
१४ कात्तिक, डोटी । डोटीको आदर्श गाउँपालिका र शिक्षकबीच सहमति भएको छ । वृद्धि भएको कर्मचारी र बाल विकास सहजकर्ताको सरकारको निर्णय पालना नगरेको भन्दै शिक्षक तथा कर्मचारीहरुले आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।
शिक्षकको चेतावनीपछि आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा गाउँपालिकाले वृद्धि भएको सेवा सुविधा दिने सहमति भएपछि आन्दोलन फिर्ता लिएको ट्रेड युनियनका अध्यक्ष तथा महादेवेश्वरी आधारभूत विद्यालयका शिक्षक काशीराम पाठकले बताए । उनले भने, ‘सरकारले गरेको निर्णय अनुसार तलब वृद्धि नभएपछि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका थियौं । तर सहमति जुटेपछि हाम्रो निर्णय फिर्ता लिएका छौं ।’
गाउँपालिकाले विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताको वृद्धि भएको तलब साउनदेखि दिने सहमति भएको गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायाले बताए ।
सरकारले तलब वृद्धि गर्ने निर्णय गाउँपालिकाको बजेट तयारीभन्दा ढिला भएकोले समस्या भएको बताए । ‘सरकारको निर्णय हामीले पालना नगर्ने भन्ने हुँदैन । तर असारमा हाम्रो बजेट तयार भयो सरकारले साउनमा निर्णय सुनाउँदा समस्या भएको हो’ उनले भने, ‘अब स्थानीय स्रोतबाट उठ्नुपर्ने रकम उठेपछि खातामा हाल्ने सहमति भएको छ ।’
गाउँपालिका र आन्दोलनरत शिक्षकको सहमतिपछि विद्यालय नियमित पठनपाठन भइरहेको छ । गाउँपालिकाभित्र माध्यामिक र आधारभूत गरी ३४ वटा विद्यालय रहेका छन् ।
प्रतिक्रिया 4