+
+

बगिया : तिहारमा थारु समुदायको विशेष परिकार

सहदेब चौधरी सहदेब चौधरी
२०७८ कात्तिक १९ गते १५:२०

१९ कात्तिक, काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले तिहार धुमधामले मनाइरहँदा थारु समुदायले पनि यसलाई आफ्नै मौलिक तरीकाले मनाउने गरेका छन् । तराईमा बस्ने थारु समुदायले धनकी देवी लक्ष्मीलाई ‘हुक्के-हुक्का’ खेलेर भित्र्याएपछि भोलिपल्ट बिहानैदेखि घरघरमा चामलको पीठोबाट तिहारको परिकार ‘बगिया’ बनाउने गर्दछन् ।

बगिया तिहारका लागि थारु समुदायको विशेष परिकार हो । बगिया बनाउँदा उनीहरुले कलात्मक तरीकाले विभिन्न आकारमा बनाउने गर्दछन् । सामाजिक रीतिथिति, रहनसहन र बसोबाससँग सम्बन्धित रहेर उनीहरुले बगियाका विभिन्न आकार बनाउने गर्दछन् ।

बगिया खजन चिरै, सखारी-बखारी लगायतका आकृति बनाउने गरिन्छ ।

खजन चिरै

‘खजन चिरै’ थारु समुदायले आफ्ना बालबालिकाका लागि बनाउने एक परिकार हो । खजन चिरै एक प्रकारको चरा हो, जुन सानो तर चञ्चल स्वभावको हुन्छ । मौसम विस्तारै चिसो हुँदै जाँदा रुखबाट लड्दैपड्दै घामको खोजीमा निस्किने गर्दछ । ठीक यस्तै स्वभाव बालबालिकामा हुने र उनीहलाई जाडोबाट बचाउन बाफबाट बनेको खजन चिरै आकारको बगिया बनाउने गरिएको संस्कृतिविद् भुलाई चौधरी बताउँछन् ।

‘खजन चिरै एक प्रकारको चरा हो । यसको स्वभाव निक्कै चञ्चल हुन्छ । बालबालिकामा पनि त्यही स्वभाव भएकाले त्यसैको स्वरुप थारु समुदायमा बालबालिकालाई खजन चिरै बनाउन चलन आएको हो,’ उनी भन्छन् ।

यसका साथै खजन चिरै कुन दिशामा देखिन्छ सोही अनुसार फल मिल्ने सामाजिक तथा धार्मिक विश्वास थारु समुदायमा रहिआएको चौधरीको भनाइ छ ।

यस्तै आकारमा सानो भएकाले बालबालिकालाई खजन चिरै खुब मन पर्ने भएकाले उनीहरुको लागि उक्त परिकार विशेष मानिन्छ ।

लक्ष्मीपूजाको भोलिपल्ट बिहानै थारु समुदायका बालबालिका ओछ्यानबाट उठ्ने बित्तिकै आफ्नी आमालाई त्यही ‘खजन चिरै’ माग्ने गर्दछन् । यसबारे थारु लोकगाथा पनि रहेको छ ।

खजन चिरै

खजन चिरै

बर गुरका

ममा मारलकै

दबिया पिज्या

मामी रानहलकै

नथिया डोल्या

ममा खेलकै

मोछ फल्क्या ।।।

अर्थात्

खजन चरा

खजन चरा

धेरै गुल्टिने

धेरै गुल्टिने

मामाले मार्नुभयो

खुकुरी तिखारी

माइजूले पकाउनुभयो

नथिया हल्लाइ

अनि मामाले खानुभयो

जुँगा हल्लाइ ।।।

सखारी-बखारी

सखारी-बखारी पनि थारुको परम्परागत संस्कृतिको प्रतीक हो । पहिला तराईमा थारुहरुको प्रशस्तै खेत हुने र धान भित्र्याउँदा त्यही बखारी (बाँसबाट बनाइएको गोलो ट्यांक)मा राख्ने गरिन्थ्यो ।

उनीहरुले यो परम्परालाई आफ्नो परिकारमा पनि उतार्ने गर्दथे । फलस्वरुप उनीहरु सुखको दिन अर्थात् सुकराइतमा त्यसको प्रतीक स्वरुप सखारी-बखारी बनाउने गर्दछन् ।

थारु संस्कृतिविद् चौधरी भन्छन्, ‘तिहारलाई थारु समुदायले सुकराइत अर्थात् सुखको दिन भन्दछन् । तराईको मैदानी भूभागमा सबैभन्दा धेरै फल्ने चीज धान हो । थारु समुदाय ‘ल्याण्ड लर्ड अफ तराई’ थिए । धानलाई सुनको प्रतीक मानिन्छ । त्यसैले तराईलाई सुन फल्ने मैदान पनि भनिन्छ । अन्नको भण्डार पनि भनिन्छ । उनीहरुले उब्जाएको धानको चामलबाट नै आफ्नो परिकारहरु बनाउँथे र त्यसमा उनीहरु आफ्नो बसोबास, रीतिरिवाज, संस्कार र परम्परालाई झल्किने गरी बनाउँथे।’

यसका साथै गाउँ-गाउँमा हबेली र थारुहरुको घरघरमा बखारी हुने गर्दथे । कुनै गाउँमा धान वा चामल घटेमा वा प्रगन्ना भोजमा केही कमी भएमा यही बखारीबाट झिकेर दिने चलन थियो । यो परम्परालाई उनीहरुले आफ्नो चाडपर्वमा कायम गरेका थिए । शुद्ध चामल र पानीबाट बन्ने भएकाले यसलाई उनीहरुले प्रकृतिको प्रसाद भनेर ग्रहण गर्नुपर्ने मान्यता राख्थे।

यो परिकार बाफमा पाक्ने भएकाले थारु समुदायले यसलाई ‘बगिया’ नामाकरण गरेका हुन् । चौधरी अगाडि भन्छन्, ‘पहिलाका थारुहरुसँग अहिलेको जस्तो पित्तलको भाँडो, स्टीलको भाँडो थिएन । त्यसैले उनीहरु माटोबाटै बनेको भाँडोमा आफ्नो परिकार ‘बगिया’ बनाउँथे ।’

माटोबाट बनाइएको उक्त भाँडोलाई ‘अट्नी’ भनिन्छ । अहिले त्यो लोप भइसकेको चौधरी बताउँछन् । अट्नी नभएपनि बगिया बनाउने संस्कार भने कायमै रहेको उनको भनाइ छ ।

थारु संस्कार र परम्पराको जगेर्ना गर्न युवापुस्ता अघि सर्नुपर्ने बताउँदै संस्कृतिविद् चौधरी भन्छन्, ‘अब युवाहरुले थारु संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्ने बेला आएको छ । यसलाई जोगाउन सकिएन भने थारु संस्कृति  लोप भएर जाने खतरा हुन्छ ।’

लेखकको बारेमा
सहदेब चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment