
१४ कात्तिक, लुम्बिनी। काठमाडौं महाननगरपालिकाको सहयोगमा लुम्बिनीमा बनेको नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहारको उद्घाटन गरेकी हुन् ।
विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन् । ‘म एउटै कुरा भन्छु, गौतमबुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समूदायका लागि अमूल्य विचार दिनुभयो, बुद्ध दर्शनको मर्म र भावना अनुसार हामी चल्न सक्नुपर्छ त्यो मर्म र भावना अनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए । ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौं महानगले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यहि अनुसार सहयोग गरेका हौँ ।’ उनले आज सम्माननीय राष्ट्रपतिबाट उद्घाटन हुँदै गर्दा खुशी लागेको पनि बताए ।
‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ,’ प्रमुख शाक्यले भने, ‘तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाले आफ्नो महानगरपालिकाको मौलिकतासँग पनि मिल्ने विहार भएकाले काठमाडौंको संस्कृति झल्किने गरी बनाइरहेको विहालाई सहयोग गरेको हो।
हाम्रो सहितको सहयोगमा मौलिकता झल्किने गरी विहार बनेको देख्दा गौरव लागेको छ ।’ शाक्यले काठमाडौं महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको बताए ।
बिहारमा काठमाडौं महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।
नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करीब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए ।
प्रतिक्रिया 4