
२४ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का विदेशमन्त्रीले सिरियाको भ्रमण गरेका छन् ।
युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायदले मंगलबार सिरियाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा जायद र सिरियाली राष्ट्रपति बशर अल असदबीच भेटवार्ता भएको टिआरटी वर्डले जनाएको छ ।
सिरियाली द्धन्द्ध सुरु भएको १ दशकपछि युएईका विदेशमन्त्रीले गरेको भ्रमणलाई चासोका साथ हेरिएको छ । युएईले द्धन्द्धमा विपक्षीको समर्थन गर्दै आएको छ । केही अरब मुलुकले समेत असदसँगको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका बेला युएईका विदेशमन्त्री सिरिया पुगेका हुन् ।
जायदले राष्ट्रपति असदसँगको भेटघाटमा सिरियाको सुरक्षा, स्थिरता र एकता सुनिश्चित गर्न युएई इच्छुक रहेको बताएका थिए । त्यस्तै, उनले सिरियाली संकट समाधानका लागि भइरहेका सबै प्रयासको पक्षमा आफूहरू रहेको बताएका थिए ।
सन् २०११ मा सुरु भएको गृहयुद्धपछि सिरियालाई अरब लिगबाट हटाइएको थियो भने छिमेकीले बहिष्कार गरेका थिए ।
प्रतिक्रिया 4