+
+
संगीत :

‘रमरम मरौटी’का सर्जकको कथा : सरकारी जागिरसँगै लोकगीत लेखन

सुशील नेपाल सुशील नेपाल
२०७८ कात्तिक १३ गते १९:२०

रमरम् मरौटी

तिम्रो रूपै करौंती…

१० महीना अगाडिको कुरा । गायक एवं मोडल खेम सेञ्चुरी, गीतकार नेत्र अर्याल लगायतको टीम सिन्धुपाल्चोकको सुकुटे पुगेको थियो । प्रसङ्ग थियो- उनीहरूकै गीत ‘धोबी बगर’को म्युजिक भिडियो छायाङ्कन ।

केही कलाकार छायाङ्कनमा व्यस्त थिए । खेम सेञ्चुरी, गीतकार नेत्र लगायतको समूह यत्तिकै बसिरहेका थिए । सुनकोशीको तीरमा पहेंलो फूलझैं केही देखे । ‘त्यो के हो ?’ कसैले सोधे । अर्काले जवाफ दिए, ‘मरौटी हो ।’

गीतकार नेत्र मरौटीसँग केही जानकार थिए । नजिकै रहेका खेमले उनलाई भने- मरौटी शब्द टिपिकल हुन्छ, यसमा गीत बनाऊँ ।

‘मरौटी कस्तो हुन्छ ?’ कसैले सोधे । खेमले भने- ‘पर्पर् हुन्छ क्या !’

नेत्रले भने, ‘मरौटी त रमरम् पो हुन्छ ।’

‘ल रमरम् मरौटी भयो, यसको पछाडि जोड्नुस् त’ खेमले नेत्रलाई भने । नेत्रले तुरुन्तै भने, ‘तिम्रो रूपै करौंती’ ।

‘रमरम् मरौटी’ गीत सार्वजनिक हुन भने त्यसको केही समय लाग्यो । बिहीबार अनलाइनखबरको स्टुडियोमा गीतकार नेत्रले गीतबारे भने, ‘यो अकस्मात् सिर्जना भएको गीत हो । तर, लेखेपछि रेकर्ड र भिडियो तयार भएर सार्वजनिक हुन अलि धेरै समय लाग्यो ।’

‘रमरम् मरौटी’ गीत सार्वजनिक भएपछि भने गीत निकै चर्चामा रहृयो । धेरैले बिर्सिसकेको मरौटी शब्दलाई फेरि एकपटक सम्झिए । टिकटकमा यो गीत निकै लोकप्रिय रहृयो । खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र ओबी रायमाझीको अभिनयमा गीत सार्वजनिक भएको एक महीना पुगेको छ । एक महीनामा गीतलाई झण्डै ७० लाख पटक हेरिएको छ ।

उसो त ‘रमरम् मरौटी’का गीतकार नेत्रका यस अगाडि पनि दर्जनौं गीत जनजिब्रोमा झुण्डिसकेका छन् । गत वर्षको तीजमा सार्वजनिक ‘सोचेझैं जिन्दगी रैनछ‘ उनको सर्वाधिक चर्चित गीत मानिन्छ ।

कोरोनाकाल फाप्यो

नेत्रले लोकदोहोरी गीत लेखनको सुरुआत गरेको एक दशक बढी भयो । यो बीचमा एकपछि अर्को गीतहरू लेखिरहेका थिए । त्यसमध्ये केही गीतहरू श्रोता-दर्शकले रुचाएका पनि थिए । तर, उनलाई चिन्नेहरू अलि कम थिए । गत वर्ष भने गीत लेखन र चर्चाका हिसाबले उनलाई निकै फाप्यो ।

सामान्य अवस्थामा वैशाख, जेठदेखि तीज गीतको रेकर्डिङ र छायाङ्कनको काम शुरु हुन्छ । तर, गत वर्ष कोरोना संक्रमण फैलिएका कारण लकडाउन जारी गरिएको थियो । गीत रेकर्डिङ र छायाङ्कनका गतिविधि ठप्पप्रायः थिए । नेत्रलाई पनि तीज गीत तयार गरेर सार्वजनिक गर्ने वातावरण होला जस्तो लागेको थिएन ।

उनको गायक एवं संगीतकार खेम सेञ्चुरीसँग पहिल्यैदेखि सहकार्य हुँदै आएको थियो । सोही लकडाउनको बीच नेत्र, खेम र शुभारम्भ डिजिटलका शम्भु कुवँरबीच तीज गीत ल्याउनेबारे सर-सल्लाह भयो । नेत्रले गीत लेखे, खेमले संगीत भरे, खेम र बालगायिका कमला घिमिरेले गाए । लकडाउन केही खुकुलो भएपछि छायाङ्कन गरेर भिडियो सहित तीज गीत सार्वजनिक भयो- ‘लरी लरी लै’ ।

‘त्यो गीत सार्वजनिक भएपछि अरूले पनि तीज गीतको तयारी थाल्नुभयो । सो गीतले एक हिसाबको तीजको माहोल लिएर आयो । त्यसलाई सबैतिरबाट प्रतिक्रिया पनि राम्रो मिल्यो’ उनी सुनाउँछन्, ‘त्यसपछि मलाई गीत लेख्न भन्नेहरू एकदमै बढ्नुभयो ।’

नेत्रले त्यसपछि लेखेको कोरोना महामारी सम्बन्धी गीत ‘तीज महामारी काण्ड’लाई पनि श्रोता एवं दर्शकले रुचाए । उनले एकपछि अर्को तीज गीत लेखिरहे । गत वर्ष आफूले लेखेका डेढ दर्जन तीज गीत सार्वजनिक भएको नेत्रले सुनाए ।

त्यसमध्ये ‘सोचे झैं जिन्दगी रैनछ’ सबैभन्दा बढी बजार तताएको गीत हो । यस वर्षको तीजमा समेत यो गीत घन्काउनेहरू प्रशस्त रहे । तीजपछि अन्य लोकदोहोरी गीत लेख्नका लागि पनि उनलाई भ्याई-नभ्याई भयो ।

गत वर्ष नै उनले लेखेको लोकदोहोरी गीत ‘झ्यालमा पर्दा छ‘ ले पनि करोड बढी भ्यूज पायो । ‘गत वर्ष मैले लेखेका १०० बढी गीत सार्वजनिक भए । तीनवटा गीतले करोड बढी भ्यूज पाए’ नेत्र उत्साहित हुँदै भन्छन्, ‘संख्यात्मक हिसाबले मेरो सबैभन्दा धेरै गीत आएको, सबैभन्दा धेरै गीत चलेको र म पनि केही ‘नोटिस’ भएको वर्ष २०७७ हो ।’ सांगीतिक हिसाबले आफूलाई गत वर्ष निकै राम्रो भएको उनले सुनाए ।

यस वर्ष पनि उनले थुप्रै गीत लेखिसकेका छन् । तीजमा मात्रै पनि डेढ दर्जन बढी तीज गीत लेखे । त्यसमध्ये ‘आफ्नो आफ्नो करिम’, ‘यस्तै हो संसार’, ‘लरी लरी लै-२’ ‘मरिन्छ कि साइँलो’ लगायतले राम्रै प्रतिक्रिया पाए ।

तीज बाहेक दुई महीना अगाडि ‘ए नि बरै’ बोलको गीतलाई श्रोता-दर्शकले रुचाए । एक महीना अगाडि सार्वजनिक भएको ‘रमरम् मरौटी’ अत्यधिक रुचाइयो । तीन साता अगाडि सार्वजनिक ‘धनगढीको बसमा’ गीतले पनि युट्युबमा राम्रो भ्यूज पाइरहेको छ । केही दिन अगाडि मात्रै उनले लेखेको ‘राजाको दरबार’ बोलको गीत सार्वजनिक भएको छ । त्यस्तै, बुधबार मात्रै ‘तिहारै रमाइलो’, बिहीबार ‘मन परेको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । अन्य केही गीतहरू सार्वजनिकको तयारीमा रहेको अर्यालले जानकारी दिए ।

खुमनको त्यो फोन

नेत्रलाई सानैदेखि सांगीतिक माहोल मनपर्थ्यो । गुल्मी, ईश्मा दोहोलीमा जन्मे-हुर्केका उनी गाउँमा भजन, कीर्तन वा अन्य पूजाआजामा पुगेर नाचगानको माहोलमा रमाउँथे । स्कूलमा कविता सुनाउने, गीत गाउने गर्न थाले । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा कलेज पढ्दा पनि सांगीतिक कार्यक्रममा गीत गाएर पुरस्कार समेत हात पारेका थिए ।

उनी स्थानीय पत्रपत्रिकामा समाचार, लेख, रचनाहरू पठाउँथे । जिल्ला-जिल्लामा रेडियो खुल्ने लहर चलिरहेको थियो । सोहीबखत उनलाई रेडियोमा बोल्ने रहर पनि नलागेको होइन । रेडियोमा बोल्ने रहरकै खातिर उनी छिमेकी जिल्ला पाल्पासम्म पुगेर श्रीनगर एफएममा अन्तर्वार्ता समेत दिएको बताउँछन् । उनका अनुसार आफूलाई ‘आफ्नो नाम कसैले सुनोस्’ भन्ने लाग्थ्यो रे !

‘प्लस टु’ सकेपछि भने नेत्र बाँकी अध्ययनका लागि काठमाडौं आए । काठमाडौं आएपछि पनि उनी रेडियोमा सांगीतिक कार्यक्रमहरू सुनिरहेका हुन्थे । रेडियोमा गीत प्रसारणका क्रममा आउने गायक-गायिका, गीतकार, संगीतकारको नामले उनलाई तान्थ्यो । ‘गीत लेख्न पाए, गाउन पाए मेरो नाम पनि रेडियोमा आउँथ्यो’ – उनको मनमा खेलिरहन्थ्यो ।

गायक मीन दर्लामीसँग उनको चिनजान थियो । मीन र नेत्रको घर वारिपारि पर्छ । अर्यालले आफ्नो रहर दर्लामीसँग सुनाए । दर्लामीले एउटा गीत ‘ट्रायल’का लागि लेख्न लगाए । नेत्रले लेखेर पठाए, केही शब्दहरू गीतमा परे तर आफ्नो नाम आएन । सोही गीतका शब्द गायक खुमन अधिकारीले हेरेका रहेछन् । उनले सांगीतिक क्षेत्रकै व्यक्तिसँग अर्यालको नम्बर मागेर फोन गरेछन् ।
‘उहाँले फोन गर्दा निकै खुशी भएँ । फोन गरेर एउटा गीतको थेगो टिपाउनुभयो र पर्सिसम्मको समय दिएर गीत तयार गर्न लगाउनुभयो’ नेत्र सम्झन्छन् ‘मैले अर्को दिन साँझसम्म गीत तयार पारेर पठाएँ ।’

सो गीत थियो- फूल फूलेर डाली नुगेसी । यो गीत बजारमा आयो । त्यसपछि गायक खुमनले नै थेगो दिएर अर्को एउटा गीत लेख्न लगाए । सो गीत ‘बिन्ती मेरो कोटिकोटिमा’ थियो । विष्णु माझी र खुमन अधिकारीको स्वर रहेको सो गीतले राम्रो चर्चा पाएको थियो । सो समय रेडियोमा नाम र क्यासेटमा तस्वीर आउँदा निकै खुशी मिलेको उनले सम्झिए ।

‘खुमन दाइसँग मेरो राम्रो ट्यूनिङ मिल्यो । उहाँले मलाई लेखनमा हौसला दिनुभयो । त्यसपछि केही तीजगीत लेखें । ती गीतहरू पनि राम्रो चले’ उनीले भने ।

खुमन अधिकारी र सुनिता दुलालको स्वर रहेको ‘अब त मैले नि झुम्का लगाउँछु’, खुमन अधिकारी र रमिला न्यौपानेको स्वर रहेको ‘अब त भेट्न आउँदिन है कालु’ लगायत आफूले लेखेका तीज गीतहरू रुचाइएको उनले सुुनाए । ‘ए हावा जाउ, ए बादल जाउ’ ‘दिलमा त अर्कैलाई सजाएकी रैछउ’ हुँदै ‘बाच्छीले धान खायो’, ‘फूलमती-चनमती’, ‘औंठी बेरुवाको’ जस्ता गीतहरू पनि राम्रै चलेको अर्यालले बताए ।

नेत्रलाई गीत गाउनमा पनि रुचि थियो । उनले रहरकै लागि केही गीतहरू गाएका पनि छन् । तर, आफूले गाउँछु भन्ने सपना त्यतिबेलाबाटै हराइसकेको थियो, जतिबेला प्रोफेसनल गायकको स्वर प्रत्यक्ष सुने ।

उनीहरूको स्वरलाई आफ्नो स्वरसँग तुलना गरे र आत्ममूल्यांकन गरे, ‘म गाउनमा योग्य रहेनछु, मलाई लेखन नैै ठीक छ । लेखनमै राम्रो गर्ने प्रयास गर्छु ।’ हालसम्म आफूले लेखेका ५०० बढी गीत सार्वजनिक भइसकेको उनको दाबी छ । हिजोआज महीनामा उनले लेखेका ८ देखि १० वटा लोकदोहोरी गीत सार्वजनिक भइरहेका हुन्छन् ।

निजामती सेवासँगै गीत रचना

धेरैलाई जानकारी नहुन सक्छ, नेत्र सरकारी जागिरे हुन् । उनी २०७४ सालदेखि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहलमा नायब सुब्बाका रूपमा कार्यरत छन् ।

एकपछि अर्को गीत लेखिरहेका थिए । गीत लेखेर केही पैसा आइरहेको हुन्थ्यो । तर, पारिश्रमिक डिमाण्ड गर्ने अवस्था बनिसकेको थिएन ।

‘गीत ठीकै चले पनि मान्छे चलेको थिइनँ । व्यक्ति नोटिस नहुँदा खुलेर डिमाण्ड गर्ने अवस्था थिएन’, उनी विगत सम्झँदै भन्छन् । त्यतिबेला दुःखजिलो गरी जीवन चलिरहेको थियो । परिवारको भनाइ थियो- ‘सांगीतिक क्षेत्र छोड भनेको होइन, तर अरु केही जागिर भयो भने सहज हुन्छ ।’

स्वयंले पनि सोचे, यसरी नै संघर्ष गरिरहनुपरे भविष्यमा गाह्रो हुन्छ । आफूसँग पढाइ थियो, ‘मास्टर्स’ पूरा गरेका थिए । उनले निजामती सेवामा प्रवेशका लागि ‘ट्राइ’ गरे, राम्रो तयारी गरेर परीक्षा दिए । नाम निस्कियो ।

अहिले उनी दिउँसो कार्यालयको काममा हुन्छन् । बिहान-साँझको समय गीत लेखनमा छुट्याउँछन् । एक कामले अर्कोमा असर भने कहिल्यै नगरेको उनले सुनाए ।

गीतकारलाई अहिले राम्रो छ

अहिले पहिलेभन्दा गीत लेखेर कमाइ अलि राम्रो हुने गरेको उनले बताए । भन्छन्, ‘अहिले केही राम्रो छ । धेरैले आफैं पारिश्रमिकबारे सोध्नुहुन्छ । कतिले पहिल्यै पनि पारिश्रमिक दिनुहुन्छ ।’ कतिपयसँग भने सम्बन्ध, टीमका आधारमा कम्प्रोमाइज पनि हुने गरेको अर्यालले बताए ।

उनी गीत किन लेख्छन् ? लेख्नका लागि कस्तो माहोल चाहिन्छ ? नेत्रको सपाट जवाफ छ- गीत लेख्दा मलाई सन्तुष्टि मिल्छ । मनको सन्तुष्टिका लागि रचना गर्दा त्यसले आर्थिक रूपमा पनि राम्रो हुने गरेको बताउँछन् । उनी जस्तो माहोलमा पनि गीत लेखिदिन्छन् । उनले सुनाए- ‘बिहान, साँझ, दिउँसो, एकान्तमा भन्ने हुँदैन । म प्रेसरमा पनि गीत लेख्न सक्छु । अफिस हुँदा खाजा खाने समयमा केही मिनेट समय पाएँ भने त्यहीं पनि लेख्न सक्छु ।’

उनी गीत लेखेर ‘स्टक’मा खासै राख्दैनन् । जसलाई गीत चाहिने हो, लेखिदिन अफर आएपछि मात्रै तयारी गर्छन् ।

कसैले विश्वास गरेर गीत लेख्न लगाएपछि राम्रो लेख्न भने भरपूर प्रयास गर्छन् नेत्र । गीत लेख्दा मुख्य थिममा ध्यान दिने गरेको उनले बताए । गीतले सकेसम्म नकारात्मक सन्देश नदेओस् भन्ने कुरामा विशेष ध्यान दिने गरेको उनले बताए ।

शब्द चयन गर्दा सरलतामा गहनता खोज्ने गरेको बताए । सोही कारण अधिकांश गीत बोलीचालीमा प्रयोग भइरहने सरल शब्द, सबैले बुझ्ने खालका रहेका छन् । उनले मायाप्रेम, समसामयिक, सन्देशमूलक सबैखाले गीत लेखेका छन् । उनले भने, ‘लगानीकर्ताले बजारको ‘ट्रेन्ड’ अनुसारको गीत खोज्नुहुन्छ । त्यसमा मायाप्रेमका गीत बढी भैहाल्छ । सन्देशमूलक केही गीतहरू पनि लेख्न पाएको छु, खुशी छु ।’

कुन गीत चल्छ भन्नेबारे भने पत्तो नहुने उनले सुनाए । नेत्रले कतिपय अपेक्षा गरेका गीतहरू नचलेको, कम अपेक्षा भएका गीतहरू राम्रो चल्ने गरेको पनि सुनाए । कहिलेकाहीं भने अपेक्षा अनुसार हुने गरेको बताए ।

‘गत वर्ष सोचेझैं जिन्दगी रैनछ बोलको गीत दर्शक-श्रोताले त्यति धेरै रुचाउनुहोला भन्ने अपेक्षा थिएन । निकै राम्रो चल्यो । अहिले रमरम् मरौटी ठीकै चल्ला भन्ने थियो, सोही अपेक्षा अनुसार श्रोता-दर्शकले रुचाउनुभयो’, कुराकानीको बिट मार्ने क्रममा उनले सुनाए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment