+
+

छठ पर्वले आपसी एकता सुदृढ बनाउने विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ७:३४

२४ कात्तिक, काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् ।

यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उनले छठ पर्वलाई सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व भनेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छठको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि रहे पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् ।

कोरोना त्रास कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन उनले अपिल पनि गरेका छन् ।

विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरेपछि कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?