+
+

रवीन्द्र मिश्रलाई प्रकाशमानको कटाक्ष – नयाँ नारा दिएर मात्रै हुँदैन, काम गर्न सक्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते ११:४०

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्ने बताए ।

नेता सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमाथि कटाक्ष गर्दै नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटक-पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ ।’

उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए । ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्छ । जनतालाई विश्वासमा दिलाउनुपर्‍यो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपर्‍यो । काम गर्न सजिलो छ र ?’ नेता सिंहले भने ।

काठमाडौं क्षेत्र नं. १ नेता सिंहको निर्वाचन क्षेत्र हो । उनी २०६४ सालदेखि यही क्षेत्रबाट निरन्तर निर्वाचित छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेता सिंहलाई विवेकशील साझाका अध्यक्ष मिश्रले कडा टक्कर दिएका थिए ।

उनले नेपालको विकासका लागि कांग्रेसको विकल्प नरहेको दाबी गरे । कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको उनको आरोप छ । ‘पहिलो संविधानसभामा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो,’ उनले भने, ‘दुई तिहाईको कम्यूनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त ?’ नेता सिंहले भने, ‘कम्यूनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्यूनिष्टहरुले मात्रै सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?