
१८ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकलाई गरिबीको अवस्थाबाट मुक्त गराउन सरकारमा बस्ने व्यक्ति जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्ने बताएका छन् ।
बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले उपलब्ध स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताए ।
‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ, तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ’, उनले भने । मुलुकलाई गरिबीबाट मुक्त गराउन सरकारमा बस्नेहरु जनताको शासकका रूपमा होइन, सेवकको रूपमा कार्य गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरेक नागरिकले संकल्प गर्नुपर्ने उनको भनाइ छ ।
उनले बाँझो रहेका जमिनमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्ने समेत दाबी गरे । यस किसिमको अभियान नै चलाउनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4