+
+
Shares

भारत-पाकिस्तान तनावबारे माओवादी नेताहरू विभाजित

भारत पाकिस्तानको पछिल्लो तनावलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरू विभाजित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १३:४८

२६ वैशाख, काठमाडौं । भारत पाकिस्तानको पछिल्लो तनावलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरू विभाजित भएका छन् । माओवादी केन्द्रका महासचिव देव गुरूङ र उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमा छुट्टा-छुट्टै स्टेटस लेखेर आआफ्नो पक्षधरता देखाएका हुन् ।

महासचिव देव गुरूङले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताएका छन् ।

भारत-पाकिस्तान तनाव भइरहेका बेला माओवादीका महासचिव देव गुरूङले सामाजिक सञ्जालमा यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन।’

उनले सैन्य कारबाहीहरू बन्द गरी पहलगाम आक्रमणबारे स्वतन्त्र प्रकारको अन्तराष्ट्रिय छानबिन हुनुपर्ने बताएका छन् । ‘अतः त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनु पर्छ। पलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनु पर्छ,’ उनले भनेका छन् ।

यस्तै पूर्वमन्त्री समेत रहेका उपमहासचिव जनार्दन शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् ।

‘पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिन्दैन।’ देव गुरूङ, महासचिव, माओवादी केन्द्र

भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला पूर्वमन्त्री समेत रहेका शर्माको यो भनाइ सार्वजनिक भएको हो । उनले आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर’’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’

पाकिस्तान र भारतको पछिल्लो तनावका बारेमा नेपाल सरकार र अरू राजनीतिक दलहरूले समेत मौनता साँधिरहेका बेला माओवादी केन्द्रका नेताहरूबाट प्रतिक्रिया आउनु र विभाजित प्रतिक्रिया आउनु अर्थपूर्ण छ।

यसअघि ४ दिनका लागि नेपाल आएका बेला भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले विभिन्न राजनीतिक दलका शीर्ष र दोस्रो तहका नेताहरूसँग भेटघाट गरेका थिए। त्यसबेला उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुनलाई अलग अलग भेटेका थिए। तर उनले महासचिव देव गुरूङसँग भने भेटेका थिएनन।

‘आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’ जनार्दन शर्मा, उपमहासचिव, माओवादी केन्द्र

अप्रिल २५ तारिकको दिन भारत कश्मिरको पहलगाममा आतंकवादीहरुले एक नेपालीसहित २६ पर्यटकको हत्या गरेको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानी भूमिमा आक्रमण थालेको थियो । आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि आक्रमण थालेको हो । यो सैन्य अभियानलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।

भारतीय सेनाले आतंकवादी बसेका नौ स्थानमा लडाकु विमानमार्फत् एयर स्ट्राइक गरेको दाबी गरेको छ । भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको पाकिस्तानका प्रधानमन्त्रीले स्वीकार गरेका छन् । साथै उनले यो आक्रमणको बदला लिने घोषणा पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?