
News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार आउन १२ दिन बाँकी रहँदा बजारमा ड्राइफ्रुट्सको भाउ बढेको छ र पिस्ता, ओखर, नरिवल, मखनाको मूल्य वृद्धि भएको छ।
- नेपाल खुद्रा व्यापार संघले होलसेल व्यापारीले खुद्रालाई सही रेट र बिल नदिने आरोप लगाएको छ।
- वाणिज्य विभागले तिहारमा भाइमसला र अन्य वस्तुको गुणस्तर र मूल्य अनुगमन तीव्र पारेको छ र बिग्रिएको सामान जफत गर्ने जनाएको छ।
२४ असोज, काठमाडौं । तिहार आउन १२ दिन बाँकी रहँदा बजारमा ‘ड्राइफ्रुट्स’ को भाउ बढेको छ । अन्य समयमा कम खपत हुने तर विशेषगरी तिहारमा यस्ता वस्तु बढी मात्रामा खपत हुने गर्छ ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइ भाइमसला दिने परम्परा छ । तिहारका बेला भाइमसलाको माग अत्यधिक बढ्छ र यसको खपत पनि व्यापक हुने गर्छ ।
तिहारमा विभिन्न प्रकारका सुक्खा फलहरू जस्तै काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिर प्रयोग विशेषरूपमा बढी हुन्छ । उपभोक्ताले आफ्नो सुविधा अनुसार प्याक गरिएका वा खुला भाइमसला खरिद गर्न रुचाउँछन् ।
व्यवसायीका अनुसार दशैंमा ड्राइफ्रुट्सको भाउ बढेको थिएन । तर, दशैंलगत्तै भाउ बढेर आएको हो ।
काठमाडौं बुद्धनगरका व्यवसायी यम बाह्रकोटीका अनुसार केहीको मूल्यमा वृद्धि भएको छ भने केही स्थिर रहेको र केहीमा सामान्य गिरावट आएको छ ।
उनले हिजो साँझ मात्रै नयाँ सामान झारेको र केहीको भाउ बढेर आएको बताए । तिहारको माग बढ्दै जाँदा अहिले नबढेका र स्थिर रहेका वस्तुको भाउ अmझै बढ्न सक्ने उनको भनाइ छ ।
‘नयाँ सामान हिजोमात्रै झारेको हो, त्यसमा ओखर, पिस्ता, नरिवल र मखनाको मूल्य बढेर आएको छ,’ उनले भने, ‘तिहार आउन अझै समय बाँकी रहेकाले यी वस्तुको मूल्य अझै बढ्ने देखिन्छ ।’
व्यवसायीका अनुसार ओखरको भाउ प्रतिकिलो २० रुपैयाँले बढेको छ । यस्तै पिस्ताको भाउ पनि ७५ देखि १ सय रुपैयाँसम्म बढेको छ ।
ओखर हाल होलसेलमा किलोको ४ सय ५० रुपैयाँ रहेकोमा भाउ बढेसँगै ४ सय ७० पुगेको छ । खुद्रा व्यवसायीहरू ओखर दुई प्रकारको आउने र त्यसको मूल्य पनि फरक हुने बताउँछन् । खुद्रामा अहिले ओखर प्रतिकिलो ५ सयदेखि ६ सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।
काजुको मूल्यमा भने कुनै परिवर्तन नआएको व्यवसायीको भनाइ छ । यसको होलसेल मूल्य किलोको १ हजार ५ सय ५० रुपैयाँ रहेकोमा खुद्रामा भने १ हजार ७ सयदेखि १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
पिस्ताको मूल्यमा ७५ देखि १ सय रुपैयाँले वृद्धि भएसँगै पहिले किलोको १ हजार ९ सय ५० रुपैयाँ रहेकोमा अहिले २ हजार ५० रुपैयाँ पुगेको छ । भाउ नबढ्दै व्यवसायीले २ हजार २ सय रुपैयाँमा पिस्ता बेच्दै आएका थिए । भाउ बढेसँगै व्यापारीले पिस्ताको खुद्रा मूल्य २ हजार ४ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुर्याएका छन् ।
नरिवलको भाउमा भने भारी वृद्धि देखिएको छ । पहिले खुद्रामा ५ सय ५० रुपैयाँ किलो रहेको नरिवल अहिले बढेर ७ सय रुपैयाँ पुगेको छ, जुन १ सय ५० रुपैयाँको उल्लेखनीय वृद्धि हो ।
त्यस्तै अन्जिरको भाउ पनि बढेको छ । यसको होलसेल भाउ २ हजार १ सय रुपैयाँ र खुद्रा मूल्य २ हजार ३ सय प्रतिकिलो रहेको छ, जुन २ सय बढेको हो ।
मखनाको मूल्यमा पनि वृद्धि भएको छ र हाल १ हजार ४ सय रुपैयाँ प्रतिकिलो पुगेको व्यवसायी बताउँछन् ।
यस्तै सुकुमेल र ल्वाङको भाउमा भने कुनै परिवर्तन आएको छैन । सुकमेल होलसेलमा ५ हजार र खुद्रामा ६ हजार रुपैयाँ प्रतिकिलो उपलब्ध छ भने ल्वाङको भाउ १ हजार ४ सय ५० रुपैयाँ किलो कायम छ । किसमिसको भाउ प्रतिकिलो ६ सय ५० रुपैयाँ छ । यो खुद्रा मूल्य हो ।
ड्राइफ्रुट्सको भाउ प्रत्येक पसलपिच्छे फरक पाइन्छ । नयाँ बानेश्वरस्थित मसला भण्डारका सञ्चालक बच्चन साहले पनि ड्राइफ्रुट्सको भाउ २ सय रुपैयाँसम्म बढेर आएको बताए । तिहार आउन अझै केही दिन बाँकी रहेकाले भाउ अझै घट्छ वा बढ्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।
‘मैले दशैंअघि नै सबै सामान झारिसकेको हुँदा तत्कालै नयाँ सामान ल्याउने योजना छैन,’ उनले भने, ‘मैले पुरानै भाउमा बेचिरहेको छु, नयाँ सामान ल्याइयो भने मात्रै भाउ परिवर्तन हुन्छ, पुरानोको बढ्दैन ।’
व्यापारीले भने अनुसार होलसेलबाट भाउ बढेर आउँदा खुद्रामा उपभोक्ताले महँगो तिनुपर्ने हुन्छ । उपभोक्ता जहिले पनि चाडबाडका समयमा चर्को भाउ तिर्न बाध्य छन् । गत वर्षको तिहारमा पनि ड्राइफ्रुट्सको भाउ ५० देखि ३ सय रुपैयाँसम्म बढेको थियो ।
खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघले होलसेल व्यापारीले नै खुद्रा व्यापारीलाई काजु, बदाम लगायत ड्राइफ्रुट्सको सही रेट र बिल नदिने गरेको आरोप लगाउँदै आएको छ ।
संघका एक सदस्य होलसेलले नै खुद्रालाई महँगो मूल्यमा बेच्दै आएकाले सस्तो मूल्यमा बेच्न नसकिएको बताउँछन् ।
वाणिज्य विभाग भन्छ- मूल्यभन्दा गुणस्तरमा जोड
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहार नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तु तथा भाइमसलाको भाउ र गुणस्तरको अवस्था बुझ्ने अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
विभागका सूचना अधिकारी भरतप्रसाद आचार्यका अनुसार चाडपर्वमा उपभोक्ता ठगिने सम्भावना मध्यनजर गर्दै भाइमसला, मिठाई तथा अन्य उपभोग्य वस्तुको बजार अनुगमन भइरहेको छ ।
आचार्यले बजारमा अहिले काजु लगायत सुक्खा फलफूलको भाउ अपेक्षा गरिएभन्दा कम नै रहेको दाबी गरे । उनी आफूहरूले होलसेल बजारमा काजुको भाउ किलोको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्म भेटेको बताए ।
विभागले मूल्यभन्दा पनि गुणस्तर र वैधानिकतामा विशेष ध्यान दिएको आचार्यको तर्क छ ।
‘यदि कुनै वस्तुमा म्याद सकिएको वा बिग्रिएको पाइए हामी नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाउँछौं,’ सूचना अधिकारी आचार्यले भने, ‘विभागको अनुगमन टोलीले अनुगमन गर्दा कैफियत भेटिए तत्कालै सामान जफत र कारबाही गर्छ ।’
बजार मूल्य निर्धारण प्रक्रियाबारे आचार्यले नेपालमा नियन्त्रित नभई खुला बजार अर्थतन्त्र रहेकाले माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने तर्क गरे । ‘माग र आपूर्तिले मूल्य निर्धारण गर्ने खुला बजारमा हामीले प्रत्यक्ष नियन्त्रण गर्ने नीति छैन,’ उनले भने ।
उपभोक्ता संरक्षण विभागसँगै खाद्य विभागले पनि आफ्नै तरिकाले बजार अनुगमन गरिरहेको आचार्यले बताए । यसरी तिहारको बेला उपभोक्ताले गुणस्तरीय वस्तु उचित मूल्यमा प्राप्त गर्न सकुन् भन्ने सुनिश्चित गर्न विभाग सक्रिय रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4