+
+

गण्डकी प्रदेश: मन्त्रालयमा न मन्त्री न कर्मचारी !

मन्त्री कार्यक्रममा, कर्मचारी पर्यटन बिदामा

विकास रोकामगर विकास रोकामगर
२०७८ कात्तिक २४ गते २०:१५

२४ कात्तिक, पोखरा । नयाँ प्रदेश सरकार गठनको शुरुको डेढ महिना गण्डकीका अधिकांश मन्त्रालय मन्त्रीविहीन रहे । गठबन्धनबाट बनेको सरकारमा भागबन्डा किचलोकै कारण लामो समयसम्म मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेन ।

मन्त्रिमण्डलले पूर्णता नपाउँदा सरकार गठन भएकै दिन नियुक्त भएका मन्त्री समेत विना विभागीय भएकै कारण जिम्मेवारविहीन रहे । उनीहरु कार्यकर्ता भेटघाट र बधाइ थाप्नमै व्यस्त रहे । मन्त्रालय मन्त्रीविहीन भएपछि कर्मचारी पनि फुर्सदिला बनेका थिए । लामो समयसम्म मन्त्रीविहीन हुनुपरेपछि मन्त्रालयका कर्मचारीले भनेका थिए, ‘मन्त्री छैनन्, रिल्याक्स मूडमा छौं ।’

तर, अहिले पनि मन्त्रालयमा न मन्त्री देखिन्छन् न कर्मचारी । मंगलबार गण्डकीका विभिन्न मन्त्रालय पुग्दा कृषिमन्त्री चन्द्रबहादुर बुढाबाहेक अन्य कुनै पनि मन्त्रालयका मन्त्री कार्यकक्षमा देखिएनन् । मन्त्री सहित अधिकांश कर्मचारी समेत अनुपस्थित भएका कारण अधिकांश मन्त्रालय सुनसान देखिन्थ्यो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सहित तीन वटा मन्त्रालय छ । विना विभागीय मन्त्री डोबाटे विश्वकर्मालाई समेत मन्त्रिपरिषद् कार्यालयमै कार्यकक्ष बनाइएको छ । त्यहाँ भएका मुख्यमन्त्री, अर्थ मन्त्रालय र कानून मन्त्रालयमा कुनै पनि मन्त्री थिएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको कार्यकक्ष बाहिर प्रदेश सांसद सहित केही सेवाग्राही पर्खाइमा थिए । ‘कोही पनि मन्त्रीज्यू हुनुहुँदो रहेनछ । मुख्यमन्त्रीज्यू पनि बाहिर जानु भा’छ रे ! कतिबेला आउनुहुन्छ, पर्खिंदैछौं’, एक सांसदले भनिन् ।

अर्थमन्त्री रामजी बरालका स्वकीय सचिव दीननाथ बरालले मन्त्री काम विशेषले बाहिर निस्किएको बताए । ‘मन्त्रीहरुमा सबैभन्दा बेलैमा कार्यालय आउने र ढिलोमात्रै घर फर्किने एकमात्र मन्त्री उहाँ हो’ बरालले अनलाइनखबरसँग भने, ‘आज अलिकति काम पर्‍यो । एउटा कार्यक्रममा जानु भा’छ ।’

अर्थ मन्त्रालयसँगै जोडिएको कानून मन्त्रालयमा समेत मन्त्री विन्दुकुमार थापा अनुपस्थित थिए । मन्त्रालयमै भेटिएका उनका स्वकीय सचिव सन्तोष बस्यालले मन्त्री काम विशेषले बाहिरिएको जानकारी दिए । ‘चाडपर्वको बेला धेरै कार्यक्रम हुने रै’छ । नगई नहुने, भर्खर मात्रै निस्किनुभएको हो’, उनले भने ।

गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक मन्त्री कुमार खड्का समेत आफ्नो मन्त्रालयमा उपस्थित थिएनन् । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको सडक तथा भवन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राम पराजुलीले चाडपर्व नसकिएकाले कर्मचारी आउनै बाँकी रहेको सुनाए । ‘तिहार सकियो, साथीहरु आउने क्रममा हुनुहुन्छ’, उनले भने ।

प्रदेशको १२ औं मन्त्री बनेका बिना विभागीय मन्त्री डोबाटे विश्वकर्मा समेत कार्यकक्षमा उपस्थित थिएनन् । मुख्यमन्त्रीको कार्यकक्ष नजिकै कार्यकक्ष रहेको विश्वकर्माको सचिवालयमा समेत कुनै कर्मचारी उपस्थित थिएनन् ।

एक महिनाअघि विना विभागीयमन्त्रीमा सपथ लिएका मन्त्री विश्वकर्मा जिम्मेवारी नपाउँदा आफूले के गर्ने भन्ने अलमलमै रहेको बताउँदै आएका छन् ।

कार्यवाहकको भरमा खेलकुद मन्त्रालय

प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को मन्त्रालयसमेत खाली थियो । मन्त्री मनाङे लामो समयदेखि मन्त्रालयमा उपस्थित नभएको त्यहाँका कर्मचारीले बताए । उनी केही समयअघि काठमाडौं थिए । काठमाडौंबाट गृह जिल्ला पुगेको उनका स्वकीय सचिव रोनित गुरुङले जानकारी दिए ।

मन्त्री मनाङले स्वकीय सचिव गुरुङलाई नियमविपरीत कार्यबाहकको जिम्मा दिएका छन् । मन्त्रीको अनुपस्थितिमा गुरुङले नै कामकारबाही अघि बढाउँदै आएका छन् । ‘अहिले दाइ (मन्त्री मनाङे) फु गाउँ पुग्नु भा’छ । पर्सिसम्म आइपुग्नुहुन्छ कि !’ उनले भने ।

मन्त्री मनाङेका स्वकीय सचिव गुरुङले ठाउँ अभावका कारण कर्मचारी मन्त्रालय आउन मनै नगरेको सुनाए । उनले साँघुरो भवनमा कर्मचारी व्यवस्थापन गर्न सकस परिरहेको सुनाए । खेलकुद मन्त्रालयसँगै जोडिएको सामाजिक विकास मन्त्रालयसमेत सुनसान थियो । सामाजिक विकास मन्त्रालयमा मन्त्री मेखलाल श्रेष्ठ ‘भित्र’ लेखिएको भए पनि उनी बाहिर थिए । उनी लेकसाइडमा भएको एक कार्यक्रममा सहभागी हुन गएका थिए ।

कर्मचारी पर्यटन बिदामा छन् : प्रमुख सचिव

गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी चाडपर्व नसकिएको र अधिकांश कर्मचारी पर्यटन बिदामा भएकाले मन्त्रालयमा कर्मचारी संख्या कम भएको स्वीकारे । उनले दसैंतिहार पछिको समयमा कामको चाप कम पर्ने भएकाले कर्मचारीले बढी बिदा लिएर पर्यटन बिदामा जाने सुनाए ।

‘तिहार पछि, छठको केही बिदामा हुन्छ । अधिकांश कर्मचारी पर्यटन बिदामा गएका छन् । यो कम काम हुने अवधि हुने हो,’ डा रेग्मीले भने, ‘अरु कर्मचारी त छन् । ती कर्मचारीबाटै अहिले काम अघि बढिरहेको छ ।’

प्रमुख सचिव रेग्मीसमेत कार्यालयमा उपस्थित थिएनन् । उनी काम विशेषले काठमाडौं रहेको र केही दिनमात्रै फर्किने जानकारी दिए । रेग्मीको अनुपस्थितिमा रामप्रसाद आचार्यलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?