+
+

राजविराज, राजदेवी र रोज सिटी अर्थात् गुलाबी शहरको सुर

अजयकुमार झा अजयकुमार झा
२०७८ कात्तिक २२ गते १३:४७
राजदेवी मन्दिर

वास्तवमा राजविराजलाई सुन्दर, सफा र हरित नगर बनाउने हो भने सार्वजनिक निकाय र आम जनता आपसमा साझेदार बन्नुपर्दछ । राजविराजलाई माता राजदेवीसँग जोडेर अगाडि बढ्नुपर्दछ । राजविराज, राजदेवी र रोज सिटी अर्थात् गुलाबी शहरको सुर मिलाउनुपर्दछ ।

यसबाट के बुझिन्छ भने राजविराज आफैंमा हराभरा रहन चाहने धरती हो । राजविराजको स्वभाव नै हरियालीपन हो । यदि यसमा बाधक कोही छ भने स्वयं नगरवासी र नगर व्यवस्थापकहरू नै छन् ।

राजविराज सप्तरी जिल्लाको मुख्यालय हो । यो नेपालमा तराई क्षेत्रको पहिलो र नेपाल राज्यको चौथो नगरपालिका हो । यो नेपालको पहिलो नगर हो, जसलाई टाउन प्लानिङ्ग गरेर बसाइएको छ । वि.सं. १९९४ मा सप्तकोशी नदीले सप्तरी जिल्लाका तत्कालीन मुख्यालय हनुमाननगरलाई बाढीले प्रभावित गरेपछि मुख्यालयको लागि अर्को स्थानको खोजी भयो । तत्कालीन बडाहाकिम प्रकाशशमशेर जबराले उपयुक्त स्थान खोजेर शहर बसाउने जिम्मेवारी ख्यातिप्राप्त इन्जिनियर डिल्लीजंग थापालाई दिए ।

गुलाबी शहरको रूपमा प्रसिद्ध भारतको जयपुरको नक्शाको आधारमा टाउन प्लानिङ्ग गरेर १९९८ सालमा राजविराज नगर बसाइयो । हनुमाननगरसँगै राजविराज पनि पूर्वी तराईको एक मुख्य वाणिज्य केन्द्र बन्न गयो ।

प्रारम्भिक चरणमा राजविराज शहरको योजना ६० बिघाको प्लटमा गरिएको थियो । मुख्य सडक, सहायक सडक र गल्लीसँग जोडिने गरी आवासीय तथा व्यावसायिक प्लटहरू निर्धारित गरिएका थिए । गुदडी, गल्लालाइन, कचहरी आदि स्थान सुनिश्चित गरिए । पछि सरकारी कार्यालय कर्मचारी आवासका लागि भनेर १० बिघा थप गरी शहरी क्षेत्र विस्तार गरियो ।

राजविराजको नामकरण यहाँ राजदेवी माता विराजमान हुनुभएको आधारमा ‘राजविराज’ भनी गरिएको मानिन्छ । विगतमा यस भूमिमा सेनवंशको शासनकालताका सेनवंशकी कुलदेवी राजदेवी माताको मन्दिर निर्माण गरिएको थियो । कतिपयले यस स्थानको पहिले पनि राजपुर भन्ने नाम रहेको मान्दछन् । उनीहरूको विचारमा यस स्थानको नाम राजपुर रहनुको कारण पनि सम्भवतः राजदेवी माता विराजित भएकीले नै भएको हुनुपर्छ ।

राजदेवी माताको मूर्ति

तसर्थ नगरनिर्माताहरूले यिनै सेरोफेरोमा रहेर यस नगरको नामकरण गरे । राजविराज यस्तो नाम हो जो संसारमै एक्लो छ । देवीको नामबाट सुन्दर शैलीमा ‘राजविराज’ नगरको नामकरण गरिदिएकोमा राजविराजवासीले नगरनिर्माताहरूको नमन अवश्य पनि गर्नुपर्दछ ।

८० वर्षअघि निर्माण गरिएको ७० बिघाको राजविराज शहर अहिले विशाल भूखण्डको स्वामी बनेको छ । शहरी बसोबास क्रमशः विस्तारित हुँदै २०१६ सालमा नगरपालिका कायम हुँदा नौवटा वडा कायम गरिएको थियो ।

२०३२ सालमा चनौरा पडरिया, डुमरी, शिवथान गाभिई, समावेश भई १० वटा वडा कायम भयो । २०७३ सालमा नयाँ संरचना निर्माण हुँदा राजविराज नगरपालिकामा तत्कालीन गाविसहरू मलेठ (१–९), दिघवा (१–९), हरिहरपुर (६), फर्सैठ (१–९), विषहरिया (१–९), कोइलाडी मधेपुरा (४–७), देउरीभरुवा (१–९) र बोरिया (३–७) समेत गाभिई, समावेश भई हाल यसको क्षेत्रफल १६ वटा वडामा विभाजित कुल ५५ वर्गकिलोमिटर कायम भएको छ ।

यसको सिमाना पूर्वमा महादेवा र तिलाठी कोइलाडी, पश्चिममा विष्णुपुर र रूपनी, उत्तरमा रूपनी र अग्निसाइर कृष्णा सवरन तथा दक्षिणमा छिन्नमस्ता गाउँपालिका भएका छन् । सप्तरी जिल्लाको झण्डै मध्य भागमा राजविराज अवस्थित छ । राजविराज सप्तरीको सबैभन्दा पुरानो नगरपालिका हो ।

केही समयअघि राजविराज सगरमाथा अञ्चलको पनि मुख्यालय थियो । राजविराज रहेको प्रदेशको राजधानी जनकपुरधाम कायम भएदेखि राजविराज जनकपुरधामको अधीनस्थ भएको छ । प्रदेशको राजधानी तय गर्ने बेलामा राजविराजलाई राजधानी बनाउनुपर्छ भन्ने कुरा अवश्य उठेको थियो । तर सरोकारवालाहरूले त्यस कुरालाई भाउ दिएनन् । सबैको नजरमा जनकपुर प्रदेशको मध्यवर्ती क्षेत्र थियो भने राजविराज पूर्वी सीमान्त ।

यस प्रदेशमा साबिकका सगरमाथा, जनकपुर, नारायणी गरी तीन वटा अञ्चलका जिल्लाहरू समावेश गरिएका छन् । यस प्रदेश राजधानीको योग्यता निर्धारणका लागि अग्रसारित तर्कहरूको कसौटीमा राजविराज पछि परे पनि विकासको मानेमा राजविराज पछि नपरोस् भन्ने नै हो ।

राजविराजको विकासको कुरा गर्दा सबैभन्दा पहिले विकास भनेको के हो र त्यसपछि विकासको दृष्टिकोणमा राजविराजको स्थिति वा अवस्था के छ भन्ने हेर्नुपर्ने हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली शब्दकोशका अनुसार विकास भन्नाले मोटामोटी ‘क्रमशः सुध्रिंदै गएको स्थिति’ भनी भनिएको छ । यसलाई औपचारिक शब्दमा ‘उन्नति’ भनिन्छ । हुन त आधुनिक संसारमा विकासको जुन परिभाषा कायम भएको छ, त्यस कुरालाई प्रज्ञाको शब्दकोशले समेट्न सकेको छैन तर सर्वसाधारण नेपालीले बुझ्ने विकासको परिभाषा योभन्दा पनि कमै छ ।

सामान्यतया स्थानीय तहको ऐनले स्थानीय तहको काम, कर्तव्य र अधिकार भनी जे जुन कुराहरूको व्यवस्था गरेको छ, आम जनताले अब बुझ्दै जाने विकासको माने त्यही नै हुनेछ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) संयुक्त राष्ट्रसंघ (यूएन) को एक वैश्विक विकास कार्यक्रम हो । यूएनडीपीले संसारभरका राष्ट्रहरूको गरीबी कम गर्ने, पूर्वाधारको विकास गर्ने र लोकतन्त्रलाई प्रोत्साहित गर्ने काम गर्दछ । यसले परिवर्तनका लागि नागरिकको जीवनस्तर माथि उठाउने कार्यमा सहयोग गर्नका लागि आर्जित ज्ञान, अनुभव र संसाधनलाई जोड्ने कार्य गर्दछ ।

यूएन वा यूएनडीपीको विकासवादी चिन्तनको दायरा धेरै ठूलो छ तर माथि उल्लेख भएका कामकुराबाट विकासको सामान्य मापदण्ड बुझ्न सकिन्छ । अर्थात् गरीबी न्यूनीकरण, पूर्वाधारको विकास, लोकतन्त्रीकरण र नागरिकको जीवनस्तर माथि उकास्ने कार्य नै सामान्यतया विकास हो ।

अब विकासको उपरोक्त दृष्टिकोणबाट राजविराजको विकास स्थितिको मूल्याङ्कन गर्न सकिन्छ । नेपालमा गरीबी निवारणको दृष्टिले राजविराज धनी हो वा गरीब शहर ? राजविराजवासी धनी छन् वा गरीब ? यहाँ विकास पूर्वाधारको अवस्था के छ ? यहाँका कार्यकारी निकायहरूको लोकतन्त्रीकरण कत्तिको हुनसकेको छ ? यहाँका नागरिकको जीवनस्तर कुन किसिमले माथि उठिरहेको छ ? समग्रमा भन्दै जाँदा राजविराजको विकास प्रक्रियामा विश्व विकासवादी ज्ञान, अनुभव र संसाधनको के कति हिस्साको प्राप्ति भइरहेको छ ? आदि सवालहरू महत्वपूर्ण हुन आउँछन् ।

नेपाल सरकारको गरीबी निवारण नीति, २०७६ मा उल्लेख भए अनुसार नेपाल विश्वको अति कम विकसित मुलुकमध्ये पर्दछ । भूमण्डलीकरण, आर्थिक उदारीकरण र सूचनाप्रविधिले विकासका सबै पक्ष, सम्भावना र अवसरहरूसँग नेपाललाई जोडेको भए पनि त्यो प्रभावकारी हुनसकेको छैन । श्रम आप्रवासन बढ्दो छ । वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण राष्ट्रिय आयको प्रमुख स्रोत बनेको छ ।

आर्थिक विकासका लागि कृषि क्षेत्र अझै पनि प्रमुख आधारशिलाको रूपमा रहेको भए पनि यसको व्यवसायीकरण तथा विविधीकरण हुनसकेको छैन । उपभोग्य वस्तुहरूको आयात बढ्दै गएको छ । स्वदेशी उत्पादन शून्यमा झर्दै गएको छ । रोजगारीका अवसरहरू पलायन हुँदैछन् । मुद्रास्फीति बढ्दै गएको छ । खाद्यवस्तु र आधारभूत आवश्यकताको परिपूर्ति महङ्गो बन्दै गएको छ । गरीब र विपन्न वर्गको जीवन अझ कठिन र दुष्कर बन्दै गएको छ । अर्थात् देशलाई जुन कुरा चाहिने हो त्यो छैन र जुन नचाहिने हो त्यो छ ।

देशकै अवस्था यस्तो छ भने राजविराज त्योभन्दा पृथक् त हुन सक्दैन । तर राजविराजको विकास अवस्थाको तुलना यसको समकक्षी शहरहरूबाट अवश्य गर्न सकिन्छ । राजविराजको स्थापना राणा शासकले गरे । काठमाडौं उपत्यकाका शहरहरू शहर होइन, ऐतिहासिक राज्यहरू थिए । राणाशासनले पहाडका शहरहरू प्रशासनिक उद्देश्यका लागि र आक्रमणकारीहरूको विरूद्ध चौकीको रूपमा विकास गरेका थिए ।

पूर्व नेपालको धनकुटा, मध्य नेपालको पाल्पा र पश्चिम नेपालको डोटी जस्ता शहरहरू शुरूमा सैन्य अखाडाको रूपमा विकसित भएका थिए । तराईमा भने शहरी क्षेत्रको विकास नेपाल र ब्रिटिश भारतबीचको व्यापारको कारण भएको थियो । अङ्ग्रेजहरूले व्यापारको उद्देश्यका लागि नेपालको सिमानामा रेल्वे लाइनहरू खडा गरेका थिए, जसले गर्दा विस्तारै तराईमा शहरी केन्द्रहरू बढ्दै गएका थिए । राजविराजका समकालीन नगरहरू सबै महानगरपालिका वा उपमहानगरपालिका बनिसकेका छन् । तर राजविराजलाई नगरपालिकामै सीमित हुनुपरेको छ ।

राणाकालमा नै राजविराजलाई शहरको रूपमा विकास गरियो । समय फेरिए सँगै राजविराजको पनि रूप फेरिंदै गयो । कुनै समय देशका मुख्य पाँच शहरभित्र पर्ने राजविराजले आफ्नो विकासको गति पक्रिन सकेन । त्यसैले पछि र झन् पछि धकेलिंदै गयो राजविराज ।

तत्कालीन मुख्य शहर र प्रमुख व्यापारिक केन्द्र एवं ट्रान्जिट प्वाइन्ट (पहाडका लागि) रहेको राजविराजले विकासको गति पक्रिन नसक्नुका अनेक कारण छन् तर ती कारणहरूको खोजी गरी कमि–कमजोरी हटाउने कुरा अझै पनि राजविराजको चिन्तनमा प्रवेश गरिसकेको छैन ।

अहिले आएर प्रादेशिक संरचनामा मुलुक प्रवेश गरिरहँदा समेत त्यसको अवसर छोप्न सकेन राजविराजले । संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार हो राजविराज । तर त्यसको लागि आवश्यक पूर्वाधार पनि बनाउन सकेन राजविराजले ।

राजविराज नगर पुरानो शहर हो । तर पनि यो शहरमा थुप्रै समस्या र कमजोरी छन् । एउटा शहर वास्तवमा शहर हुन हुनुपर्ने आधारभूत संरचना समेत देखिंदैन राजविराजमा । यत्रो पुरानो शहरमा घुमफिर गर्दै गर्दा शहरका मुख्य स्थान र चोकहरूमा शौचालय जानुपर्ने अवस्था आए सार्वजनिक शौचालय भेटिंदैन । ढल निकासको समस्या अझै उस्तै छ ।

राजविराज नगरपालिकामा ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामा पनि नगरक्षेत्रका सडक तथा बजारहरू जलमग्न हुने गरेका छन् । नालाहरूको नियमित सरसफाइ नहुँदा नालाहरूमा फोहोर जमी पानीको निकास बन्द भई सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गर्दछ । फोहोर व्यवस्थापन राजविराजको लागि चुनौती नै हो । छाडा पशु कहिल्यै समाधान नहुने समस्या बनेको छ । बालक्रीडा स्थल, मनोरञ्जन स्थल, पार्क, बगैंचा आदि केही भेटिंदैन राजविराजमा ।

एउटा शहरले शहरको आकार ग्रहण गर्न चाहिने आधारभूत संरचनाको निर्माण र भएका संरचनाको व्यवस्थापन गर्न नसक्नु पनि दुर्भाग्य हो । यस्तो पुरानो शहरमा एक हजार जना क्षमताको सभागृह छैन । सानोतिनो समिट (सम्मेलन, कन्फरेन्स) राजविराजमा गर्ने अवस्था नहुनु पनि लज्जाको विषय नै हो । यहाँ भएका एक रंगशाला र कलेज, विद्यालयका मैदानहरूलाई आधुनिकीकरण र व्यवस्थापन गर्न सकिएको छैन । पानी भण्डार गर्ने पोखरीहरू बस्तीमा परिणत भएका छन् । ऐतिहासिक जलाशय सुके, नयाँ जलाशय बन्न छाडे । पार्किङको लागि अझै दृष्टि पुग्न सकेको छैन । सवारी साधनको व्यवस्थापन पनि राजविराजको अर्को चुनौती हो ।

शहरका थुप्रै समस्या अनि चुनौतीका बीच राजविराज शहर लड्खडाउँदै अघि बढ्दै गर्दा ‘राजविराजः क्लिन सिटी ग्रिन सिटी’ को नारा नगरवासीको कानमा पटक–पटक पर्ने गरेको छ । अहिले त झन् ‘स्मार्ट सिटी’ भन्ने नारा पनि जोडिन आएको छ । के हो यो क्लिन सिटी, ग्रिन सिटी ? र अझ स्मार्ट सिटी ? क्लिन सिटी भनेको सफा र स्वच्छ राजविराज भन्ने हो । ग्रिन सिटी भनेको हराभरा राजविराज भन्ने हो । र स्मार्ट सिटी भनेको के हो ? यो एक तरहले सूचनाप्रविधि पलाउँदै गएपछि विकसित हुँदै गएको अवधारणा हो, जसलाई डिजिटल सिटी भनेर बुझ्न खोजे आंशिक सहयोगसम्म हुनेछ ।

संसारमा अहिले सात वटा शहर स्मार्ट सिटी बन्ने धुनमा देखिन्छन्– सिंगापुर, हेलसिन्की (फिनल्याण्ड), ज्यूरिच (स्विट्जरल्याण्ड), ओस्लो (नर्वे), एम्सटर्डम (नेदरल्याण्ड), न्यु योर्क (अमेरिका) र सिओल (दक्षिण कोरिया) । यी स्मार्ट शहरहरूले स्मार्ट सिटीको लागि पहल गर्ने क्रममा आ–आफ्ना शहरलाई अधिक ऊर्जायुक्त बनाउन र कार्बन उत्सर्जन कम गर्न नवीन स्मार्ट प्रविधि अपनाउने कार्यमा निकै प्रगति गरेका छन् ।

संयुक्त राष्ट्रले गरेको भविष्यवाणीका अनुसार सन् २०५० सम्ममा संसारको ७० प्रतिशत आवादी शहर र शहरी क्षेत्रमा रहनेछ, जसको अर्थ यो हो कि उत्सर्जन र ऊर्जाको उपयोग प्रत्येक बित्ने वर्षसँगै बढ्नेछ । त्यस्तै स्मार्ट शहरी यातायात सञ्जाल, वातावरणमैत्री जल निकास सुविधा तथा उच्च ऊर्जा दक्षता भएका भवनहरूको आवश्यकता पहिले भन्दा कतै बढी महत्वपूर्ण भएको हुनेछ ।

शहरहरूमा वस्तु अन्तरजाल (इन्टरनेट अफ थिंग्स) तथा डेटा विनिमयका लागि सेन्सरयुक्त अब्जेक्ट सहित स्मार्ट प्रविधिको प्रयोग गरेर नागरिकको जीवनस्तरमा सुधारका साथै सार्वजनिक सुरक्षामा पनि मद्दत हुनेछ । यिनै आवश्यकताहरूको मध्यनजर स्मार्ट सिटीको अवधारणा, कार्यक्रम र पहल सामुन्ने आएको हो । कुनै पनि शहरले स्मार्ट सिटीमा रूपान्तरित हुन के कति पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा माथि उल्लिखित सेभेन सिटिजको अध्ययन गर्नु आवश्यक हुनेछ । कल्पना सदैव सुखद् हुन सक्छ तर प्रत्येक योजनाका साथ भने सम्भावना र वाधा दुवै जोडिएर रहेका हुन्छन् । त्यसको अध्ययन गर्नु आवश्यक हुन्छ ।

अब ग्रिन सिटीको कुरा गरौं । भनिन्छ– राजविराज बस्नुअघि यो क्षेत्र जंगलको रूपमा रहेको थियो । जंगल फडानी गरी राजविराज बसाइयो । सखडा, हनुमानगढी आदिको इतिहासको अध्ययनबाट पनि के थाहा हुन्छ भने अतीतमा गाउँहरूको बस्ने र उजाडिने क्रम भइरहन्थ्यो । मानिसले जंगल फाडेर गाउँ बसाउने र गाउँबस्ती उजाडिएर गएपछि पुनः जंगलले ढाकिनु तराईको वातावरणीय गुण नै हो । राजविराजको प्रसिद्ध टोल ‘खरसाल’ भन्ने ‘खैरसाल’ अर्थात् ‘खयर र सालको वृक्षहरूको आधिक्य भएको क्षेत्र’ थियो भन्ने कुराले राजविराजको पूर्व अवस्थाको चित्रण गर्दछ ।

राजविराज पूर्व अवस्थामा कुनै जंगल थियो भन्ने कुराको अर्को प्रमाणको रूपमा अझै पनि त्यस समयका वृक्षहरू जीवितै छन् । केही वृक्ष त कचहरी रोड विस्तार गर्दा हालै मात्र काटिएका रहेछन् । यसबाट के बुझिन्छ भने राजविराजको धरती आफैंमा हराभरा रहन चाहने धरती हो । राजविराजको स्वभाव नै हरियालीपन हो । यदि यसमा बाधक कोही छ भने स्वयं नगरवासी र नगरव्यवस्थापकहरू नै बाधक छन् ।

ग्रिन सिटीको नाममा सार्वजनिक वित्तको उपयोग नभएको होइन तर परिणाम के छ ? कुरा नाराको होइन, परिणाममुखी कामको हो । जनसहभागिता विना राजविराज ग्रिन सिटी बन्न सक्दैन । आफ्नो घर अगाडि कर्मचारीले रोपेर गएको बिरुवाको संरक्षणको स्वामित्व घरधनीले नलिई हुँदैन । तर योजनामा हुने भ्रष्टाचारको कारणले योजनाहरूसँग सरोकारवाला जनता जोडिन सक्दैनन् । यहाँ त केही युवाले नगर सरोकारका वेबसाइटहरू पनि बनाएका थिए । तर कसैले पनि मतलब गरेनन् ।

राजविराजका मुख्य सडकहरूमा ठाउँठाउँमा नकाटिएका ठूला वृक्षहरू थिए । रोपिएका साना वृक्षहरू पनि थिए । मुख्य सडक वसन्त ऋतुमा गुलमोहरले लालैलाल देखिन्थ्यो । नगर शोभायमान थियो । तर नगरको त्यो शोभा हराउँदै गयो । आज राजविराज उजाडको स्थितिमा आफूलाई पाउँछ । आज फेरि नगरलाई हराभरा बनाउनु छ भने जनपरिचालनकै माध्यमले बनाउन सकिन्छ ।

क्लिन सिटीको कथा त अचाक्ली लाग्दो छ । नगर सफाइ भनेको एक तरहले ६० बिघामा नै सीमित छ । सफाइकर्मी वा सफाइ संयन्त्रमाथि कार्मिक नियन्त्रण वडा कार्यालयको हुनुपर्छ । नालाहरू स्ल्याबले ढाकिने हो भने सुँगुरको बिगबिगी घट्न सक्छ । अरू उपाय धरान, विराटनगर, काठमाडौंबाट सिक्नुपर्छ । धराने कालो बङगुर, सुँगुर नेपालमै प्रसिद्ध छ तर धरानका सडक र चोकमा एउटै पनि सुँगुर, बङगुर नजर आउँदैन । सुँगुर, बङ्गुरपालन सोख, परम्परा र सांस्कृतिक चिह्न मात्र होइन । यो व्यवसाय पनि हो ।

यस व्यवसायको व्यवस्थापनमा पनि सार्वजनिक वित्तको दृष्टि पुग्नुपर्छ । सुँगुर, बङ्गुरपालकहरू संगठित भएमा उनीहरूलाई र अरू अन्य सबै पक्षलाई लाभ हुनेछ । छाडा गाईवस्तु नियन्त्रणको व्यावहारिक उपाय के के हुन सक्छन् ? एउटा उपाय त काञ्जी हाउस आफैंमा हो । सब्जी मण्डीले आफ्नो उत्सर्जन काञ्जी हाउससम्म पु¥याइदिने हो भने गाईवस्तुलाई बाबाजीहरूले जस्तो पसल पसल चहार्नै पर्दैन । र अर्कोतिर फोहोरको मात्रा पनि न्यून हुन्छ । डम्पिङलाई पनि भार हलुको हुनेछ ।

सार्वजनिक निकायको लोकतन्त्रीकरण राज्यको शक्ति–पृथकीकरणको सिद्धान्तसँग र ‘चेक एण्ड ब्यालेन्स’ को नीतिसँग सम्बन्धित छ । यसलाई व्यवहारमा कसरी हेर्न सकिन्छ भने कुनै पनि निकाय जनताबीच कति लोकप्रियता हासिल गर्न सक्यो भन्नेबाट देखिन्छ ? अर्को कुरा अमूक निकाय सूचना सम्प्रेषण वा सूचनाको निर्गत कार्यमा कतिसम्म उदार छ भन्नेबाट देखिनेछ । सूचनाको हकको लडाइँले वास्तवमा लोकतान्त्रिक विन्दुमा पहुँचको कमीलाई दर्शाउँछ । जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायहरूमा पनि जनलोकपालको डेस्क बनाउनुपर्छ । यसले राज्यप्रतिको विश्वास दरिलो पार्न मद्दत गर्दछ ।

नागरिक उत्थानका अनेक पक्ष छन् । जस्तै भनौं– आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि । कमोवेश हरेक क्षेत्रमा काम भइरहेको देखिन्छ । आर्थिक तथा वित्तीय मध्यस्थता गरीब तथा विपन्न वर्गमा लघुवित्त, सहकारी आदिका माध्यमले पहुँच बनाइरहेको छ । यसको सकारात्मक परिणाम देरसबेर देखिने नै छ । नागरिक उत्थानका सार्वजनिक प्रयत्न आफ्नो ठाउँमा क्रमशः बढ्दै गएको छ । तर कताकता सार्वजनिक जिम्मेवारीप्रति व्यक्तिको दायित्वबोध हुनु आवश्यक छ । तीन–चार तल्ले घर बनाउनेले घर बनाउँदा बिग्रेभत्केको आफ्नै घरअगाडिको बाटो मर्मतप्रतिको दायित्व लिन सक्यो भने पनि नागरिक उत्थान केही हदसम्म भएको मान्नुपर्दछ ।

वास्तवमा राजविराजलाई सुन्दर, सफा र हरित नगर बनाउने हो भने सार्वजनिक निकाय र आम जनता आपसमा साझेदार बन्नुपर्दछ । राजविराजलाई माता राजदेवीसँग जोडेर अगाडि बढ्नुपर्दछ र गुलाबी शहरको रूपमा विकसित गर्नुपर्दछ । यी कुराहरू राजविराजका अतीत, वर्तमान र भविष्य हुन् । राजविराज, राजदेवी र रोज सिटी अर्थात् गुलाबी शहरको सुर मिलाउनुपर्दछ ।

(लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment