+
+

मरीच, केराउ र सुपारी आयातमा पूर्ण बन्देज !

महंगा सवारी साधन आयातमा पनि कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते २०:५८

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मरीच, केराउ र सुपारी आयातका लागि विदेशी मुद्रा सटही गर्न रोक लगाएको छ । पछिल्लाे समय आयात धेरै बढेका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको छ । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले १७ असोजमा यस्ता सामानहहरु आयात गर्न विदेशी मुद्रा सटही नगर्ने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको थियो ।

शुक्रबार भने राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गर्दै कोटा तोकेको थियो । १० हजार मेट्रिक टन मरीच, ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी मात्र आयात हुन दिने गरी शुक्रबार सर्कुलर जारी गरिएको थियो ।

यो निर्णयलाई राष्ट्र बैंकले रातारात सच्याएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार परिमाण तोकेर खुला गर्ने निर्णय गरिएको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग असन्तुष्टि जनाएको थियो । असन्तुष्टि अर्थमन्त्रीसम्म पुगेपछि गभर्नर महाप्रसाद अधिकारीले तत्कालै नयाँ सर्कुलर जारी गर्न भनेका थिए ।

शनिबार राष्ट्र बैंक बिदा हुने भएपनि नयाँ सर्कुलर जारी गरिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले एकीकृत परिपत्र २०७६ संशोधन भएको जानकारी दिंदै शुक्रबार जारी भएको सर्कुलर खारेज भएको बताएका छन् । कार्यकारी निर्देशक पौडेलले जारी गरेको परिपत्र अनुसार अब मरीच, केराउ र सुपारी आयातका लागि एक रुपैयाँ पनि विदेशी मुद्रा सटही हुने छैन । यसको अर्थ यी वस्तुहरु नेपाल आयात हुने छैनन् ।

यसैगरी महँगा गाडी आयातमा पनि राष्ट्र बैंकले कडाइ गरेको छ । श्रोतका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधन आयातमा रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?