+
+

‘बैंकहरु अल्पकालीन स्रोतमा भरपर्दा तरलता समस्या बढ्यो’

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक १२ गते ११:२०

१२ कात्तिक, काठमाडौं । दशैं अघिदेखि शुरु भएको लगानीयोग्य रकम (तरलता) संकट वित्तीय क्षेत्रमा अझै केही समय रहने देखिएको छ । ऋण लगानीमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भने कमजोर देखिदा तत्कालै तरलता अभाव टर्ने सम्भावना कम देखिएको हो ।

अझ नेपाल आयल निगमले १८ अर्ब रुपैयाँ झिकेर भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्ने तयारी गरेको छ । आयल निगमले यो रकम झिकेर भारत पठाए तरलता संकट थप बढ्नेछ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार अहिले बजारमा १८ अर्ब रुपैयाँमात्रै रहेको छ ।

बुधबार केन्द्रीय बैंकले रिपोमार्फत बजारमा तरलता पठाएको थियो । तर यो अल्पकालीन समाधान मात्रै हो । बैंकहरुले निक्षेप संकलनमा ध्यान नदिने बोरु कर्जा लगानीमा आक्रामक बन्दै जाँदा यस्तो समस्या देखिएको हो ।

निक्षेप नआउँदा बैंकको ब्याजदर तत्कालै घट्ने सम्भावना समेत देखिएको छैन । केन्द्रीय बैंकले बैंकहरुलाई एक पटकमा १० प्रतिशतभन्दा बढी ब्याज नबढाउन भनेपछि आक्रामक रुपमा ब्याज बढाएका बैंकहरुले घटाएका छन् ।

तर औसतमा अहिले पनि ब्याजदर महंगो नै देखिएको छ । राष्ट्र बैंककाअनुसार गत वर्ष भदौमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ०.१३ प्रतिशत रहेकोमा २०७८ भदौमा ३.९८ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ भदौमा ०.०८ प्रतिशत रहेकोमा २०७८ भदौमा ४.७५ प्रतिशत रहेको छ । असोज मसान्तसम्म आइपुग्दा अन्तर बैंक ब्याजदर बढेर करिब ५ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ भदौमा ७.८३ प्रतिशत रहेकोमा २०७८ भदौमा ६.८९ प्रतिशत कायम भएको छ । २०७८ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.९२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.६१ प्रतिशत र १०.१८ प्रतिशत रहेका थिए । कात्तिक पहिलो सातासम्म यो बढेको छ ।

प्रकाशित हुन बाँकी तथ्यांकअनुसार १ सय अर्ब रुपैयाँले मात्रै निक्षेप बढ्दा सवा तीन अर्ब रुपैयाँ ऋण लगानी भएको छ । यसमा पनि केही बैंकहरुले ७८ अर्ब रुपैयाँ निक्षेपलाई दोहोरो गणना (मल्टिपल काउन्टिङ) गरेको केन्द्रीय बैंक श्रोतले बताएको छ ।

अभाव चर्काउने प्रमुख कारण

राष्ट्र बैंकका प्रवक्ता समेत रहेका नियमन विभाग प्रमुख देवकुमार ढकाल बैंकहरु अहिले अल्पकालिन स्रोतमा भरपर्दा समस्या देखिएको बताउँछन् । यो समस्याको समाधानका लागि बैंकहरुले दीर्घकालिन स्रोतमै बढी ध्यान दिनु पर्ने उनको सुझाव छ ।

‘स्रोत भनेको निक्षेप हो, स्रोत नै नभई बैंकहरुले कर्जा लगानी धेरै बढाइरहेका छन्,’ कार्यकारी निर्देशक ढकाल भन्छन्, ‘अल्पकालिन श्रोतमा भर पर्ने र श्रोतको जोहो नै नगरी लगानीमा आक्रामक हुँदा समस्या देखिने भइहाल्यो ।’ स्रोत नै नबढाई तत्कालै तरलता समस्या समाधान नहुने समेत उनी बताउँछन् ।

अहिले बजारमा तरलता अभाव हुनुकोको प्रमुख कारण भनेको आयात बढ्नु नै भएको उनले बताए ।  आयात जुन रुपमा बढिरहेको त्यो अनुपातमा एकदमै कम निर्यातको अवस्था छ ।

आयात धेरै बढ्दा विदेशी मुद्राको सञ्चिति घटेको छ । अहिले कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.६ प्रतिशत, ६४.७ प्रतिशत र २५.३ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

‘आयात ठूलो मात्रामा बढ्दा विदेशी मुद्रा सञ्चिति घट्यो, विदेशी मुद्रा बाहिरिँदा तरलतामा चाप परेको हो’ ढकालले भने, ‘भएको रकम लगातार बाहिर जाने र भित्रने रकम कम हुँदा यो समस्या देखिएको छ ।’

यसका लागि बैंकहरु अब संयमित हुन जरुरी रहेको उनको भनाइ छ । दीर्घकालिन स्रोतको व्यवस्थापन नगरी आक्रामक रुपमा कर्जा लगानी बढाउँदै जाने हो भने यो समस्या अझै बढ्न पनि सक्छ ।

तर बैंकहरु संयमित हुने र दीर्घकालिन स्रोतको व्यवस्थापन गर्ने हो भने अहिले देखिएको समस्या समाधान हुने कार्यकारी निर्देशक ढकालले बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment