+
+

एमाले अध्यक्ष ओली चितवन आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:४७

१५ कात्तिक, चितवन । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार चितवन आउँदै छन् ।

ओली जिल्लामा हुने अरु विभिन्न कार्यक्रममा पनि सहभागी हुने नेकपा एमाले चितवनले जनाएको छ । स्थलमार्गबाट चितवन आउन लागेका ओलीले इच्छाकामना गाउँपालिकाको मुग्लिन, चितवन दासढुंगामा झरेर स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको शालिकमा फूल चढाउने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीको स्वागतका लागि भरतपुरबाट एमाले कार्यकर्ताहरु मुग्लिन, दासढुंगासम्म पुगेका छन् । राष्ट्रिय युवा संघ चितवनले भरतपुर–२९ को दासढुंगाबाट मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

भरतपुर आएर अध्यक्ष ओलीले एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने नारायणी नदी किनारको अवलोकन गर्ने एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । त्यसपछि भरतपुरको हाकिमचोकस्थित चितवन मिडटाउन रिसोर्टमा हुने एमाले भरतपुर महानगर कमिटीको पहिलो अधिवेशनको उद्घाटन समारोहमा ओली सहभागी हुने एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानले बताए ।

ओलीको स्वागतका लागि भरतपुरबाट एमाले कार्यकर्ताहरु मुग्लिन, दासढुंगासम्म पुगेका छन् । राष्ट्रिय युवा संघ चितवनले भरतपुर–२९ को दासढुंगाबाट मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

अधिवेशनमा सहभागी हुने एमाले स्थायी कमिटीका सदस्य रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे चितवन आइसकेका छन् । थापा र पाण्डे एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटीका संयोजक र सहसंयोजक हुन् ।

भरतपुरको अधिवेशन उद्घाटनपछि एमाले पार्टी कार्यालय मदनपुरमा दशौं राष्ट्रिय मूल व्यवस्थापन समितिको सम्पर्क कार्यालयको शुभारम्भ अध्यक्ष ओलीले गर्ने कार्यक्रम छ ।

त्यसलगत्तै एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र हुने सौराहाको अवलोकनका लागि ओली त्यसतर्फ जाने एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

ओली रामधाम माडी अयोध्यापूरी पुग्ने

दुई दिने चितवन बसाइका क्रममा एमाले अध्यक्ष ओली माडीको अध्योध्यापुरीस्थित रामधाम मन्दिरमा पुग्ने भएका छन् । आफू प्रधानमन्त्री हुँदा गत वैशाखमा उनले माडी अध्योध्यापुरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ती प्रतिस्थापन गर्न लगाएका थिए ।

रामको जन्म चितवनको माडी अध्योध्यापुरीमा भएको दावी ओलीले गर्दै आएका छन् । एमाले अध्यक्ष ओली अयोध्याधाम आउने कार्यक्रम निर्धारण भएपछि नेकपा एमाले माडी नगर कमिटीले ५ वटा उपसमितिहरु गठन गरेर तयारी गरेको एमाले माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यले बताए ।

कार्यक्रम व्यवस्थापन उपसमितिमा श्यामकुमार विष्ट, प्रचार प्रसारमा श्रीप्रसाद दवाडी, मञ्च र साउण्ड व्यवस्थापनमा रामेश्वर चौधरी, स्वागत सत्कारमा कृष्णराज अधिकारी, युवा परिचालनमा सूर्य भण्डारीलाई संयोजक बनाइएको छ ।

माडीका नौ वटा नै वडा कमिटीले सडकमा फूलमाला र घडा राख्ने प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले बताए । अध्योध्यापुरीमा सभाको समेत आयोजना गरिएको छ ।
माडी अध्योध्यापुरी जानुअघि उनले भरतपुर महागनरपालिका वडा नं. १६ मा निर्माणधीन मिनी पानीजहाजको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?