+
+

डा. अनुप बास्तोलाको सुझाव : कोरोना कम भयो भनेर बालबच्चालाई निष्फिक्री नछाडौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १४:४२
फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । कात्तिक १५ गते नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य कुमार थापाकी छोरी कृति थापाको कोरोना संक्रमणबाट ज्यान गयो । नेपाल राष्ट्र बैंकमा कार्यरत कृति आठ महिनाकी गर्भवती थिइन् । खोकी बढ्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचारको लागि लगिएको उनको अस्पतालमा नै ज्यान गएको थियो ।

त्यस्तै, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कात्तिक २ गते कोरोना संक्रमणबाट निधन भयो । लक्षण देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना महामारी कम भएसँगै बजारमा भीडभाड बढेको छ । चाडपर्वको मौसममा बजार गर्न जानेहरुको कोरोना बिर्साउने भीड देखिन्छ । विद्यालय, सिनेमा घर आदि सबै खुलिसकेका छन् । के कोरोनाको जोखिम सकिएको हो त ? चिकित्सकहरु बजारमा जसरी निष्फिक्री स्वास्थ्य मापदण्ड भुलेर हिँडडुल गर्ने गरिएको छ । त्यसरी हिँड्न सक्ने अवस्था नरहेको बताउँछन् ।

सरकारको तथ्यांक अनुसार आइतबारदेखि सोमबार दिउँसोसम्मको २४ घण्टामा ३९० जना कोरोना संक्रमित थपिएका थिए । नेपालको एक मात्र सरुवा रोग अस्पतालको रुपमा रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आपतकालीन सेवामा १० जना बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । कोरोना महामारीको समयमा इमर्जेन्सी बाहिर नै २०/२५ जनासम्म राख्ने गरिएको अस्पतालमा अहिले कोरोना संक्रमितको संख्या घटेको अस्पतालले जनाएको छ ।

धेरैमा दोस्रो डोज खोप लगाइसकेको र सरकारी तथ्यांकले दुईतिहाइ बढीमा इम्युनिटी पावरको विकास भइसकेकाले विद्यालय, सिनेमा हल आदि स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न समस्या नरहेको टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् । बिरामीको संख्या नबढे पनि भौतिक दूरी कायम गर्ने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्ने काममा हेलचेक्रयाइँ नगर्न डा. बास्तोला सुुझाव दिन्छन् ।

कोरोना संक्रमितको तथ्यांक डरलाग्दो स्थितिमा नदेखिको र धेरै नेपालीले खोप लगाइसकेको भएपनि कोरोनाको जोखिम पूर्णतः बिर्सिन सक्ने अवस्था भने छैन । खोपले कति समयसम्म काम गर्छ भन्ने कुरा आफैंमा अध्ययन भइरहेको छ । बास्तोला भन्छन्, ‘संख्या थोरै भएपनि कोरोनाविरुद्धको खोप लगाइसकेकाहरुमा पनि गम्भीर समस्या देखिएका उदाहरण छन् । त्यसैले खोप लगाएका र नलगाएका दुवैले मास्क र भौतिक दूरी अनिवार्य रुपमा कायम गर्नुपर्छ ।’

त्यसैले अझै पनि निष्फिक्री भएर हिँड्न सक्ने अवस्था नरहेको डा. बास्तोला बताउँछन् । ‘कोभिड खोप लगाएकाहरु पनि जोखिममा पर्छन् भनेर त अध्ययन अनुसन्धानहरुले देखाइसकेको छ । हामीले पनि त्यो देखिसकेका छौं । त्यही भएर सुरक्षाको मापदण्ड भने पालना गर्नैपर्छ,’ डा. बास्तोला भन्छन् ।

अझै बच्चालाई निष्फिक्री छाड्नुहुँदैन

अहिले विद्यालय, सिनेमा हल लगायत धेरै भीडभाड हुने स्थलहरु खुल्न थालिसकेका छन् । जति धेरै भीड हुन्छ, उति नै स्वास्थ्य मापदण्ड उल्लङ्घन हुन्छ । विशेषगरी सानो उमेरका बालबालिकाहरु धेरै चञ्चले स्वभावको हुने भएकाले स्वास्थ्य मापदण्ड पूरा गर्न कठिन हुन्छ । तर, मापदण्ड पुर्‍याएर सुरक्षित हिसाबले विद्यालय र सिनेमा हल खोल्न सक्ने अवस्था छ । त्यसको लागि बिरामी भएका विद्यार्थी र शिक्षकलाई पनि विद्यालय आउन नदिने जस्ता मापदण्ड बनाउन उचित हुने बास्तोला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?