+
+

लथालिंग गाउँपालिका, औषधि किन्ने बजेट पनि छैन

श्रवण देव श्रवण देव
२०७८ कात्तिक १७ गते १८:१२

१७ कात्तिक, सप्तरी । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा तत्कालिन नयाँ शक्ति पार्टीका उम्मेदवार सूर्यनारायण मण्डल ‘कुरुड’ ले जिते । अहिले नयाँ शक्ति पार्टी एकीकरणपछि जनता समाजवादी पार्टी (जसपा) बनेको छ ।

स्थानीय तह जितेको पार्टीको नाम हराएसँगै छिन्नमस्ता गाउँपालिका अस्तव्यस्त बनेको छ । यहाँसम्म कि यो गाउँपालिकाको आर्थिक बर्ष २०७७-७८ र चालू आर्थिक वर्ष २०७८-७९ को गाउँसभा नै हुन नसकेको छैन । गाउँसभा नहुँदा आर्थिक कारोबार नै रोकिएको छ ।

गाउँसभा हुन नसक्दा गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले एक वर्षदेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण ठप्प भएको छ भने बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश शर्मा २०७७-७८ मा तलव र सामाजिक सुरक्षा भत्ता खुलाउने निर्णयबाहेक कुनै निर्णय हुन नसकेको बताउँछन् । ‘त्यतिबेला कर्मचारीलाई तलव दिने निर्णय भएपनि पेश्की लिएका कर्मचारीलाई तलब दिइएन’ उनी भन्छन्, ‘पेश्की फछ्र्याैट गर्दा पनि उनीहरुलाई तलब दिइएन ।’

उनका अनुसार शिक्षक, स्वास्थ्यकर्मीले साउनदेखि र गाउँपालिकाका कर्मचारीले जेठदेखि तलव आएको छैन ।

सबैभन्दा ठूलो समस्या शिक्षा र स्वास्थ्यमा देखापरेको छ । शैक्षिक सत्रको आधा समय बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । ‘विद्यार्थीको आधा सेसन गइसक्यो’ शर्मा भन्छन्, ‘१५ दिनमा किताब नदिए त्यसपछि पाउनै गाह्रो हुन्छ ।’

स्वास्थ्य चौकीहरुमा कुनै औषधि छैन । ‘सामान्य सिटामोल र जीवनजल पनि छैन्’ गाउँपालिकाको स्वास्थ्य शाखा सह संयोजक दीपेन्द्र यादवले भने, ‘बिरामी आउँदा औषधि दिन सकिरहेको छैन ।’

उनका अनुसार आर्थिक वर्ष २०७६-७७ मा खरीद गरिएको औषधि सकिएपछि पछिल्लो ८ महिनादेखि औषधिको अभाव झेल्नुपरेको छ ।

स्वास्थ्य शाखा बर्षाको समयमा डुबानमा पर्ने गरेको छ । बर्षाको समयमा घरभित्रै पस्ने पानीले तीन महिना जति काम गर्न नै समस्या हुने गरेको यादव बताउँछन् । ‘पानी निकास हुन नदिन योजना बनाइएको छ, तर सभा नै हुन नसक्दा पानीभित्रै बस्नुपरेको अवस्था छ’ उनी भन्छन् ।

गाउँपालिकामा कार्यालय सञ्चालनका लागि कुनै सामग्री छैन । ‘कसैले कुनै सामान दिन मानिरहेका छैनन्’ निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ।

उनका अनुसार विद्युत प्रयोग गरे वापतको भुक्तानी नगर्दा विद्युत प्राधिकरणले लाइन काट्ने चेतावनी दिइसकेको छ । ‘एक-दुई वटा मात्रै छैन, हजारौं समस्या भोग्नुपरेको छ’ उनी भन्छन् ।

गाउँपालिका र वडा कार्यालय संचालन गर्न घर भाडामा लिइएको छ । तर एक बर्षयता भाडा तिर्न नसक्दा घरधनीले खाली गराउन दवाव दिइरहेका छन् । शर्माका अनुसार कुल ७ वडामध्ये वडा नम्बर १ र ६ पुरानो गाविस भवनमा र वडा नम्बर ३ को कार्यालय छिन्नमस्ता मन्दिरको धर्मशालामै संचालन भइरहेको छ । अन्य वडा कार्यालय कोठा भाडामा लिएर सञ्चालन गरिएको छ ।

गाउँपालिका कार्यालय, कार्यालयको स्टोर शाखा, रोजगार संयोजक कोठा न्यायीक समितिको सामानहरु राख्न लिइएको कोठाको भाडा तिर्न नसकिएको उनी बताउँछन् । यसबाहेक दुई बर्ष अगाडि प्रमुख प्रशासकीय अधिकृतको निवास भनेर राजविराजमा लिइएको घरभाडाको पनि रकम तिर्न नसकिएको उनले बताए ।

सम्पूर्ण कर्मचारी आन्दोलित

लामो समयदेखि तलव, भत्ता नपाएको भन्दै गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन् । गाउँपालिकाका सबै कर्मचारी मंगलबार दिउँसो गाउँपालिकाका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा गाउँपालिका अन्तर्गतका शिक्षक, स्वास्थ्यकर्मी, कृषि, पशु सेवामा कार्यरत कर्मचारीले एकत्रित भएर सहभागिता जनाएका छन् । छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गर्दै कार्यालय अगाडि आएर उनीहरुको प्रदर्शन टुंगिएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले जनप्रतिनिधि मिलेर समस्याको समाधान नगरे मंसिर १ गतेदेखि सम्पूर्ण कामकाज ठप्प गर्ने बताए ।

अध्यक्ष भन्छन्–२६ गते दुबै गाउँसभा गर्छौं

जनप्रतिनिधिकै आन्तरिक विवादका कारण यो गाउँपालिका शुरुदेखि नै विवादित बनेको छ । तत्कालिन नयाँ शक्तिबाट अध्यक्षमा जितेका अध्यक्ष कुरुड र तत्कालिन राजपाबाट उपाध्यक्षमा निर्वाचित उषा कुमारी मण्डलबीच विवाद हुँदै आएको छ । दुई जनाबीचको विवादका कारण समयमा सभा हुन नसकेको स्थानीय बताउँछन् ।

यद्यपी कर्मचारी आन्दोलित भएपछि जनप्रतिनिधि गाउँसभाको तयारीमा जुटेका छन् । गाउँपालिका अध्यक्ष कुरुड कात्तिक २६ गते गाउँसभा बोलाइएको बताए । ‘त्यसका निम्ति तयारी गरिरहेका छौं’ उनले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?