News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम विज्ञान विभागले असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
- विभागले ती जिल्लामा पहेँलो रंगले संकेत गर्दै नदी तथा खोलानालामा जलसतह बढ्न र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ।
- चितवनको कालीखोला वर्षा मापन केन्द्रमा गएराति ४१.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
५ असोज, काठमाडौं । नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेर यो जानकारी दिएको हो ।
सूचनामा उल्लेख भएअनुसार असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
चितवनमा भने मध्यम वर्षाको सम्भावना छ । गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा मापन भएको थियो ।
रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रंगले संकेत गरेर मौसमबारे अध्यावधिक रहन महाशाखाले भनेको छ ।
गत भदौ १० गतेको भोटेकोशी बाढीपछि तहसनहस भएको सडक सन्जाल पुन:स्थापित गर्दै विपद व्यवस्थापनको काम चलिरहेकाले ती जिल्लामा रहेकाहरुलाई मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन भनिएको छ ।
वर्षाका कारण ती जिल्लाका नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको हो ।
साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने भन्दै मौसमविद्हरूले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह पनि गरेका छन्।
यसबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकमा समेत छलफल भएको थियो । सो बैठकले वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया 4