+
+

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक छ : राष्ट्रपति भण्डारी

रासस रासस
२०७८ कात्तिक १४ गते १७:१३

१४ कात्तिक, रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएकी छिन् ।

उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजार गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताइन् ।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्ने विषयलाई स्वभाविक रुपमा लिएर काम अघि बढाउनुपर्ने बताइन्।

‘यहाँ योग र ध्यान जस्ता साधाना तथा खोज र अनुसन्धान गर्नसक्ने परिवेशसहितको बुद्ध संस्कृतिसँग जोडिएका स्तुप र आकर्षक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्य दिनुपर्छ’, उनले भनिन्। यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्ने बताउँदै उनले यसले गर्दा स्थानीय समुदायको समृद्ध जीवनमा सहयोग पुग्ने उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रुपमा विकास गर्न दृढ सङ्कल्प लिनुपर्ने बताइन्।

लुम्बिनी क्षेत्रमा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको काम सम्पन्न भएपछि संसारका बौद्धमार्गीलाई अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले यसको निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनले बताइन्।

विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको उल्लेख गरे । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताइन्।

देश समुन्नतिको दिशामा अगाडि बढिरहेको अवस्थामा विकासको महाअभियानलाई सार्थक तुल्याउन अग्रसर बन्नुपर्ने उल्लेख गर्दै उनले यहाँको भौतिक पूर्वाधारको विकासले यहाँका जनताको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने बताइन्।

यस्तै प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल निर्माणको कामलाई छिटो पूर्णता दिन आवश्यक रहेको बताए। उनले विमानस्थलको काम अविलम्ब सम्पन्न गरी उद्घाटन गर्ने अवस्थामा पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

बुद्धको त्याग र तपस्या नेपालीका लागि अनुकरणीय रहेको उनले बताए। उनले बुद्धको ज्ञानलाई व्यवहारिक जीवनमा अनुशरण गर्न आवश्यक रहेको बताउँदै यसले समाज परिवर्तनमा सहयोग पुग्ने धारणा राखे।

गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने कुरा संसारभर स्थापित भएको उल्लेख गर्दै अब बुद्धको दर्शन र ज्ञानलाई व्यवहारिक प्रयोगमा लयाउने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

नेपाल सामाजिक, धार्मिक, सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएको बताउँदै गृहमन्त्री खाँणले यो नेपालको महत्वपूर्ण विशेषता र सम्पदा भएको बताए । ‘एकले अर्कोलाई सम्मान गर्ने हाम्रो परम्परा हो यो विश्वमै अनुकरणीय छ । यसलाई विमानस्थलमा राखिएको महाकरुणा मूर्तिले थप बल प्रदान गर्ने छ’, उनले भने।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गौतमबुद्धले दिएको शान्ति र अहिंसाको सन्देश अहिले पनि उत्तिनै सान्दर्भिक रहेको बताउँदै बुद्ध दर्शनले बाह्य मुलुकलाई नेपाल र नेपालीसँग जोड्ने काम गरेको बताए ।

विज्ञान र प्रविधिमा भएको विकास तथा अस्त्र र शस्त्रको निर्माणले मानवजातीलाई असर गरेको उल्लेख गर्दै हत्या र हिंसाले शान्ति सम्भव नहुने भएकाले विकास शान्ति, विकास र समृद्धिमा केन्द्र हुनुपर्ने धारणा राखे ।

स्पेनका सभामुख बलान्का मार्टिक डेल्गाडोले बुद्ध र शान्तिको सन्देशले स्पेन र नेपाललाई जोड्ने अभियानमा रहेको बताइन् । उनले नेपालमार्फत एशियामा राम्रो सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गरिन् ।

लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोसे म्यानुअल भियानोले बुद्ध संस्कृति र दर्शनलाई विश्वभर चिनाउन दुई देशको सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

करीब रु दुई अर्ब ५० करोड बराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हो ।

सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो । एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ ।

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा ल्याएको थियो।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?