+
+

‘नोटको सुरक्षा सबै नागरिकको जिम्मेवारी हो’

डा. भागवत आचार्य, उपनिर्देशक नेपाल राष्ट्र बैंक डा. भागवत आचार्य, उपनिर्देशक नेपाल राष्ट्र बैंक
२०७८ कात्तिक १८ गते १८:१७

धेरैजसो साना दरका नोट चाँडै काम नलाग्ने हुने गरेका छन् । ५०० र १ हजार रुपैयाँको नोट कम मैलिने गर्छ । १०० रुपैयाँका नोटहरू पनि कम नै मैलिन्छन् । धेरै चाँडो काम नलाग्ने हुने भनेका ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ लगायत साना दरका नोटहरू हुन् ।

काम नलाग्ने भएर आएका नोटहरू राष्ट्र बैंकमा जलाउने गरिएको छ । झुक्रिएका तथा काम नलाग्ने नोटहरू राष्ट्र बैंकको थापाथली, नेपालगञ्ज, वीरगञ्ज, पोखरा, विराटनगर, धनगढी, जनकपुर र भैरहवा शाखा कार्यालयहरूमा जलाउने गरिएको छ ।

बैंकहरूले यस्तो नोटहरू जम्मा गरेर राष्ट्र बैंकमा बुझाउँछन् । सर्वसाधारणबाट आएका मैला भएका नोटहरूलाई बैंकहरूले बजारमा पठाउने र नपठाउने गरी दुई भागमा वर्गीकरण गर्छन् । बजारमा पठाउन योग्य नोट बजारमा जाने भए, धेरै काम नलाग्ने भएका नोटहरू भने राष्ट्र बैंकको ढुकुटीमा जम्मा हुन्छन् । जति रकम दिन्छन् त्यो रकम बैंकहरूको खातामा जम्मा हुन्छ । अनि काम नलाग्ने नोट चाहिं जलाउने प्रक्रियामा लगिन्छ ।

जम्मा भएका नोटहरूबाट राष्ट्र बैंकमा झुत्रा तथा पुराना, प्वाल परेका, च्यातिएका, रंग दलिएका, मैलिएका, टेप टाँसिएका र कोरिएका नोट र सुकिला नोटहरू छुट्याउने गरिएको हुन्छ । कुनै कुनै नोटहरू बजारमा पठाउन योग्य छन् भने सेतो स्टिकर टाँसिन्छ र बजारमा पुनः चलनचल्तीमा पठाइन्छ ।

चलनचल्तीमा पठाउन अयोग्य ठूला दरका नोटहरूमा तीन वटा प्वाल पारिन्छ ।

नोट जलाउने काम राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा मात्रै हुँदैन । क्षेत्रीय कार्यालयहरूमा पनि जलाउने नोटको मुचुल्का तयार पारेर म्यानेजरले निर्णय गरेर जलाउने हो । यसरी नोट जलाइसकिएपछि केकति जलाइयो सोको सम्पूर्ण जानकारी मुद्रा व्यवस्थापन विभागमा पठाउने हो । तर अहिले यसरी नोट जलाउने क्रम पनि बन्द हुँदैछ ।

नोटलाई जलाएर खरानी बनाउने होइन, नोटलाई ब्रिकेट बनाउने हो । ब्रिकेट बनाउनका लागि राष्ट्र बैंकले मेसिन खरीद गरेर समेत ल्याएको छ । काम नलाग्ने पैसाहरू नष्ट गर्न ठिक्क पारिएका हुन्छन् । जसलाई मेसिनमा हालेर पेलेर ब्रिकेट बनाउँछ ।

यसरी बनेको ब्रिकेट भनेको तराईतिर गाउँघरमा बनाइने गुइँठा जस्तै हो । यो आगो ताप्न काम लाग्छ । अन्य कुरामा काम लाग्दैन ।

नोटको सुरक्षामा ध्यान

नोटमा धेरै किसिमका आयाम हुन्छन् । जसमध्ये एउटा महत्वपूर्ण पाटो आर्थिक हो । नोट नेपालमा छापिंदैन । गुणस्तर तथा सुरक्षाका लागि हामीले नोटलाई बाहिर छाप्नुपर्छ । विदेशमा छाप्दा औसतमा हाम्रो वार्षिक अढाइ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिन्छ ।

त्यसैले नोटको जतन गर्नु भनेको हामीले विदेशी मुद्रा बचाउनु पनि हो । नोटको सुरक्षा गर्नु सबै नागरिकको दायित्व हो । विदेशमा छाप्न मात्रै होइन छापेको नोट ल्याउन र काठमाडौं ल्याइसकेपछि पनि विभिन्न ठाउँमा पठाउनुपर्ने हुन्छ ।

यहाँ आन्तरिक व्यवस्थापनमा पनि हाम्रो निकै ठूलो खर्च हुन्छ । यदि नोटको सुरक्षा गर्न सक्ने हो भने हाम्रो ठूलो रकम बचत हुन्छ ।

अर्को हाम्रो धार्मिक र सांस्कृतिक सम्पत्ति समेत हो नोट । हाम्रा जैविक तथा प्राकृतिक सम्पदाहरू नोटमा राखेका हुन्छौं । ‘बर्थ प्लेस अफ लर्ड बुद्ध’ भनेर नोटमा लेखिएको हुन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि नोटमा हुन्छ ।

यो भनेको हाम्रो प्राकृतिक तथा सांस्कृतिक सम्पदा नोटमा राखिएको हुन्छ । त्यस कारण पनि नोटको संरक्षणमा हामी सबैले ध्यान दिनुपर्छ ।

विश्वमा देशको प्रचारप्रसार गर्ने एउटा माध्यम पनि नोट हो । कुनै विदेशी नेपाल आएपछि उसले नेपाली रुपैयाँ साट्नुपर्छ । हाम्रो देशको बारेमा धेरै कुरा नोटमै देखिन्छ र उसले नेपालमा केके रहेछ भनेर नोट मार्फत जानकारी पाउँछ ।

बुद्ध नेपालमा जन्मेका रहेछन्, सगरमाथा नेपालमा रहेछ भन्ने कुरा त्यो विदेशीले नोटबाट पनि जानकारी पाउँछ । यसरी नोटको माध्यमबाट पनि विश्वमा हाम्रो प्रचारप्रसार भइरहेको हुन्छ । यो धेरै राम्रो कुरा हो ।

नोटको सुरक्षा हामी सबैको दायित्व हो । राज्यको ठूलो खर्च जोगाउनका लागि पनि हामीले यसमा ध्यान दिनुपर्छ । सकेसम्म डिजिटल कारोबार गर्नुपर्छ । नोट राख्नुपर्दा जतनसाथ चलाउनुपर्छ ।

नोटलाई मनी ब्यागमा राख्ने, केरमेट नगर्ने, पानी भएको हातले नछुने लगायतका नियम हामीले फलो गर्नुपर्छ । नोटलाई काम नलाग्ने बनाउने, नोटमा लेख्ने, जलाउने, फोहोर पार्ने जस्ता कामहरू नागरिकले गर्नुहुँदैन ।

किनकि यो कानूनी रूपमा पनि अपराध हो र यसो गरेमा जेल सजायसम्म हुने कानूनी व्यवस्था छ ।

(नेपाल राष्ट्र बैंकका उपनिर्देशक तथा सहायक सूचना अधिकारी डा. आचार्यसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?