+
+

न्यायालयबारे देव गुरुङले भने : प्रधानमन्त्री फर्किने बेलासम्म कुर्छाैं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १७:०५

१५ कात्तिक, काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा युरोप भ्रमणबाट फर्किएलगत्तै सर्वाेच्च अदालतमा देखिएको समस्याबारे छलफल गर्ने बताएका छन् ।

उनले न्यायालय सुधारका लागि उठेका विषय सही र जायज भएकाले आवश्यक परेको बेला संसदमा पनि छलफल हुनुपर्ने बताए ।

‘अहिले सर्वाेच्च अदालतमा जे जस्ता विषयहरु उठेका छन्, त्यहाँका न्यायाधीशहरु, पूर्व प्रधानन्यायाधीशहरु र विभिन्न कानुन व्यवसायीहरुले जुन कुरा उठाएका छन् सुन्दाखेरि ती कुरा जायज र सही नै देखिन्छन्,’ गुरुङले अनलाइनखबरसँग भने, ‘न्यायालयको समस्या न्यायालयकै नेतृत्वले समाधान गर्नुपर्छ भन्ने अहिलेसम्मको कुरा हो । त्यसैले प्रधानमन्त्रीज्यू नफर्किदासम्म हामीले त्यहीबाट निकास निस्कियोस् भन्ने अपेक्षामा छौँ ।’

नेता गुरुङले त्यतिन्जेलसम्म पनि अदालतको समस्याको निकास ननिस्किए सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषदमा भागवण्डा खोजेको, न्यायालय सुधारको काम गर्न नसकेको लगायतका विभिन्न कारण देखाउँदै सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसन र न्याय क्षेत्रका विभिन्न व्यक्ति र संस्थाहरुले उनको राजीनामा माग गरेका छन् । तर प्रधानन्यायाधीश जबरा राजीनामा नदिने अडानमा छन् । नेपाल बार एशोसिएसनले त जबराको राजीनामा माग गर्दै प्रदर्शन सुरु गरिसकेको छ । यस्तो बेलामा राजनीतिक दलहरु भने चुप छन् ।

नेता गुरुङले न्यायालयमाथि गम्भीर प्रश्न उठिरहेका बेला राजनीतिक दल र नेताहरु चुप लाग्दा प्रश्न उठ्नु स्वाभाविक भएको बताए । त्यसैले प्रधानमन्त्री फर्किने बेलासम्म पनि न्यायालयमा केही समाधान ननिस्किए दलहरु अघि बढ्नुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन बेलायत पुगेका प्रधानमन्त्री देउवा १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?