२३ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
उपाध्यक्षका अशोक शेरचन पनि आकांक्षी भएपनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन् । संघको नयाँ कार्यसमिति आज मंगलबार नै घोषणा हुँदैछ ।
संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । उपाध्याय यसअघि संघको उपाध्यक्ष थिए ।
संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो ।
सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।
अब संघको सदस्यका रूपमा लक्ष्मी बैंकका सीईओ अजय बिक्रम शाह, मेघा बैंककी अनुपमा खुञ्जेली, नेपाल एसबीआईका लिपकुमार डे, नेपाल बैंकका कृष्ण अधिकारी, एनआईसी एसियाका रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र सनराइज बैंकका सुमन शर्माले काम गर्नेछन्। सल्लाहकारमा अनिल केशरी शाह र ज्ञानेन्द्र ढुंगाना चयन भएका छन् ।
प्रतिक्रिया 4