+
+

प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको निर्णय

कांग्रेससँग आलोपालोबारे निर्णय भएन

हरि अधिकारी हरि अधिकारी
२०७८ कात्तिक १४ गते १९:४६

१५ कात्तिक, विराटनगर । प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सारेको छ ।

आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेशसभा १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

गत भदौ १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । सोमबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय भएको पनि ओङ्बोले जानकारी दिए ।

आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको गठबन्धनले प्रदेश प्रमुखबाट आह्वान भएपछि राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

बैठकले मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्ति पछि छलफल गर्ने निर्णय गरेको आङ्बोले बताए ।

मुख्यमन्त्रीमा काङ्ग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको छ । काङ्ग्रेसको मागका विषयमा गठबन्धनमा रहेका दलहरुले शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेका छन् ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने निर्णय भएको बताए । आलोपालोको विषय काङ्ग्रेसको आन्तरिक विषय रहेको उनले बताए ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।

गठबन्धनमा रहेको काङ्ग्रेसँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?