटेको र आफूले उल्टै विद्यार्थीलाई शान्त पारेको उनले दाबी गरे ।
प्रधानाध्यापक सिंह नियमित विद्यालय नआउने गरेको र २० लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप उनको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4