+
+

दशैं-तिहारमा सर्वाधिक हिट भएका तीन गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १२:५४

दशैं-तिहारलाई लक्षित गरेर यस वर्ष थुप्रै गीत युट्युबमा सार्वजनिक भए । त्यसबाहेक अन्य गीत पनि युट्युबमा आए । तीमध्ये तीनवटा गीत दशैं-तिहारको समयमा सर्वाधिक चर्चामा रहे । ती गीतले युट्युबमा राम्रो भ्युज पाए भने टिकटकमा पनि उत्तिकै छाए । धेरै दर्शक-स्रोताको मुखमा ती गीतहरु झुण्डिए । यद्यपि ती गीत दशैं-तिहार गीत भने होइनन् । ‘रमरम मरौटी’, ‘जाम भो माइली’ र ‘कालो केशमा रेलिमई’ यस वर्ष दशैं-तिहारको समयमा सर्वाधिक रुचाइए ।

रमरम मरौटी

‘रमरम मरौटी’ दशैंको दुई साताअघि असोज १५ गते सार्वजनिक भएको गीत हो । खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वर रहेको गीतलाई नेत्र अर्यालले रचेका हुन् । गीतमा खेम सेञ्चुरीकै संगीत छ । गीत युट्युबमा सार्वजनिक भएसँगै विस्तारै टिकटकमा पनि लोकप्रिय बन्दै गयो । यो गीतमा धेरैले टिकटक बनाए । दशैंदेखि तिहारसम्म यो गीत निकै चर्चामा रह्यो । बिर्सिएको ‘मरौटी’लाई समेत धेरैले सम्झिए । सार्वजनिक भएको एक महिना बढी पुग्दा मंगलबार यो गीतले युट्युबमा १ करोड भ्युज पाएको छ । रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेत्री पूजा शर्मा र मोडल ओबी रायमाझीको अभिनय छ । सौरभ लामाको छायाँकन रहेको ‘रमरम मरौटी’को भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

जाम भो माइली

दशैं-तिहारको समयमा सर्वाधिक चलेको अर्को गीत हो, जाम भो माइली । यो गीत टिकटकमा निकै लोकप्रिय रह्यो । टिकटकमा गीत सुनेर युट्युबमा भिडियो खोज्नेहरुको संख्या क्रमशः बढ्दै गयो । अहिले पनि टिकटकमा यो गीत निकै चर्चित छ ।

दशैंको एक साताअघि सार्वजनिक भएको यो गीतमा प्रकाश दूतराज र शान्तिश्री परियारको स्वर छ । प्रकाश दूतराजकै शब्द, संगीत रहेको गीतको संगीत संयोजक कृष्ण विके हुन् । मौसम हिमालीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा प्रकाश दूतराज, रोशनी कार्की र निक शर्माले अभिनय गरेका छन् । गीत सार्वजनिक भएको एक महिनामा यसले युट्युबमा झण्डै ६० लाख भ्युज पाएको छ । अनिल के. मानन्धरको छायाँकन रहेको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

कालो केशमा रेलिमई

‘कालो केशमा रेलिमई’ दशैं-तिहारको समयमा चर्चामा आएको अर्को गीत हो । दिनेश ढकालको शब्द, संगीत र स्वरमा रहेको यो गीत विजयादशमीको चार दिन अगाडि युट्युबमा सार्वजनिक भएको हो । यो गीत आएको केही दिन खासै चर्चा नरहेपनि टिकटक बनाउनेहरु बढेपछि गीतले एकाएक चर्चा बटुल्दै गयो । टिकटकमा सुनेर युट्युबमा खोज्नेहरु बढ्दै गए । विस्तारै गीतले युट्युबमा पनि राम्रो भ्युज पाउँदै गयो ।

मानव सुवेदीको निर्देशनमा बनेको यस गीतको भिडियोमा अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा, सुकृति उप्रेती र गायक दिनेश स्वयं देखिएका छन् । सार्वजनिक भएको एक महिना नपुग्दै यो गीतको भिडियोले ४४ लाख बढी भ्युज पाएको छ । भिडियोमा मानव सुवेदीकै छायाँकन एवं सम्पादन हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?