+
+

सप्तरंगी उत्सव : यस्तो छ तिहारको सात विशेषता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १६:५३

१९ कात्तिक, काठमाडाैं । तिहार धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-उपासना गर्ने पर्व । दियो-बत्ती र झिलिमिलीको पर्व । सेलरोटीको पर्व । देउसी-भैलोको पर्व । अनेक रंगले पोतिएको छ, यो पर्व । तिहार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीय तिथिसम्म पाँच दिन मनाइन्छ ।

यसबीचमा कागपूजा, कुकुरपूजा, गाईपूजा, गोरुपूजा, लक्ष्मीपूजा, भाइटीका हुँदै दीपावली र देउसी-भैलो समेटिन्छन् । धार्मिक कथन अनुसार यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिन्छ । यही दिन भगवान् धवन्तरीको जन्म भएको हुनाले यसलाई धवन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ ।

१. लक्ष्मीपूजा

तिहारमा धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-आराधना गरिन्छ । गाईको गोबरले घर-आगँन लिपपोत गरेर, सबैतिर गहुँत छर्किएर घरलाई पवित्र बनाउने गरिन्छ । त्यसो त गाईलाई नै लक्ष्मी माताको प्रतीक पनि मान्ने गरिन्छ । बहुगुणी प्राणी गाईको गोबरले लिपपोत गरेर, गहुँत छर्किएर पवित्र बनाइसकेपछि फूलमाला, धूपबत्ती बालेर लक्ष्मीको पूजाआजा गरिन्छ ।

लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । यस दिन घरलाई सफासुग्घर गरे, दियो-बत्तीले झलमल्ल पारेर, फूलमालाले सजाएपछि लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक विश्वास छ ।

२. सयपत्री र मखमली

तिहारको विशेष फूल हुन्, सयपत्री र मखमली । यी दुवै फूल यही सिजनमा ढकमक्क फूल्छन् । बारीको कान्ला, घरको बार्दली र पाखाभरि सयपत्रीले ढकमक्क हुने गर्छ । सयपत्री फूल र त्यसको सुगन्धले नै हामीलाई तिहारको आभास दिलाउँछ ।

तिहारमा घर सजाउन, पूजाआजा गर्न वा चेलीले माइतीलाई माला लगाइदिन पनि मखमली र सयपत्रीको प्रयोग गरिन्छ । यी दुवै फूल लामो समयसम्म टिक्ने भएकाले आफ्ना माइतीको यश, आयु पनि लामो समय कायम रहोस् भनी प्रतीकात्मक रुपमा सयपत्री र मखमलीको प्रयोग गरिन्छ । सत्री र मखमली फूल हेर्दा आकर्षक मात्रै होइन, औषधीय गुणले भरिपूर्ण पनि छन् ।

३. दियो पाला

तिहारलाई पुकारिने अर्को नाम हो, दीपावली । यसलाई झिलिमिली पर्व पनि भनिन्छ । तिहारको अर्को विशेषता भनेको घर-आँगनमा दियो बत्ती बाल्ने, झिलिमिली उज्यालो बनाउने हो । दियो बत्ती बालेर औंसीको कालो रातलाई जित्ने यो एक प्रतीकात्मक उत्सव पनि हो, अँध्यारोलाई खुशी र उत्सवको उज्यालोले जित्नुपर्छ भन्ने । त्यसैगरी तिहारलगत्तै चिसो मौसम शुरु हुने । मौसम रुखो र सुख्खा हुने, रात लामो हुने गर्छ । यसको असर हाम्रो मानसिकतामा पनि पर्छ । यसबखत धेरैजसो व्यक्ति डिप्रेसनमा समेत पुग्छन् । चिकित्सकहरुले यसलाई ‘विन्टर डिप्रेसन’ भनेका छन् । अतः तिहारमा दियो बत्ती बालेर निराशा, भयलाई हटाउनुपर्छ भन्ने संकेत गरिएको पनि मानिन्छ ।

४. सेलरोटी

हरेकजसो पर्वको आ-आफ्नै परिकार छन् । जस्तो माघे संक्रान्तिमा तरुल, दशैंमा खसीको पक्कु, असार १५ मा दही चिउरा । यस्तै तिहारको विशेष परिकार हो, सेलरोटी । तिहारमा यस्ता घर शायदै होलान्, जहाँ सेलरोटी पाक्दैन । हरेकको भान्सामा पाक्ने स्वादिलो एवं मिष्ठान्न परिकार हो यो । चेलीले माइतीलाई ख्वाउने मीठोमसिनो परिकारमा सेलरोटी अनिवार्य हुन्छ ।

 

५. देउसीभैलो

तिहारको आफ्नोपन भनेको देउसी-भैलो पनि हो । देउसी र भैलोले नै तिहारलाई अरु रंगीन बनाउँछ । त्यसो त यसको पनि आफ्नै महत्व र अर्थ छ । धार्मिक कथन अनुसार अयोध्यावासीले आफ्ना परम प्रिय राजाको आगमनमा खुशीयाली मनाउने क्रममा देउसी भैलोको प्रचलन शुरु भएको हो । त्यसबेला घरघरमा दियो-बत्ती बालेर ‘देव श्रीराम’ भनिएको र यसलाई नै अहिले आएर ‘देउसिरे’ भन्न थालिएको बताइन्छ ।

६. ढाकाटोपी

नेपालीको पहिचान झल्काउने विशिष्ट शिरपोस हो, ढाकाटोपी । यसलाई नेपाली मौलिक पहिरनकै एउटा हिस्सा मानिन्छ । ढाकाटोपी अक्सर दौरा-सुरुवालसँग लगाइन्छ । यही ढाकाटोपीको साइनो तिहारसँग पनि अभिन्न रुपमा जोडिएको छ । खासगरी तिहारको बेला चेलीले माइतीको शिरमा ढाकाटोपी पहि¥याइदिने चलन छ । यसले माइतीको शिर सधैं उच्च होस् भन्ने प्रतीकात्मक सन्देश दिन्छ ।

७. पशुपंक्षी पूजा

तिहारमा पशुपंक्षीको समेत पूजाआजा गरिन्छ । जस्तो कागपूजा, कुकुरपूजा, गाईपूजा, गोरुपूजा । यी पशुपंक्षीहरुको विशेषता अनुरुप विभिन्न प्रतीक मानेर पूजाआजा गरिन्छ । खासगरी पशुपंक्षीसँग मानव जीवन कति घनिष्ठ रुपमा जोडिएको छ भन्ने कुरा पनि यसले उजागर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?