+
+

संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १७:५९

२२ कात्तिक, रुपन्देही । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् ।

पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’, यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन् ।’

७ वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै यादवले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित भएको बताए। ‘५–७ जना मन्त्री बनेर झण्डावाला गाडी चढेर मात्र हुँदैन’, यादवले भने, ‘प्रदेश स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्छ।’

जनसंख्याको आधारमा हरेक वर्ग र समुदायको राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अध्यक्ष यादवले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र गलत भएकाले पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने बताए ।

अध्यक्ष यादवले अहिलेको संसदीय प्रणाली पनि असफलतातिर गएको पनि दावी गरे । ‘सांसद खरिद बिक्री भइरहेको छ, यो दोष नेताको भन्दा पनि प्रणालीको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?