+
+

जीवनभर भारतमा दुःख गरेर हुर्काएको १८ जनाको परिवार क्षणभरमै गुमाएका गगने

जनक विष्ट जनक विष्ट
२०७८ कात्तिक १४ गते १४:३९

१४ कात्तिक, धनगढी । गगने सार्कीको कर्मथलो भारतबाट दशैंको टीकाको दिन फोनमा परिवारसँग भलाकुसारी भएको थियो । करिब डेढ घण्टासम्म श्रीमती, छोराबुहारी र नातिनातिनासँग कुरा गरेका गगनेले बिसु पर्व (नयाँ वर्ष) मनाउन चैतको अन्तिमतिर घर फर्किने सल्लाह गर्दै फोन राखे ।

फोनबाटै छोराबुहारी र नातिनातिनालाई आर्शिवाद दिएका उनले एक वर्षभित्रै घरको ऋण तिरेर थप जग्गा–जमिन जोड्ने योजना बनाएको खुशीको कुरा पनि परिवारका सदस्यलाई सुनाएका थिए । तर घरपरिवारसँग भविष्यका योजनासहितका खुशी बाँडेको केही दिनपछि भने परिवारसँगको सम्पर्क एकाएक टुट्यो ।

सुदूरपश्चिममा भारी वर्षा भइरहेको समाचार सुनेका गगनेलाई शुरुमा त पहाडमा नेटवर्क नहोला भन्ने लाग्यो । तर जब चार/पाँच दिनसम्म फोनको स्वीच अफ हुँदा उनको मनमा चिसो पसिसकेको थियो । नभन्दै पाँच दिनपछि कल्पना नै नगरेको अपत्यारिलो खबर आइपुग्यो, बझाङमा पहिरोले परिवारका १८ जना बगायो ।

असोज ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले बझाङको थलारा गाउँपालिका–४ डिख्लास्थित गगनेको घर बगायो । पहिरोले घर मात्र बगाएन, ३५ वर्षदेखि भारतमा मजदुरी गरेर सुख-दुःख गर्दै हुर्काएका श्रीमती, छोराबुहारी र नातिनातिनासहित १८ जनाको परिवार क्षणभरमै बेपत्ता पारिदिएको खबर सुन्दा उनी छाँगाबाट खसेजस्तै भए ।

शुरुमा त गगनेलाई पत्यार लागेको थिएन, तर नपत्याएर पनि साध्य थिएन । अन्ततः उनले विश्वास गर्नैपर्ने भयो । २२ वर्षको उमेरदेखि भारतमा रोजगारी गरेर पाँच जना छोरालाई हुर्काएका गगने अहिले ५७ वर्षका भए । २३ जनाको संयुक्त परिवारका अभिभावक रहेका गगनेले जीवनमा यति ठूलो बज्रपात आइपर्छ भनेर कहिल्यै कल्पना पनि गरेका थिएनन् । श्रीमतीसँगै छोराबुहारी र नातिनातिना खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा पहिरोमा पुरिएको खबर पत्याउन विवश भएका उनी परिवार सम्झिँदै भक्कानो छाडेर रुन्छन् ।

‘गाउँले साथीभाइले घर जाऊ भनेपछि आए, अब घर गएर कसलाई भेट्ने, कहाँ बस्ने ? के खाने ?,’ गगनले भक्कानिँदै अनलाइनखबरसँग भने, ‘पागल भइसकेको थिए, आफ्नै दाजुभाइहरुले बचाएर ल्याए । जीवनभर दुःख गरेर हुर्काएका छोरा, नातिनातिना, बुहारी र श्रीमती एकै चिहान भए । मेरा लागि आफ्नै घर घाट भयो ।’

२२ वर्षको उमेरदेखि भारतमा रोजगारी गरेर पाँच जना छोरालाई हुर्काएका गगने अहिले ५७ वर्षका भए । २३ जनाको संयुक्त परिवारका अभिभावक रहेका गगनेले जीवनमा यति ठूलो बज्रपात आइपर्छ भनेर कहिल्यै कल्पना पनि गरेका थिएनन् ।

२३ जनाको सिङ्गो परिवारका सपना बोकेर भारतमा दुःख गरिरहेका गगनेका साइलो छोरा सुरेश सकुशल छन् तर उनका श्रीमती र छोराछोरी पनि पहिरोले बेपत्ता पारिदिएको छ । हालसम्म चार जनाको शव भेटिएकाले अन्य पनि जीवितै भेटाउने आशा गगनेले मारिसकेका छन् ।

बझाङ घरमै रहेको जेठो छोरा कलकबहादुर सार्कीले भागेर आफ्नो ज्यान त जोगाए तर उनले पनि श्रीमती र छोराछोरी गुमाएका छन् । कान्छो छोरा रामबहादुर र उनकी श्रीमती भने दशैं मनाउन ससुराली घर गएका कारण जोगिएका छन् । गगने अहिले तिनै सकुशल रहेका तीन छोरा र एक बुहारीको मुख हेरेर पीडा बिर्सिने कोशिश गरिरहेका छन् ।

रातदिन उनका आँखाबाट अश्रुधारा बगिरहेकै छन् । ‘दशैं टीकाको दिन डेढ घण्टासम्म मेरो श्रीमती, छोराबुहारी र नातिनातिनासँग कुराकानी गरेको थिए । सबै ठीकै थियो हजुर,’ गहभरिका आँशु थाम्दै उनले भने, ‘पाँच दिनपछि मात्र यस्तो घटना भएको थाहा पाए । अब म एक्लै बाँचेर के गरुँ ?’

०००

१८ जनाको परिवारसँगै घर, जग्गा–जमिनसहित दुःख गरेर जोडेको भौतिक सरसम्पत्ति सबै गुमाएका गगने पीडासँगै चिन्तामा पनि छन् । भाग्यबस ज्यान जोगाएका तीन जना छोरा र बुहारीको भविष्य रेखा कोर्ने जिम्मेवारी फेरि पनि उनकै काँधमा छ । पहाडमा आफ्नो मात्र होइन, गाउँलेको जग्गा अधिया (अर्काको जग्गामा आफूले खेतीपाती गर्ने) बनाएको जग्गा जमिन पनि पहिरोले बगाएको छ ।

भारतबाट शनिबार उनी घर त फर्किएका छन्, तर कहाँ बस्ने ? के खाना ? भन्ने चिन्ताले समेत सताएको छ । यो समाचार तयार गर्ने बेलासम्म बझाङ जान यात्रामै रहेका उनले भने, ‘मेरो न घर रह्यो, न परिवार नै । आफ्नो त गयो गयो गाउँले दाजुभाइको अधिया बनाएको जग्गा पनि रहेन । यहाँबाट गएर कहाँ बस्ने भन्ने चिन्ता परेको छ ।’ बाँचेको परिवारलाई ओत लाग्ने ठाउँ पनि नभएकाले ठूलो समस्यामा परेका उनी अलमलमा छन् ।

‘सरकारसँग धेरै ठूलो त होइन सानो अपेक्षा छ, कि ओत लाग्ने ठाउँको व्यवस्था गरिदेऊ,’ उनले भने, ‘तीन जना छोरा र बुहारीलाई ओत लाग्ने ठाउँ पनि बाँकी छैन । सानो कुटी बनाउनका लागि सरकारले थोरै भएपनि जग्गाको जोहो गरिदिए आभारी हुने थिएँ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?